हस्तकला उद्योगलाई सातवटै प्रदेशमा विस्तार गर्छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्तकला क्षेत्र नेपालको मौलिक क्षेत्र भएकाले यसलाई सातवटै प्रदेशमा बिस्तार गर्ने बताएका छन् । शुक्रबार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४२ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

‘हस्तकला क्षेत्र नेपालका लागि अर्गानिक क्षेत्र छ,’ उनले भने, ‘यो असीमित सम्भावना भएको क्षेत्र हो’ । ‘यो क्षेत्रलाई राम्रोसँग विकास गर्न सकियो भने एकातिर व्यापार घाटा कम गर्न सकिन्छ । अर्कोतिर नेपाली मौलिकतालाई विश्वभरि प्रचार र बिस्तार गर्न सकिन्छ । यसैले सरकार हस्तकला उद्योगलाई सातवटै प्रदेशमा बिस्तार गर्न प्रतिवद्ध छ ।’

प्रधानमन्त्रीले निजी क्षेत्रसँगको साझेदारीमा हस्तकला उद्योग प्रवर्द्धन गर्नुपर्ने बताए । उनले भने, ‘निजी क्षेत्रलाई विश्वासमा नलिइकन, निजी क्षेत्रसँगको साझेदारीबिना समृद्धिको लक्ष्यमा अपेक्षित सफलता हासिल गर्न सकिँदैन । मैले क्याबिनेटको पहिलो बैठकबाट नै आर्थिक विकास र समृद्धिका लागि केही कदम चालेको छु । सरकारका सचिवहरूलाई दिएको निर्देशन र संसदको सम्वोधनमा पनि त्यो कुरा प्रष्ट राखेको छु।’

‘यसपटक कुनै पनि नराम्रो काम नगर्ने र अरूलाई पनि गर्न नदिनेमा छु। यसपटक जति काम गर्छु, राम्रो मात्र गर्छु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘म तेस्रोपटक प्रधानमन्त्री भएको छु। यो मेरा लागि परीक्षा पनि हो। म परीक्षामा उत्तीर्ण हुन्छु, हुनैपर्छ।’

‘निर्वाचनले हामीलाई मिलेर जाने जनमत दिएको छ,’ उनले भने, ‘कसैलाई पनि अहंकार गर्ने अभिमत जनताले दिएका छैनन् । हामी इमान्दार भएर जनताको पक्षमा राम्रो काम गरेनौँ भने यो परीक्षामा चुक्छौँ ।’

हस्तकला व्यवसाय प्रवर्द्धन गर्न पाठ्यक्रममा नै केही विषय राख्नु राम्रो हुने प्रधानमन्त्रीले बताए । उनले भने, ‘हस्तकला उद्योगमा पुस्तान्तरणको समस्या छ भन्ने मलाई थाहा छ। यसलाई अर्को पुस्तामा हस्तान्तरण गर्ने पहल हामीले लिनुपर्छ । यसकारण पाठ्यक्रममा नै हस्तकला उद्योगको कुरा राख्ने माग सकारात्मक छ, म पहल गर्छु।’

साधारण सभामा महासंघका अध्यक्ष प्रचण्ड शाक्यले हस्तकलाको क्षेत्रलाई प्रवर्द्धन गर्न सक्दा नेपाली मौलिकताका वस्तुहरू निर्यात गर्न सकिनेमा जोड दिँदै हस्तकलाको क्षेत्र सरकारको प्राथमिकतामा पर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *