वैशाखयता झण्डै १८ सय आगलागीका घटना : परेर होइन, पढेर चेतौँ  !

काठमाडौँ । घटना १ : बर्दियाको धनुवन नगरपालिका–४ बस्ने एक महिला आगो तापिरहेको अवस्थामा एक्कासी छारे रोगका कारण लडी बलिरहेको आगोमा पर्न गई घाइते भइन् । बर्दिया अस्पतालमै उनको उपचार गरियो ।

घटना २ : नवलपरासी नगरपालिका ९ पिपरहिया बस्ने एक महिला आगो ताप्ने क्रममा अचानक लडेर कपडामा आगो सल्किएर जली घटनास्थलमै मृत्यु भएको थियो ।

घटना ३ धनुषाको मिथिला विहारी नगरपालिका १ बस्ने एक महिला बाख्राको पाठालाई सेक्ने क्रममा सारीमा आगो सल्किई घाइते भएकी थिइन् । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याई उपचार गरिएको थियो । थप उपचारका लागि काठमाडौँ ल्याइएको थियो ।

घटना ४ : कैलाली, जोशिपुर गाउँपालिका ४ झपहीस्थित एक घरमा खाना बनाउने क्रममा सिलिन्डर ग्यास लिक भई आगलागी हुँदा कपडा, धान, चामल जली क्षति भएको थियो । उक्त आगोलाई स्थानीयको सहयोगमा नियन्त्रण लिइएको थियो ।

माथिका घटनाहरूलाई हेर्दा सामान्य सावधानी समेत अपनाउन नसक्दा आगलागीको घटना भएको देखिन्छ । आगो ताप्ने क्रममा, खाना पकाउने क्रममा, बिजुलीको तार सर्ट मानवीय र प्राविधिक त्रुटिकै कारण आगलागी भई ठुलो धन, जनको क्षति भएको देखिन्छ । यद्यपि मानिस सचेतना अपनाइरहेको देखिँदैन । वा सचेतना अपनाए पनि नपुगेको देखिन्छ । त्यसकारण अझै आगलागीको घटना कम हुनुको साटो उल्टो बढ्दो छ ।

सञ्चार माध्यममा आजभोलि दैनिकजसो आगलागीका समाचार आइरहेका छन् । कोरोना संक्रमण जस्तै आगलागीका घटनाहरू दिनानुदिन उकालो लाग्दो छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार २०७९ वैशाख १ गतेदेखि पुस २६ गतेसम्म देशका विभिन्न स्थानमा गरी १ हजार ७ सय ७० वटा आगलागीका घटना भएका छन् ।

उक्त घटनामा देशभर ६५ जनाको मृत्यु भएको छ भने २ सय ३५ जना घाइते भएका छन् । घटनाबाट २ हजार २३ परिवार प्रभावित र १ अर्ब ८३ करोड ५३ लाख ९५ हजार ६ सय ४० रुपैयाँको क्षति भएको छ । अझ यसमा यसमा वन, जङ्गमा लाग्ने गरेको डढेलोलाई समावेश गरिएको छैन । त्यसो हुँदा आगलागीका घटना अझ योभन्दा पनि बढी छ ।

किन बढ्दै छ आगलागी ? जनतालाई सचेत बनाउन कतै सरकार पो चुकिरहेको छ कि ?

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डिजन भट्टराई भन्छन्– ‘आगलागीका घटनाहरूबारे जनतालाई सचेत  बनाउन विभिन्न मिडियामार्फत जनचेतनाको कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।’

उनका अनुसार विपद् व्यवस्थापनले सात वटै प्रदेशमा रहेका विपद् सम्बन्धी पदाधिकारीहरूलाई आगलागीका संवेदनशीलता र क्रियाशीलताको विषयमा अभिमुखीकरण गरिएको छ ।

‘हामी जनतामा पनि गएका छौँ,’ उनले भने, ‘नीति निर्मातालाई पनि सचेत गराएका छौँ ।’

उनले अग्नि नियन्त्रणका लागि सबै स्थानीय तहहरूले दमकल र अन्य अग्नि नियन्त्रक यन्त्रहरू दुरुस्त अवस्थामा राख्ने र नियमित रूपमा घटनाका बारेमा अपडेट गर्ने गरेको बताए । साथै आगलागीलाई रोक्न अन्य योजनाहरू पनि बनिरहेका छन् ।

विभिन्न सञ्चार माध्यम र विपद् व्यवस्थापनले आगलागी हुन नदिन विभिन्न प्रयास गरेका छन् । यस्ता प्रयासका बाबजुद पनि आगलागीका घटना क्रमिक रूपमा बढ्दै जानु हाम्रो लागि दुःखद अवस्था हो । हाम्रो सानो लापरवाहीले ठुलो घटना घट्न सक्छ । भनिन्छ, दुर्घटना बाजा बजाएर आउँदैन । त्यसैले अगाडिदेखि नै सचेतना अपनाउनु नै बुद्धिमानी हो । परेर सिक्नुभन्दा पढेर सिक्नु राम्रो हो । दुर्घटना जहाँ, जहिले र जो–कोहीलाई पनि पर्न सक्छ । हामीमाथि यस्ता दुर्घटना नआओस् भन्नका लागि सचेतना अपनाऔँ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *