एनआरएनएले पोखरामा अत्याधुनिक सार्वजनिक शौचालय बनाउने

पोखरा । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पोखरामा अत्याधुनिक मापदण्डको सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ । पोखरा महानगरपालिकासँग मिलेर उक्त शौचालय बनाउन दुई पक्षबिच सम्झौतासमेत भएको छ ।

पोखरा ९ महेन्द्रपुलको खाली जग्गामा शौचालय निर्माण गर्ने महानगरले जनाएको छ । सम्झौतामा महानगरपालिकाको तर्फबाट सहायक प्रमुख प्रशासकीय अधिकृत जितेन्द्रजंग केसी र एनआरएनएको तर्फबाट कार्यकारी अध्यक्ष रविना थापाले हस्ताक्षर गरेका छन् । शौचालयमा सबैको पहुँच पुर्याउन र सहज रूपमा शौचालय प्रयोग गर्ने वातावरण तयार गर्न सार्वजनिक शौचालय बनाउन लागिएको अध्यक्ष थापाले बताइन् । त्यहाँ स्तनपान कक्ष र चमेनागृह समेत रहने छ ।

यसबाहेक, सित्तैमा सेनेटरी प्याडसमेत उपलब्ध हुने थापाले बताइन् । उनले थप शौचालय बनाउन पनि आफूहरू सकारात्मक रहेको बताएकी छिन् । यसमा एनआरएनएले ६० प्रतिशत र पोखरा महानगरपालिकाले ४० प्रतिशत खर्च गर्ने छन् । करिब १ करोड लागतमा ३ महिनाभित्र शौचालय निर्माण सकिने मेयर धनराज आचार्यले जानकारी दिए । पोखरामा हाल १५ वटा शौचालय महानगरले निर्माण गरेको छ बने ६० ठाउँमा सार्वजनिक निजी साझेदारी अनुसार सञ्चालन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *