पोखराबाट प्याराग्लाइडिङ विस्थापित नहुने, माघ १ गतेदेखि व्यावसायिक उडान

पोखरा । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै रोकिएको पोखराको प्याराग्लाइडिङ उडान माघ १ देखि सुरु हुने भएको छ । विमानस्थलका कारण यसअघि उडान हुँदै आएको सराङकोटबाट स्थानान्तरण गरेर ५ किलोमिटर पर मान्द्रेढुंगामा सारिएको थियो ।

तर त्यहाँबाट पनि उडानमा अवरोध भए प्याराग्लाइडिङ हटाउनुपर्ने भन्दै केही समय परीक्षण गरिएको छ । परीक्षणका क्रममा उक्त ठाउँबाट उडान हुँदा विमानस्थल र जहाजलाई कुनै असर नपर्ने भएपछि माघ १ देखि व्यावसायिक उडानको तयारी गरिएको हो ।

अन्तर्राष्ट्रिय विमानस्थलमा बढी ट्राफिक गतिविधि हुने १० नटिकल माइलभित्र पर्ने भएकाले सराङकोट, तोरीपानी र तामागीको स्पट बन्द गरिएको हो । मान्द्रेढुंगाबाट हुने उडान चंखपुरस्थित पामेमा ल्याण्ड हुने छ । पोखरामा सन् १९९६ देखि प्याराग्लाइडिङ उडान सुरु भएको हो ।

हाल ६० वटा प्याराग्लाइडिङ कम्पनी नेपाल हवाई खेलकुद सघं (ना) मा आबद्ध छन् भने ३ सय ५० भन्दा बढी पाइलटले उडान भर्दै आएका छन् । प्याराग्लाइडिङ पोखरा आउने पर्यटकको प्रमुख रोजाइको इभेण्ट पनि हो । तर स्थानान्तरणका कारण अब भने व्यवसायमा असर पर्न सक्ने व्यवसायीहरूको चिन्ता छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *