रविले बोक्नैपर्ने बोझ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृहमन्त्री भएलगत्तै केही न केही नयाँ तरिकाले काम गर्ने प्रयास गरिरहेका छन् । केही न केही सुधारको प्रयास गर्न खोजिरहेको देखाउन खोजिरहेका छन् उनी ।

गृहमन्त्रीको शपथ लिँदै गर्दा मन्त्रिपरिषद्मै प्रतिपक्षीको भूमिका खेल्न सरकारमा सहभागी भएको र गृह मन्त्रालयको जिम्मेवारी लिएको अभिव्यक्ति दिएर चर्चा बटुलेका लामिछानेले त्यसपछि गृह मन्त्रालयकै कर्मचारीको विश्वास जित्ने प्रयास गरे । गृह मन्त्रालयका कर्मचारीहरूका अनुसार प्रत्येक कर्मचारीको चेम्बरमा आफैँ पुगे, हात मिलाए, सुधार गर्न आएको र समन्वयमा काम गर्न तयार हुने बताए । उनले गृह मन्त्रालयकै क्यान्टिनमा खाना खाए । अर्थात्, गृह मन्त्रालयकै कर्मचारीको विश्वास जित्ने उनको प्रयास छ । तर, विगतका मन्त्रीहरू भन्दा आफू फरक रहेको देखाउन उनले हरेक दिन केही न केही नयाँ गर्न खोजेको देखाउने प्रयत्न गरिरहेका छन् ।

त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगेर उपप्रधान तथा गृहमन्त्री लामिछानेले अनुगमन गरे । सर्वसाधारणले सेवा लिन लामो लाइन लाग्नुपर्ने सास्ती खेप्दै आएको कार्यालयमध्ये राहदानी विभाग पनि एक हो ।

मन्त्री बनेपछि हरेक दिन समाचारको विषय बनिरहेका रवि लामिछानेलाई जनअपेक्षा नै आगामी चुनौती देखिन्छ । टेलिभिजन प्रस्तोताका रूपमा रवि लामिछानेले गरेको प्रश्न अब उनीसँग सोधिनेछ । त्यसको जवाफ बोलेर होइन, गरेर देखाउनुपर्नेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले राहदानी र सवारी चालक अनुमतिपत्र लिन लामो लाइन लाग्नुपर्ने बाध्यताको अन्त्य निर्णय गरेको थियो ।  राहदानी विभागबाट पासपोर्ट बनाउन सेवाग्राहीले अत्यधिक सास्ती भोगिरहेका छन् । जहाँ पुगेर गृहमन्त्री लामिछानेले कामको सुरुवात गरेको सन्देश दिए । तर, लाइनको सास्ती भने हटिसकेको छैन ।

राहदानी विभागको अनुगमनपछि उनले भनेका छन्- ‘प्रहरी प्रशासन, विपद् व्यवस्थापन, नागरिकता, राष्ट्रिय परिचयपत्रलगायत राहदानीको विषयसम्म हेर्ने क्षेत्राधिकार रहेको मन्त्रालयले जनताले महसुस गर्ने गरी काम गर्छ ।’

अहिलेको समयमा सेवाग्राहीहरूले राहदानी र राष्ट्रिय परिचयपत्र लिन सास्ती खेपिरहनुपरेको गुनासो गरिरहेका छन् । ती सेवा लिने ठाउँमा मानिसहरूको सधैँजसो लामो लाइन देखिने गरेको छ ।

यही बुझेर गृहमन्त्री लामिछानेले राहदानी विभागको अनुगमन गरेर जनताले खेपिरहेको सास्तीलाई सम्बोधन गरिने बताएका हुन् । जनतासँग यी विषय प्रत्यक्ष र परोक्ष रूपमा गृह मन्त्रालयसँग जोडिएका कारण सेवा दिने केन्द्र विस्तार गरेर भए पनि सहजै राहदानी र राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सक्ने अवस्था बनाइदिनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् ।

पूर्वगृहसचिव उमेश मैनाली भन्छन्, ‘वितरण केन्द्रहरू बढाएर वा सुविधाहरू थपेर वा सेवा प्रवाह गर्ने केन्द्र थपेर सहजै परिचयपत्र वा राहदानी लिनसक्ने व्यवस्था गरिदिनेमा गृह मन्त्रालयको पक्कै भूमिका हुन्छ । यो गर्न सक्नु पनि पर्छ ।’

उपप्रधान एवं गृहमन्त्री बनेपछि रवि लामिछानेको अध्यक्षतामा गत मंगलबार केन्द्रीय सुरक्षा समितिको पहिलो बैठक पनि बस्यो । सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकमा नेपाली सेनाका रथीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका प्रमुख सह–सचिव फणीन्द्र पोखरेल लगायत सहभागी थिए । जहाँ उनले सुरक्षा अधिकारीहरूबाट गृह मन्त्रालयले गर्नुपर्ने कामहरूको ब्रिफिङ लिए ।

सुरक्षा अधिकारीहरूको सरुवा–बढुवाको विषयमा पनि उपप्रधान एवं गृहमन्त्री लामिछाने बोलेका छन् । सरुवा–बढुवा माग्दै नेताहरूको घर घर पुगेको थाहा पाए कारबाही गर्ने उनको चेतावनी छ । उनले प्रहरी प्रधान कार्यालय, नक्साल पुगेर प्रहरी कर्मचारीको सरुवा र बढुवा मापदण्ड बाहिरबाट नहुने बताएका हुन् ।

गृहमन्त्री बनेपछि पहिलो पटक निरीक्षणका लागि प्रहरी प्रधान कार्यालय पुगेका उनले भनेका छन्, ‘सरुवा र बढुवाको कुरा लिएर नेताका घर घर जाने कुरा अन्त्य गरिनेछ । हाम्रोभन्दा पनि राम्रो मान्छे प्राथमिकतामा पर्नेछन् ।’ उनले राम्रो काम गर्नेलाई पुरस्कृत र प्रहरीका आचरण विपरीतका क्रियाकलाप गर्नेलाई दण्डित गर्ने बताए । उनले भने, ‘हिजोका दिनमा जे–जे भए भए, आगामी दिनमा कसैले पनि कानुनी विपरीतका क्रियाकलाप नगरोस्, विकृति विसंगतिका अन्त्य गर्छु ।’

सामाजिक सञ्जालमा पनि जोडिन बिर्सेका छैनन् । शुक्रबार साँझ फेसबुकमार्फत एक सन्देश सार्वजनिक गर्दै उनले गृह मन्त्रालयका कर्मचारीहरू नागरिकको हरेक समस्या सम्बोधन गर्न योग्य, सक्षम र प्रतिबद्ध रहेको बताए । ‘हाम्रो मन्त्रालयमा कानुन बमोजिमको काम गर्न मन्त्रीलाई नै भेट्नु पर्दैन,’ उनले भने, ‘हाम्रा कर्मचारी साथीहरू तपाईँको हरेक  समस्या सम्बोधन गर्न योग्य, सक्षम र प्रतिबद्ध छन् ।’ मन्त्री बनेपछि बधाई तथा शुभकामना दिनेहरूलाई धन्यवाद ज्ञापन गर्दै उनले भेटघाट, फूलमाला, खादा गम्छाको सिलसिला रोकेर काममा लाग्नुपर्ने समय आएको उल्लेख गरेका छन् ।

देशभरका प्रजिअहरुको भर्चुअल बैठक पनि राखिसके । अर्थात्, गृहमन्त्री भएपछि हरेक दिन जसो केही न केही गरिरहेको सन्देश दिने प्रयास गृहमन्त्री लामिछानेको छ । टेलिभिजन प्रस्तोताको जागिर छोडेर राजनीतिमा होमिएको ६ महिनाभित्रै रवि लामिछाने उपप्रधान सहित गृहमन्त्री बनेका छन् । यति छोटो अवधिमै यति ठूलो उपलब्धि सम्भवतः नेपालका कमै राजनीतिकर्मीले हासिल गरेका छन् । जिन्दगीभर राजनीति गरेर पनि रवि लामिछानेको तहको भूमिका नपाएका कयौँ राजनीतिकर्मी छन् । तर नाटकीय शैलीमा रवि लामिछाने मुलुकको प्रभावशाली राजनीतिकर्मी बनेका छन् । संसद्मा २० सिटसहित चौथो राजनीतिक दल बनेपछि रवि लामिछानेले रोजाइको मन्त्री पाएका छन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्मा रवि चौथो वरियताका मन्त्री हुन् । रवि भन्दा माथि विष्णुप्रसाद पौडेल र नारायणकाजी श्रेष्ठ मात्रै छन् । संवैधानिक व्यवस्था अनुसार, २५ सदस्यीय मन्त्रिपरिषद् भन्दा लामिछानेको वरीयता धेरै फेरबदल हुने सम्भावना छैन । किनकि सत्तारुढ दलभित्र रवि तेस्रो ठूलो शक्तिका सभापति हुन् ।

अर्थात्, रवि लामिछानेले यति ठूलो सफलता हात पार्नुमा उनीप्रतिको जनविश्वास हो । ‘सिधा कुरा जनतासँग’मार्फत चर्चित टेलिभिजन कार्यक्रम चलाएर रवि आम नागरिकसँग परिचित बनेका थिए । लामिछानेको परिचय ९ वर्ष अगाडि उनी आफैले लामो अन्तर्वार्ता लिएर स्थापित गरेका थिए । गिनिजबुकमा नाम लेखाउनेगरी सबभन्दा लामो अन्तर्वार्ता लिएपछि चिनिन थालेका रवि लामिछाने गएको जेठसम्म टेलिभिजन प्रस्तोता नै थिए । तर स्थानीय चुनावमा गैरदलीय उम्मेद्वारहरुले काठमाडौँ महानगर, धरान उपमहानगर, धनगढी उपमहानगरको मेयर जितेपछि रवि लामिछानेले ७ असारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोलेका थिए । घण्टी चिन्ह लिएर रास्वपा खोलको रवि लामिछानेले ४ मंसिरको चुनावमा समानुपातिकतर्फ नेकपा माओवादी केन्द्रकै हाराहारी मत ल्याए ।

संसदीय समीकरणले पनि रविलाई लाभ पुग्यो । ७८ सिटसहित नेकपा एमाले दोस्रो र ८९ सिटसहित नेपाली कांग्रेस पहिलो दल बन्नु रवि लामिछानेको सत्ता यात्राका निम्ति अनुकूल बन्यो । किनकि कुनैपनि दलको एकल बहुमत आएन । तेस्रो शक्ति माओवादी केन्द्रले ३२ सिट मात्रै ल्यायो । यिनै संसदीय समीकरणले रवि लामिछाने सरकार निर्माणमा निर्णायक बने ।

यावत समस्या समाधानमा केही नयाँ गर्छु भनेका कारण लामिछानेलाई हेरेर रास्वपालाई भोट दिएका हुन् । यो बुझेर रवि लामिछाने केही नयाँ गर्ने प्रयास गरिरहेका छन् । र रवि लामिछाने मन्त्रिपरिषद्कै प्रभावशाली र आकर्षक व्यक्ति बन्न पुगेका छन् ।

अब, गृहमन्त्री लामिछानेले गृह मन्त्री हुनुभन्दा अगाडि गरेका मात्र होइन, गृहमन्त्री भएपछि गरेका बाचाहरू पनि उनले पुरा गर्नुपर्ने छ । गृहमन्त्रीमा नियुक्त भएपछि बलात्कारपछि हत्या गरिएकी भनिएकी निर्मला पन्तको अनुसन्धान गर्ने पहिलो निर्णय गरेका थिए ।

प्रहरीले कुनै पनि अपराध अनुसन्धानका क्रममा गृह मन्त्रालयको भरपर्दो आड नपाउँदा त्यसले अनुसन्धान प्रभावित हुन थालेको पछिल्ला घटनाहरूले देखाएको सरोकारवालाहरू बताउँछन् । एउटा उदाहरण निर्मला पन्तको हत्यालाई लिने गरिन्छ ।

अर्कोतर्फ, तस्करीका अनेकन् घटनाहरू छन् । ३३ किलो सुन प्रकरणलगायतमा अनुसन्धान गर्दा त्यसले प्रहरीलाई भविष्यमा आफैँ पीडित बन्नुपर्ने हो भन्ने देखाएको कतिपयको टिप्पणी छ । यसबाहेक, शान्ति सुरक्षा व्यवस्था प्रत्याभूत गर्न पनि गृह मन्त्रालयले उत्तिकै काम गर्न आवश्यक छ । समाजमा असुरक्षा छ भन्ने धारणालाई नियन्त्रण गरेर नेपालमा शान्ति सुरक्षाको व्यवस्था चुस्तदुरुस्त छ भन्ने अनुभूति दिनु गृहमन्त्रीको चुनौती हो ।

प्रहरी प्रशासनमा लामो समय काम गरेका पूर्व डीआइजी हेमन्त मल्ल ऐन अनुसार प्रहरी प्रमुखहरूलाई कायम गर्न नदिँदा पनि प्रहरीभित्र समस्या भइरहेको बताउँछन् । एसपीसम्मको सरुवा गर्ने अधिकार आइजीपीसँग भए पनि त्यसमा राजनीतिक हस्तक्षेप हुने अभ्यास पछिल्ला समय देखिएको उनलाई लाग्छ ।

जिल्लामा एसपी वा डीएसपी इन्चार्ज हुने गरेकामा प्रहरी प्रमुखले भन्दा ऐन विपरीत सरुवा गरिँदा त्यसले अनुशासन र कमाण्ड नियन्त्रण गर्न नसकिने मल्लको बुझाइलाई चिर्नुपर्ने छ ।

नेपालमा छलफल भइरहने र काम नहुने अर्को विषय छ– विपद् व्यवस्थापनमा पूर्व तयारी । प्राकृतिक विपद् भइसकेपछि सुरक्षा निकायले गर्ने काम राम्रो भए पनि पूर्वतयारी भने राम्रो गरेको नदेखिने गरेको विज्ञहरूले बताउने गरेका छन् । भूकम्प होस् वा कोरोनाभाइरसको विश्वव्यापी महामारी वा बर्खाका बेला हुने बाढी पहिरोका घटना त्यसमा पूर्वतयारीमा त्यतिधेरै काम भएको नदेखिएको टिप्पणी हुने गर्दछ ।

अर्थात्, यी यावत समस्या समाधानमा केही नयाँ गर्छु भनेका कारण लामिछानेलाई हेरेर रास्वपालाई भोट दिएका हुन् । यो बुझेर रवि लामिछाने केही नयाँ गर्ने प्रयास गरिरहेका छन् । र रवि लामिछाने मन्त्रिपरिषद्कै प्रभावशाली र आकर्षक व्यक्ति बन्न पुगेका छन् । मन्त्री बनेपछि हरेक दिन समाचारको विषय बनिरहेका रवि लामिछानेलाई जनअपेक्षा नै आगामी चुनौती देखिन्छ । टेलिभिजन प्रस्तोताका रूपमा रवि लामिछानेले गरेको प्रश्न अब उनीसँग सोधिनेछ । त्यसको जवाफ बोलेर होइन, गरेर देखाउनुपर्नेछ । अतः उनले स्थापित हुन जनअपेक्षाको बोझ पार गर्दै गन्तव्यसम्म लैजानुपर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *