नारायणी नदी किनारमा तस्करले मारे दुईवटा गैँडा


चितवन । चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नारायणी नदी किनारमा तस्करले दुई वटा गैँडा मारेका छन् ।
पूर्वी नवलपरासीको मध्य विन्दु नगरपालिका वडा नम्बर- २ स्थित नारायणी नदी किनारमा मृत अवस्थामा दुई गैँडा फेला परेका हुन् ।
एउटा अन्दाजी १४ वर्षको वयस्क पोथी गैँडा र सोही गैँडाको चार वर्षको केटोलाई तस्करहरूले मारेका निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले बताए ।
तिवारीका अनुसार पोथी गैँडाको खाग काटिएको अवस्थामा फेला परेको छ, त्यसैले यो गैँडा तस्करले नै मारेको हुन सक्छ । गैँडा मृत्युबारे अनुसन्धान भइरहेको उनले बताए ।
स्थानीयले गैँडा मृत अवस्थामा देखेपछि निकुञ्ज र सेनालाई खबर गरेका थिए ।
चालु आर्थिक वर्षमा निकुञ्जमा चोरीशिकारीबाट गैँडा मारिएको घटना यो पहिलो हो ।
हाल निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य भने विदेश भ्रमणमा छन् ।
यस वर्ष यी सहित १० गैँडा मरेका छन् । ९ वटा गैँडा भने अन्य प्राकृतिक कारणले मरेको निकुञ्जको दाबी छ ।
