पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टमा स्कुटर पार्क गरेको पनि १८० रुपैयाँ !

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अहिलेसम्म अन्तर्राष्ट्रिय उडान सुरु भएको छैन । पुरानो एयरपोर्टमा हुँदै आएको आन्तरिक उडान अहिले नयाँ एयरपोर्टबाट हुन थालेको छ । पोखरेलीहरू अन्तर्राष्ट्रिय उडान नहुने हो कि भन्नेमा चिन्तित छन् । तर नागरिक उड्डयन प्राधिकरणले प्रक्रिया मिलाइरहेको भन्दै छिट्टै अन्तर्राष्ट्रिय उडान हुने बताएको छ ।

यही बेला एयरपोर्टको अर्को समाचार बाहिरिएको छ । एयरपोर्टमा सवारी साधन पार्किङ गर्दा लाग्ने शुल्कलाई लिएर अहिले चौतर्फी आलोचना भइरहेको छ । पार्किङको शुल्क असुल्न विमानस्थलले ठेकेदारलाई ठेक्का दिएको छ । ठेकेदारले सवारी साधनको प्रकृति अनुसार पार्किङ शुल्क तोकेको छ ।

स्कुटर, मोटरसाइकल र रिक्सा पार्किङ गर्दा १ दिनमा १ सय ८० रुपैयाँ तिर्नुपर्ने भएको छ । उनीहरूले १ घण्टाको ३० रुपैयाँ शुल्क तिर्नुपर्छ । यस्तै, कार पार्किङ गर्दा दिनमा ३ सय ६० रुपैयाँ शुल्क लाग्छ । जीप र टेम्पोलाई पनि सोही दर छ ।

हल्का सवारी साधन र माइक्रो पार्क गर्दा दिनमा ४ सय ८० तथा घण्टामा ८० रुपैयाँ तिर्नुपर्छ भने गह्रौँ सवारी साधन पार्किङ गरेको १ दिनमै ७ सय २० तिर्नुपर्छ । उनीहरूलाई प्रतिघण्टा १ सय २० शुल्क तोकिएको छ ।

शुल्कबारे सामाजिक सञ्जालमा सबैले विरोध गरिरहेका छन् । पोखराका मेयर धनराज आचार्यले शुल्कबारे आफ्नो ध्यानाकर्षण भइसकेकोले छिटै निचोड निकाल्ने बताए । यस्तै, एयरपोर्टदेखि लेकसाइड सम्म लाग्ने ट्याक्सी भाडा पनि अत्यधिक महँगो भएको भन्दै विरोध भएको छ । एयरपोर्टबाट लेकसाइड पु-याउँदा ट्याक्सीले प्रतिव्यक्ति ८ सय रुपैयाँ भाडा लिने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *