गृहमन्त्रीको निर्देशनपछि २३ क्रसर बन्द

काठमाडाैँ । गृह मन्त्रालयको निर्देशनपछि सिराहामा अवैध रूपमा सञ्चालनमा रहेको क्रसरहरू बन्द गराइको छ । गत २० पुसमा गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई मापदण्डविपरीतका क्रसर उद्योग बन्द गर्न गरिएको परिपत्रअनुसार जिल्लामा वर्षौदेखि नविकरण तथा मापदण्डविपरित सञ्चालनमा रहेको अवैध क्रसर बन्द गराइएको हो ।

मन्त्रालयको परिपत्रको पालना गर्दै नियमविपरीत अवैध रुपमा सञ्चालनमा रहेका क्रसर बन्द गरिएको प्रमुख जिल्ला अधिकारी लालबावु कवाडीले जानकारी दिए । ‘जिल्लामा रहेका २३ वटा क्रसर उद्योगमध्ये करिब सातवटाको नवीकरणको समय अझै बाँकी रहेकाले सञ्चालन हुँदै आएका थिए,’ उनले भने ।

तर, अब मापदण्डविपरीत सञ्चालन हुँदै आएका र नवीकरणको समय बाँकी रहेका सबै क्रसर उद्योग, नदीजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा उत्खनन्, संकलन र बिक्री वितरणसमेत एक हप्ताका लागि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी कवाडीले बताए ।

कर्जन्हा नगरपालिका-२ स्थित श्री जगदम्वा ढुंगा क्रसिङ उद्योग, वडहारामाल ४ को जानकी क्रसर उद्योग, कमलेश्वरी बालुवा प्रशोधन उद्योग, सांग्रिला गिटी बालुवा प्रशोधन केन्द्र, जयकाली ढुंगा क्रसिङ उद्योग, हिमाल क्रसिङ उद्योग, बस्तीपुर ९, माँ सन्तोषी क्रसिङ उद्योग, आसोपुर वलकवा ८, स्वेच्छा बालुवा प्रशोधन उद्योग, एस एन्ड सन्स कंक्रिट उद्योग, कमलामाई क्रसर उद्योगलगायत मापदण्डविपरीत अवैध रुपमा सञ्चालित २३ वटा क्रसर उद्योग बन्द गराइएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *