मेस्सी र रोनाल्डोको खेल हेर्न साउदी फ्यानले २६ लाख डलरमा टिकट किने

काठमाडाैँ । स्टार फरवार्डद्वय क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सी विहीबार हुने मैत्रीपूर्ण खेलमा आमनेसामने हुँदैछन् । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनले साउदी अल स्टार ११ को सामना गर्दा यी दुई २ वर्षपछि एक अर्कासँग भिड्न लागेका हुन् ।

पछिल्लो पटक मेस्सी र रोनाल्डोको भेट सन् २०२० डिसेम्बरमा भएको थियो । च्याम्पियन्स लिगमा बार्सिलोना र युभेन्ट्सबाट खेलेपछि दुवैले क्लब परिवर्तन गरेका छन् । मेस्सी बार्सिलोना छोडेर पिएसजी आइपुगेका छन् । त्यस्तै रोनाल्डो युभेन्टस छोडेर म्यानचेस्टर युनाइटेड हुँदै यसै महिना मात्र अल नासरमा अनुबन्धित भएका थिए । रोनाल्डोले डेब्यु गर्न भने बाँकी छ ।

रोनाल्डोले इंग्ल्यान्डमा रहँदा पाएको दुई खेलको प्रतिबन्ध पूरा नगरेका कारण अल नासरमा डेब्युका लागि प्रतीक्षा गर्नुपरेको हो । त्यसैले साउदी आएपछि उनले क्लबभन्दा अघि अल स्टारको कप्तानी गर्ने भएका छन् । रोनाल्डोले पिएसजीविरुद्ध खेलमा सुरुवाती रोजाइमा खेल्ने पक्का जस्तै छ । त्यस्तै लिओनेल मेस्सी पनि पिएसजीको टोलीमा खेल्ने सम्भावना छ ।

मेस्सीले विश्वकप जितेपछि जनवरी ४ मा प्रशिक्षण गरिसकेका छन् । उनले त्यसयता पिएसजीका लागि लगातार खेल्दै आएका छन् । त्यसैले पनि मैत्रीपूर्ण खेलमा उनले सुरुव गर्ने देखिन्छ । नेयमार र एमबाप्पे पनि खेलमा सहभागी हुने देखिन्छ । पिएसजी र अल स्टारको खेल आज रियादस्थित किंग फाहद रंगशालामा हुनेछ । खेल नेपाली समयअनुसार रातको १०:४५ बजे सुरु हुनेछ ।

साउदी फ्यानले किने २६ लाख डलरमा टिकट
यस खेलका लागि भिआइपी टिकट लिलाम बढाबढमा बिकी गरिएको छ । लिलाममा साउदी रियल स्टेट व्यापारी मुश्रेफ अल घामडीले मेस्सी र रोनाल्डोबीच हुने यस खेलको एक टिक २.६ मिलियन डलरमा किनेका छन् ।

अब उनले भिआइपी टिकट किनेसँगै विशेष ठाउबाट खेल हेर्न दिने, खेलाडीसँग भेट गर्न, र खेलाडीसँग फोटो खिचाउन पाउने लगायतका सुबिधा पाउने भएको साउदी जनरल इन्टरटेनमेन्ट अथरिटीले जनाएको छ । साउदीले यो रकम एहसान नामक च्यारिटीमा जाने समेत बताएको छ ।

यस खेलको टिकट खुलेको एक घण्टामै २० लाख भन्दा बढी अनलाइन टिकटको अनुरोध समेत आएको आयोजकले जनाएका छन् । यता पिएसजीले यस मैत्रीपूर्ण खेलबाट १० मिलियन युरो कमाई गर्ने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *