‘भोट’ जाने बाटोलाई पदमार्ग बनाउने मादीको निर्णय

पोखरा ।  तत्कालीन समयमा नुन बोक्न प्रयोग भएको बाटोलाई पर्यटकीय पदमार्गको रूपमा विकास गर्ने कास्कीको मादी गाउँपालिकाले निर्णय गरेको छ । उबेला कास्कीका मान्छेहरू दुधपोखरी हुँदै मनाङ निस्किएर नुन बोक्न भोट तर्फ जान्थे । सोही बाटोलाई अब भर्जिन ट्रेलको रूपमा विकास गर्न लागिएको अध्यक्ष देवीजंग गुरुङले जानकारी दिए ।

कपुचेमा बसेको १० औँ कार्यपालिका बैठकले सिक्लेस, ताङतिङ, हुगुबाट कपुचे हुँदै कोरी उक्लेर मनाङ जोड्ने बाटोलाई पर्यटकीय पदमार्ग बनाउने निर्णय गरेको हो । यो बाटो मनाङ निस्किने सबैभन्दा छोटो मार्गको रूपमा स्थापित छ । तर पछिल्लो समय सडक सञ्जाल विस्तार भएपछि यो बाटो प्रयोगमा आएन ।

यही बाटोमा पर्छ, ठूलो लेक पनि । यसलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न आवश्यक सबै काम गरिने गुरुङ बताउँछन् । ‘यो हाम्रो इतिहास हो । अहिले सबैजसो पर्यटकीय मार्गहरू सडकले खायो । हामी भर्जिन ट्रेकको रूपमा यो रुटलाई विकास गर्न लागि परेका छौँ,’ उनले भने, ‘हामीले पालिकाको समृद्धि पर्यटनबाटै देखेका छौँ । त्यसका लागि सबै प्रयास गर्छौँ ।’

उक्त ट्रेलको डीपीआरका लागि आवश्यक बजेट दिने निर्णय दिने निर्णय कार्यपालिकाले गरेको छ । यही वर्षभित्र डीपीआर बनाइसक्ने उनको भनाइ छ । यस्तै, नेपालकै सबैभन्दा होचो स्थानमा रहेको हिमताल कपुचे ताल संरक्षणका लागि प्रदेश सरकार र संघलाई सिफारिस गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *