वैदेशिक रोजगारको फरक दृश्य : अदक्षभन्दा धेरै दक्ष जनशक्तिले छोडे देश   

काठमाडौँ । बर्सेनि नेपालका धेरै युवाहरू हजारौँ सपनाको पोको बोकेर रोजगारका लागि विदेशी मुलुकमा पस्ने गरेका छन् । युवाहरू रहरले होस् वा बाध्यताले विदेशमा आफ्ना सिप, श्रम र पसिना बेच्न बाध्य छन् । उनीहरू नेपालमा भविष्य देख्दैनन् । ती नै भविष्यको खोजीमा हिँडेकाहरू कोही अमेरिका पुग्छन्, कोही जापान । नभए कतार र मलेसिया त पुग्छन् नै पुग्छन् । आजभोलि पढेलेखेका युवा होस् या नपढेका, सबैको गन्तव्य विदेश नै हो ।

एक जमाना थियो, वैदेशिक रोजगारमा गएका चेलीबेटीहरू बेचिन्थे । मजदुरहरू पारिश्रमिक नपाएर विदेशमै अलपत्र पर्थे । कतिलाई त चोरी, ठगी र ज्यानमाराको आरोपमा जेल र मृत्युदण्ड दिइन्थ्यो । कोही सम्पर्कविहीन, बेपत्ता भएर हराउँथे पनि । त्यसबेला मानिसहरूमा विदेशमा बोलिने भाषा, सिप, संस्कार र रहनसहनको चेत थिएन । त्यसैकारण उनीहरू विभिन्न समस्याको भुमरीमा पर्थे ।

तर अहिले समय फेरिएको छ । वैदेशिक रोजगार विभाग अहिले धेरै हदसम्म व्यवस्थित र नीतिबद्ध भइसकेको छ । पहिले सिप, भाषा नसिकी विदेश जानेहरूको सङ्ख्या धेरै हुन्थे भने अहिले वैदेशिक रोजगारका लागि सिप र भाषा सिक्नु अपरिहार्य भएको छ । वैदेशिक रोजगार विभाग आफैले पनि बेला बखतमा विभिन्न तालिम र अभिमुखीकरण कार्यक्रमहरू सञ्चालन गर्ने गरेको छ ।

र, वैदेशिक रोजगार विभागका अनुसार अहिले श्रम स्वीकृति पाएकाहरूमध्ये   अदक्ष जनशक्ति भन्दा दक्ष जनशक्तिहरू धेरै रहेका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको वार्षिक श्रम स्वीकृति विवरण २०७८/०७९ मा हेर्दा अदक्ष जनशक्ति भन्दा दक्ष जनशक्ति धेरै उक्त कुरा उल्लेख गरिएको छ ।

विगतका वर्षहरूमा वैदेशिक रोजगारका लागि श्रम स्वीकृति पाएका धेरै मानिसहरू दक्ष जनशक्ति (सिप भएका) कम र अदक्ष (सिप नभएका) जनशक्तिहरू धेरै हुने गर्थे । तर यस वर्षभने वैदेशिक रोजगार विभागको वार्षिक श्रम स्वीकृति विवरण २०७८/०७९ मा अदक्ष भन्दा दक्ष जनशक्तिको सङ्ख्या धेरै देखिएको छ ।

पहिलो कुरा त वैदेशिक रोजगारमा जाने व्यक्तिहरूको सङ्ख्यामै वृद्धि भएको छ । वैदेशिक रोजगारको विवरण अनुसार सन् २०२१ मा भन्दा २०२२ मा झन्डै ५ लाख बढी जनसङ्ख्या बिदेसिएको देखिन्छ । २०२१ जुलाई १६ देखि २०२२ जुलाई १६ सम्ममा कुल ६ लाख ३० हजार भन्दा बढी व्यक्तिहरू बिदेसिएका छन् ।

गत वर्षको तथ्याङ्क हेर्दा दक्ष जनशक्ति ७० हजार ४२६ जना थिए भने अदक्ष जनशक्ति ८० हजार ३८२ जना थिए । यसरी हेर्दा दक्षभन्दा करिब १० हजार अदक्ष जनशक्ति बिदेसिएको थियो । सन् २०२२ मा भने यो क्रमले निरन्तरता पाएको छैन । वैदेशिक रोजगार विभागका अनुसार यस वर्ष अदक्षतर्फ २ लाख ८३ हजार  ६८ जना र दक्षतर्फ २ लाख ९१ हजार ८८९ जना जनशक्तिले श्रम स्वीकृति पाएका छन् । दक्ष जनशक्ति झन्डै ९ हजार सङ्ख्याले बढी देखिन्छ ।

विभागले सिपका आधारमा श्रम स्वीकृति पाएका जनशक्तिहरूलाई पाँच तहमा विभाजन गरेको छ । जसमध्ये उच्च कौशलका भएका जनशक्ति सबैभन्दा कम र दक्ष जनशक्ति सबैभन्दा बढी रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *