लिङ्देनलाई देउवाको अफर- ‘प्रधानमन्त्री बन्नुस्, मिलाउने काम मेरो’ 

यस्तो छ प्रचण्डको विपक्षमा मतदान गर्ने कांग्रेसको रणनीति 

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्री बन्न ‘अफर’ गरेका छन् । उनले विगत एक सातादेखि आफू र आफ्ना दूतहरूमार्फत राजेन्द्रलाई प्रधानमन्त्री बन्न अफर गरेको स्रोतले पुष्टि गरेको छ ।

पाँच दलीय गठबन्धन भत्काएर सात दलीय गठबन्धन र ३ स्वतन्त्र सांसदको समर्थनमा हाल नेकपा माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड १० पुसमा प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।

यस कारण प्रचण्ड नेतृत्वमा रहेको सात दलीय गठबन्धनको सरकार ढाल्ने प्रयत्नमा छन् देउवा। उनले पछिल्लो समय राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी र अन्य साना दलालाई आफ्नो गठबन्धनमा गरिरहेका छन् ।

प्रचण्डलाई विश्वासको मत नदिने खेल
नेपाली कांग्रेसका सभापति देउवा हाल आफ्नै दलका सांसद पेलान तथा दोहोरो चेपुवामा छन् । कांग्रेसका दुई गुट र अन्य उपगुट भएका कारण सत्ता गुमेपछि देउवा प्रचण्ड नेतृत्वको सरकार ढाल्ने खेलमा लागेको कांग्रेस कार्यसम्पादन समितिका एक नेताले पुष्टि गरेका छन् ।

उनले यो साता राजेन्द्र लिङ्देनलाई भेटेर तथा फोनमार्फत प्रधानमन्त्री बन्न अफर गरेको स्रोतले पुष्टि नै गरेको छ । यतिमात्र होइन, देउवाले लिङ्देनलाई भेट्न कांग्रेसका अन्य नेता तथा कार्यकर्ता पठाइरहेका छन् ।

स्रोतले भन्यो, ‘देउवाले यो सरकारलाई विश्वासको मत नदिने खेलमा लाग्नु भएको छ । राजनीतिमा विभिन्न सम्भावनाहरू हुन्छन् । त्यो खेलमा देउवा लाग्नु भएको छ । राजेन्द्रजीलाई धेरै पटक फोनमा पनि प्रधानमन्त्री बन्ने अफर आएको मेरो कानले सुनेको छु । देउवाले राजेन्द्रजीलाई ‘तपाई प्रधानमन्त्री बन्न तयार हुनुहोस् मिलाउने काम मेरो’ भनेर भन्नु भएको कुरा साँचो हो ।’

प्रधानमन्त्रीको अफरमा राजेन्द्रको प्रतिक्रिया
कांग्रेसले प्रधानमन्त्रीको अफर दिँदा राजेन्द्र लिङ्देन हाँसेको कुरा बाहिर आएको छ । सुरुमा राजेन्द्र लिङ्देनलाई यो कुरा ठट्टा गरेजस्तो शैलीमा देउवाले भनेका थिए । तर लगातार देउवा र उनी निकट मानिसको फोन आएपछि राजेन्द्र लिङ्देन बोल्न बाध्य भएको स्रोतले पुष्टि गरेको छ ।

स्रोतले भन्यो, ‘एक दुई पटक त भेट नै भयो त्यो बिचमा कति पटक कल आए । राजेन्द्रजीले यो विषयमा केही बोल्नु भएको छैन । देउवालाई राजेन्द्रको जवाफ थियो त्यतातिर सोचेको छैन ।’

देउवा निकट स्रोतका अनुसार देउवा र राजेन्द्रको वार्ता निरन्तर भइरहेको छ । राजेन्द्रले देउवाले गरेको अफरमा आफूले त्यतातिर नसोचेको र साथीहरूसँग छलफल गरेर मात्र अगाडि बढ्ने प्रतिक्रिया दिएका छन् । स्रोतका अनुसार राजेन्द्रले पार्टी कमिटीमा छलफल गरेर मात्र आफूहरूले जवाफ दिने बताएका छन् ।

विश्वप्रकाश र गगन पनि राजेन्द्रको पक्षमा
नेपाली कांग्रेसका महामन्त्री द्वय विश्वप्रकाश शर्मा र गगन थापा पनि राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्री बनाउने पक्षमा सहमत देखिएका छन् । उनीहरू पनि प्रचण्डको सात दलीय गठबन्धनको सरकार ढाल्ने पक्षमा रहेको स्रोतले पुष्टि गरेको छ । स्रोतका अनुसार गगन र विश्वप्रकाशले पनि राजेन्द्र लिङ्देनलाई समर्थन गरेर अगाडि बढ्ने पक्षमा छन् ।

उनीहरूले राजेन्द्रलाई विभिन्न सम्भावनाहरूको बारेमा जानकारी गराइराखेको विश्वप्रकाश निकट स्रोतले बताएको छ । विश्वप्रकाश र राजेन्द्र राजनीतिक विचार फरक फरक भए पनि सानैदेखिका साथीसाथी हुन् । उनीहरूको शैक्षिक थलो एउटै भएका कारण पनि उनीहरू नजिक छन् ।

कांग्रेस निकट एक नेताका अनुसार राजेन्द्र लिङ्देनलाई विश्वप्रकाशले निरन्तर संवाद र वार्ता गरिरहेका छन् । राजेन्द्रलाई विश्वप्रकाशले भेटेर भनेका छन्, ‘ हामी मिल्नु पर्छ । तिमीलाई हामी पीएम बनाउन तयार छौँ । विश्वासको मतको विपक्षमा मतदान गर । मिलेर जानुपर्छ यार ।’ ती नेताले बताए अनुसार गगन र राजेन्द्र पनि निरन्तर संवादमा छन् । गगनले पनि राजेन्द्रलाई फकाइरहेको खुलेको छ ।

यस्तो छ संसदीय अङ्कगणित
२ सय ७५ जना प्रतिनिधि सभाका संसद मध्ये, प्रतिनिधि सभामा ८९ सिटसहितको सबैभन्दा ठुलो दल कांग्रेस सत्ताबाहिर छ । यस्तोमा नेकपा एमालेको ७८ सिट छ, माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टी २०, राष्ट्रिय प्रजातन्त्र पार्टी १४, जनता समाजवादी पार्टी १२, नेकपा एकीकृत समाजवादीको १०, जनमत पार्टीको ६, लोसाको ४ , नागरिक उन्मुक्तिको ३, यस्तै ५ जना स्वतन्त्र संसद् र राष्ट्रिय जनमोर्चाको बाट १ र नेमकिपाबाट १ जना निर्वाचित भएका छन् । जम्मा एक जना स्वतन्त्र सांसद किरणकुमार शाह एमालेतर्फ खुलेका छन् ।

हाल ५ जना स्वतन्त्र संसद् मध्ये ३ स्वतन्त्र सांसदले समर्थन गरेर माओवादी नेतृत्वको सरकार बनेको छ । माओवादी नेतृत्वको सरकारमा हाल सात दल छन् । जम्मा नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी, र तीन स्वतन्त्र संसद् सरकारमा छन् ।

१६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डलाई विश्वासको मत नदिन कांग्रेसले अन्य पार्टीसँग छलफल गरिरहेको छ । तर हलालसम्म माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टी मात्र सरकारमा गएका छन् । अन्य तीन पार्टीले सरकारलाई समर्थन मात्र गरेका छन् ।

प्रचण्डलाई बहुमतका लागि संसद्मा १ सय ३८ सिट चाहिन्छ । तर प्रचण्डलाई विश्वासको मतबाट वञ्चित बनाउन कांग्रेसले कसरत गरेको देखिन्छ । कांग्रेसले सरकारमा गएका एमाले, माओवादी बाहेक रास्वपा, जनमत पार्टीका र केही स्वतन्त्र सांसदलाई प्रस्ताव गरिरहेका छन् ।

कसरी मिलाउँदै छन् कांग्रेसले जोडघटाउ
कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने खेललाई तीव्र पारेको स्पष्ट छ । बहुमतका लागि प्रचण्डलाई १ सय ३८ सिट चाहिन्छ तर नेपाली कांग्रेसले राप्रपा, जसपा, नाउपासँग सहकार्य गर्न चाहेको छ । उसले नेपाली कांग्रेस ८९ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीको असन्तुष्ट पक्षको ८ सिट, राप्रपा १४ सिट, जसपा १२ सिट, नेकपा  एकीकृत समाजवादीकाे १० सिट, जनमत पार्टीका असन्तुष्ट पक्षको २, लोसपाकाे ४ सिट, नागरिक उन्मुक्ति पार्टीकाे ३, राष्ट्रिय जनमोर्चाकाे १ सिट तथा नेमकिपाकाे  सिट र स्वतन्त्र उम्मेदवाकाे मध्ये ३ सिट आफ्नो पक्षमा पार्न चाहेको छ ।

यसो हुँदा कांग्रेसको जोडघटाउमा प्रचण्डको विपक्षमा मतदान गर्नेको सङ्ख्या १ सय ४१ जना हुन्छन् भने प्रचण्डको पक्षमा मतदान गर्नेको सङ्ख्या १ सय ३४ हुन्छ । कांग्रेसका एक नेताले आफ्नो जोडघटाउ सुनाउँदै भने, ‘हामीले यो खालको कसरत गरेका छौँ । सफल बनाएरै छाड्ने हो । कसलाई कहाँ मिलाउनु पर्छ हामी निर्णय गर्छौँ । हामीले राजेन्द्रजीलाई प्रधानमन्त्रीका लागि अफर गरेको साँचो हो । राजनीतिमा चलाखीपन गर्ने प्रचण्डलाई मात्र होइन हामीलाई पनि आउँछ ।’

उनले रास्वपा स्वतन्त्र र जनमत पार्टी त सरकारमा गएको छ कसले कसले विपक्षमा भोट देलान् त भन्ने प्रश्नमा भने,‘ हामीले नाम तयार पारेर गोजीमा बोकेर हिँडेका छौँ । अहिले बाहिर ल्याउन मिल्दैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *