सम्भावित जोखिमलाई बेवास्ता गर्दा गयो ‘किशोरी-सुत्केरी’को ज्यान

पाँचथर । उमेर, तौल, रक्तचाप, शारीरिक अवस्थालगायतका कारण आउन सक्ने जोखिमलाई ख्याल नगरी स्थानीय स्वास्थ्य चौकीमै प्रसूति उपचार गराउँदा पाँचथरमा एक ‘किशोरी–सुत्केरी’को ज्यान गएको पाइएको छ ।

प्रसूतिपश्चात् आउन सक्ने सम्भावित जोखिमलाई ख्याल नगर्दा पाँचथरको कुम्मायक गाउँपालिका–२ की १९ वर्षीया सुत्केरी मनिषा आचार्यको ज्यान गएको पाइएको हो । सुत्केरी बेथाले च्यापेपछि परिवारले आचार्यलाई यही पुस २० गते बिहान ९ बजे माङ्जाबुङ स्वास्थ्य चौकीमा प्रसूतिका लागि भर्ना गरेका थिए । स्वास्थ्यकर्मीका अनुसार उनले मध्याह्न ११ः५५ बजे साधारण अवस्थामै २.७ किलोग्राम तौल भएको शिशु जन्माएकी थिइन् ।

प्रसूतिपश्चात् केही समय आचार्यको स्वास्थ्यावस्था सामान्य रहे पनि केही क्षणपछि रक्तस्राव सुरु भएको थियो । रक्तस्राव रोक्ने प्रयास गरेका स्वास्थ्यकर्मीले उनको उमेर, तौल, रक्तचाप र शारीरिक अवस्थालगायत कारण आउन सक्ने जोखिमलाई ध्यान नदिँदा सोही दिन उनको ज्यान गएको हो ।

उक्त स्वास्थ्य चौकीका इञ्चार्ज सचिन्द्र मेहताका अनुसार प्रसूति भएको केही समयपछि आचार्यमा रक्तस्रावको समस्या देखिएको थियो । स्वास्थ्यकर्मीले औषधि दिई रक्तस्राव रोक्ने प्रयास गरेका थिए । यद्यपि आचार्यमा देखिएको रक्तस्रावको समस्या हल भए-नभएको विषयमा स्वास्थ्यकर्मी र मृतकका आफन्तजन तथा स्थानीयवासीका धारणा बाझिएका छन् । दिउँसो ३ बजे जाउलो र दाल खाएपछि सुत्केरी बेहोस भएको स्वास्थ्यकर्मीले बताएका छन् । यता मृतकका आफन्तजन र स्थानीयवासीले भने रक्तस्रावको समस्या निको नभएको र स्वास्थ्यकर्मीले समयमै सुविधा सम्पन्न अस्पताल नपठाउँदा सुत्केरीको ज्यान गएको आरोप लगाएका छन् ।

मृतकका दाजु मदन आचार्य शव परीक्षण रिपोर्टमा आन्तरिक रक्तस्राव र कम रक्तचापका कारण बिरामीको निधन भएको देखिएकाले स्वास्थ्यकर्मीको लापरवाहीका कारण आफ्नी बहिनीको ज्यान गएको बत्ताउँछन् । “स्वास्थ्यकर्मीले आन्तरिक रक्तस्राव, रक्तचाप र बिरामीको अवस्थाबारे ख्याल गर्नुपर्ने थियो”, आचार्यले भने, “हामीलाई ४ः३० बजे मात्रै बिरामीको अवस्था कमजोर भएकाले बाहिर लैजान भनियो ।” प्रसूतिपछि कम रक्तचापका कारण बिरामी उठ्न नसक्ने अवस्थामा पुग्दासमेत स्वास्थ्यकर्मीले सुविधा सम्पन्न अस्पताल पठाउनेतर्फ ध्यान नदिई स्वास्थ्य चौकीमै राखेको परिवारको गुनासो छ ।

स्वास्थ्यकर्मीले बिरामीको अवस्थालाई ख्याल गरेर समयमै बाहिर लैजान भनेका भए समयमै जिल्ला अस्पताल पु¥याउनसक्ने मृतकका दाजु मदनको भनाइ छ । मृतकका परिवारले स्वास्थ्यकर्मीले जोखिमलाई ख्याल नगरेको र बिरामीको अवस्थाबारे लापरवाही गरेकाले छानबिन हुनुपर्ने माग गरेका छन् । “अहिले मेरी बहिनीको मात्रै ज्यान गएको हो । यस्तै गम्भीर लापरवाहीले भोलिका दिनमा अरूको ज्यान नजाओस् भन्ने मात्रै मेरो कुरा हो”, मदन भन्छन् । माङ्जाबुङको चौथी बजारकी रेनुका खड्काका अनुसार अत्यधिक रक्तस्राव भएपछि समयमा जिल्ला अस्पताल नपठाउँदा सुत्केरीको अवस्था कमजोर बनेको थियो । “अलि चाँडो भएको भए बिरामीको ज्यान बच्न सक्थ्यो”, खड्काले भने ।

स्वास्थ्यकर्मी भने बिरामीको अवस्था जटिल बनेपछि आफूहरूले बाहिर लैजानु भनेको बताउँछन् । “४ बजेतिर बिरामी एक्कासि बेहोस भएपछि हामीले बाहिर लैजानु भनेका हौँ । अवस्था छ जटिल भनेका थियौँ”, स्वास्थ्य चौकीका इञ्चार्ज मेहताले भन्नुभयो, “सो भन्दाअघि अवस्था त्यस्तो गम्भीर थिएन ।”

मृतकका जेठाजु नेत्रप्रसाद गड्तौला भने रक्तस्रावपछि तीन घण्टाभन्दा बढी समय स्वास्थ्य चौकीले बाहिर नपठाउँदा बुहारीको ज्यान गएको बत्ताउँछन् । “भनेजस्तो उपचार गर्न नपाई बुहारीको निधन हुँदा मलाई साह्रै दुःख लागेको छ”, गड्तौलाले भने, “बिरामीसँग रहेका आफन्तले तपाईँहरूले सक्नुहुन्न भने बाहिर पठाइदिनुभन्दा समेत दिनभरि राखेर साँझ परेपछि जिल्ला पठाउने काम भयो । तत्कालै गाडी व्यवस्था गरेर जिल्ला लगे पनि बाटैमा बुहारी बितिन् ।” उपचार असम्भव भएपछि मात्रै स्वास्थ्यकर्मीले बिरामीलाई रेफर गरेको र ध्यान नदिएको गुनासो जेठाजु गड्तौलाको छ ।

अर्कोतिर सुत्केरीलाई उपचारका लागि सदरमुकामसम्म लैजान एम्बुलेन्ससमेत नहुँदा ट्याक्सीमा हालेर लगिएको थियो । बेहोस भइसकेकी सुत्केरीलाई ट्याक्सीको सिटमा अड्याएर फिदिमस्थित जिल्ला अस्पताल पु¥याइएको भए पनि उनलाई चिकित्सकले मृत घोषित गरेका थिए ।

घटनापछि कुम्मायक गाउँपालिकाका जनप्रतिनिधिले स्थलगत रूपमा घटनाको विवरणबारे जानकारी लिएका छन् । सुत्केरीको अवस्थाबारे जानकारी गराई राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत हेलिकप्टरका माध्यमबाट सुत्केरीलाई सुविधा सम्पन्न अस्पताल पु¥याउने सम्भावना हुँदाहुँदै जोखिमलाई ख्याल नगरिएको स्थानीयवासीको गुनासो छ । मनिषाले जन्माएका नाबालकको अवस्था भने सामान्य रहेको परिवारजनले जनाएका छन् । मनिषाका श्रीमान् वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेको बुझिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *