परीक्षा प्रणाली सुधारको तयारी, स्तरीकृत परीक्षाका लागि प्रश्न निर्माणसम्बन्धी प्रशिक्षण सुरु

विराटनगर । शैक्षिक क्षेत्रमा संघीयता कार्यान्वयनसँगै धेरै समस्याहरू आएकोले बीचको पाँच वर्षमा शिक्षा सुधारका कामहरू हुन नसकेको सरोकारवालाले बताएका छन् । विराटनगरमा परीक्षा बोर्ड सानोठिमी भक्तपुरले आयोजना गरेको स्तरिकृत परीक्षाका लागि प्रश्न निर्माण सीप विकाससम्बन्धी प्रशिक्षक प्रशिक्षण कार्यशालामा बोल्ने सहभागीले यो बिचमा धेरै समस्याहरू आएको बताए । राष्ट्रिय परीक्षा बोर्ड अध्यक्ष महाश्रम शर्माले स्थानीय, प्रदेश र संघको बिचमा समन्वयात्मक रूपमा काम हुन नसकेको बताए ।

‘यस्तै अवस्था रही रहने हो भने शिक्षा र परीक्षा प्रणालीलाई सुधार गर्न समस्या हुन्छ,’ उनले भने, ‘समन्वयात्मक रूपमा काम भएको छैन, सबैको समन्वयमा काम गर्नुपर्ने अवस्था रहेको छ ।’

प्रदेश र स्थानीय तहमा छलफल गरेर एउटै संयन्त्रबाट अघि बढ्नु पर्ने उनले बताए । स्थानीय तहलाई पत्र पठाउँदा मात्र पनि स्थानीय तहहरूले त्यसलाई स्वाभाविक रूपमा नलिएको समेत शर्माले सुनाए । सबैको समन्वय बेगर स्थानीय तहले मात्र शिक्षामा केही गर्न नसक्ने उनको ठम्याई छ । मन्त्रालयले गाउँ तथा नगरपालिका महासंघसँग समन्वय गरेर अघि बढ्ने प्रयास भएको सुनाए । सबैको छलफल, समन्वय र सहकार्यबाट अघि बढ्दा सबैलाई काम गर्न सजिलो हुने र शिक्षा सुधारमा सफलता प्राप्त गर्न सकिने बताए । कार्यक्रममा शर्माले शिक्षण सिकाई क्रियाकलापमा सुधार गर्दै सबै शिक्षकले प्रश्न पत्र निर्माण गर्न सक्ने भएँ भने कक्षा कोठालाई सुधार गर्न सकिने शर्माले बताए ।

‘विद्यालयहरूमा सुपरभिजन प्रणाली अहिले कामै नलाग्ने अवस्थामा पुगेको छ,’ उनले भने, शिक्षामा सुधार गर्ने हो भने प्रश्नपत्रमा मात्र सुधार गरेर हुँदैन ।’

प्रश्नपत्र मात्र निर्माण गर्ने हैन कसरी परीक्षालाई प्रभावकारी बनाउने भन्नेमा आफूहरू केन्द्रित रहेको उल्लेख गरे । परीक्षा योजना, परीक्षाको किसिम, परीक्षासँगै परिणाम विश्लेषण गर्ने ठाउँसम्म व्यवस्थित हुनु पर्ने उनको भनाइ छ । राष्ट्रिय परीक्षा बोर्डका सदस्य डा. कल्पना ज्ञवालीले उपचारात्मक मूल्याङ्कन प्रणालीमा आधारित भएर परीक्षा प्रणालीको अवलम्बन गरिनुपर्ने बताइन् । स्ट्यान्डर्ड परीक्षा प्रणालीको कसरी विकास गर्न सकिन्छ भनेर प्रशिक्षक प्रशिक्षण गरिएकोले यहाँको सिकाईलाई प्रदेशका धेरै जिल्लामा गएर प्रशिक्षण दिनु पर्ने उनले जानकारी दिइन् ।

‘पालिकामा गएर दिइने प्रशिक्षणको उपलब्धिले भोलिका दिनमा परीक्षणका विषयलाई प्रभावकारी बनाउने छ,’ उनले भनिन्, ‘आफ्नो पेसालाई माझ्ने अवसर को रुममा लिइनु पर्छ ।’

परीक्षालाई व्यवस्थित, कक्षा कोठामा स्तरीकृत परीक्षा कसरी गर्ने भनेर ज्ञान हुँदाहुँदै पनि त्यसलाई व्यवहारिकता दिन नसकिरहेको अवस्था रहेको उल्लेख गरिन् । शिक्षा विकास तथा समन्वय ईकाई मोरङका प्रमुख टंक गौतमले शिक्षा क्षेत्रमा गरिनु पर्ने धेरै कामहरू समन्वयात्मक रूपमा अघि नबढ्दा समस्याहरू आएको बताए । उनले प्रदेश र स्थानीय तहमा शिक्षाको बजेट समेत कम हुँदा शिक्षा क्षेत्र प्राथमिकतामा पर्न नसकेको बताएका हुन् ।

‘स्थानीय र प्रदेशमा शिक्षा सुधारका विषय प्राथमिकतामा पर्न सकेकाे छैन,’ उनले भने, ‘संघीय सरकारले प्रदेश र पालिकालाई समन्वय गर्नु पर्ने र मानव संसाधनमा खर्च गर भन्नू पर्ने अवस्था छ ।’

गौतमले मोरङ सबैभन्दा धेरै विद्यार्थी रहेको जिल्ला भएकोले परीक्षा बोर्डले कर्मचारी व्यवस्थापनमा ध्यान दिनु पर्ने बताए ।

के हो स्तरीकृत परीक्षण

प्रदेश परीक्षा व्यवस्थापन कार्यालय विराटनगरका प्रमुख युवराज पौडेलले जनशक्ति कस्तो उत्पादन गर्ने भन्ने अहिलेको परीक्षा प्रणालीले दिनु पर्ने बताए । नयाँ ऊर्जाका साथ तीन दिनसम्म समूह छलफलसहितको स्तरीकृत परीक्षा प्रणालीबारे छलफल हुने उनले जानकारी दिए । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा उप नियन्त्रक सुवास पन्तले परीक्षालाई स्तरीकृत गर्ने उद्देश्यले २०७५ सालबाट यो कामको सुरुवात विषयगत विज्ञहरूबाट भएको जानकारी दिए । परीक्षालाई स्तरीकृत गर्ने, परीक्षाको वैधता, विश्वसनीयता, समानता र तुलनायोग्य बनाउने मुख्य तत्त्व रहेको उनले बताए ।

परीक्षित प्रश्नहरूबाट पाठ्यक्रमको उद्देश्य पूरा गर्नका लागि विशिष्टीकरण तालिका अनुसार पूर्व परीक्षण गरिएको प्रश्नबाट विद्यार्थीलाई प्रश्न निर्माण गरेर परीक्षा लिइने प्रक्रिया स्तरीकृत परीक्षण भएको पन्तले जानकारी दिए । यसले परीक्षणका तत्त्व, प्रश्नको वैधता, पाठ्यक्रमको उद्देश्यलाई प्रतिनिधित्व गर्नु पर्छ, पन्तले भने । विराटनगरमा मंगलवारदेखि सुरु भएको स्तरीकृत परीक्षाका लागि प्रश्न निर्माण सीप विकास सम्बन्धी प्रशिक्षक प्रशिक्षण तीन दिनसम्म चल्नेछ ।

प्रशिक्षणमा अङ्ग्रेजी, गणित र विज्ञान विषयका विषयगत विज्ञहरूले सहभागी शिक्षकहरुलालई प्रशिक्षण दिनेछन् । प्रशिक्षणमा प्रदेश १ का १४ जिल्ला सहित मधेस प्रदेशको सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्लाका विज्ञान, अंग्रेजी र गणित विषयका शिक्षक सहभागी छन् । हरेक जिल्लाबाट ३ जनाको दरले बोलाइएको प्रशिक्षक प्रशिक्षणमा सहभागी भएका शिक्षकहरूले सम्बन्धित जिल्ला र स्थानीय तहमा गएर प्रशिक्षण दिनु पर्ने पन्तले जानकारी दिए ।

प्रतिक्रिया

One thought on “परीक्षा प्रणाली सुधारको तयारी, स्तरीकृत परीक्षाका लागि प्रश्न निर्माणसम्बन्धी प्रशिक्षण सुरु

  1. धेरै राम्रो सोच का साथ अगाडी बढनु हो। अनि मात्र उदेश्य पुरा हुन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *