नेकपा एस र जसपालाई चौथो दल बन्ने अवसर !

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टी यतिखेर अन्य पार्टीहरूको तानातानमा छ । प्रतिनिधि सभा निर्वाचनमा १० सिट जितेर पनि थ्रेसहोल्ड कटाउन नसकेर राष्ट्रिय दल बन्न चुकेकाे नेकपा एसलाई अन्य दलले आफूमा विलय गराउन तानातान गरिरहेका छन् ।

नेकपा एसले एमाले र माओवादीसँग पार्टी एकता गर्न लागेको कुरा सेलाउन नपाउँदै फेरि जनता समाजवादी पार्टीसँग एकताको तयारी भइरहेको बताइरहेको छ ।

जनता समाजवादी पार्टी राष्ट्रिय पार्टी बनेको छ । यसो हुँदा नेकपा एसले पनि यो पार्टीमा जान दाउ नै खोजिरहेका देखिन्छ । किनकि यी दुई पार्टी एक भए राष्ट्रिय स्वतन्त्र पार्टीभन्दा ठुलो दल यानिकी देशको चौथो शक्तिको रूपमा उभिने छन् । तर नेकपा एसले समयमै निर्णय दिन लिन नसक्दा विभिन्न अवरोध आउने सम्भावना पनि छ ।

तत्कालीन ५ दलीय सत्ता गठबन्धन भत्काएर नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सात दलीय गठबन्धनमा सामेल भई प्रधानमन्त्री बनेका छन् । माओवादीले साथ छोडेपछि नेकपा एस भने एक्लिएको छ । उसलाई एक्लाउने काम एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डको नै भएको माओवादीका एक नेताले बताए ।

सरसरती हेर्दा यो कुरा साँचो पनि हो । किनकि एमाले अध्यक्ष ओलीले प्रतिनिधि सभा विघटन गरेपछि तत्कालीन नेकपामा रहेका दोस्रो अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झालनाथ खनाल र माधवकुमार नेपालले नेकपा छाडेका थिए । त्यसपछि प्रचण्डले आफ्नै माओवादी पार्टी समाले भने खनाल र नेपालले नेकपा एकीकृत समाजवादी पार्टी गठन गरे । कांग्रेस नेतृत्वको सरकारमा यी दुवै पार्टी मिलेर गए । स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनसमेत गठबन्धनको साहारामा लडे ।

तर, आज परिस्थिति फेरिएको छ । हिजो पार्टीबाट छुटिएर गई ओलीविरुद्ध खनिएका प्रचण्ड आज प्रधानमन्त्रीको ललिपपमा फसेर एमालेसँग लिपिक्क टाँसिएका छन् । तर उनलाई अप्ठ्यारोमा साथ दिने सहयात्री दल नेकपा एस सरकार बाहिर छ । प्रचण्ड प्रधानमन्त्री भए पनि नेकपा एसलाई समेत आफूलाई समर्थन गर्न गुहार मागिरहेका छन् । तर नेकपा एसले हालसम्म पनि कता जाने भन्ने मेसो पाउन सकेको छैन ।

हुन त एमाले अध्यक्ष ओलीले पनि नेकपा एसलाई आफ्नो पार्टीसँग मिलाउन पटक पटक प्रयास गरिरहेका छन् । उनले प्रधानमन्त्री प्रचण्डलाई आफ्नो पार्टीसँग एसलाई मिलाउन गुहार मागेको कुरा एमालेकै नेताले स्वीकारेका छन् । तर प्रचण्डले पनि नेकपा एसलाई आफ्नो पार्टी माओवादीसँग मिलाउन जोडबल गरेको देखिन्छ । यसरी तानातानको अवस्थामा रहेको नेकपा एकीकृत समाजवादी आफूलाई सम्मानजनक स्थान दिने पार्टीसँग एकता गर्ने पक्षमा छ ।

जसपासँग मिल्दा नेकपा एसलाई के फाइदा ?

गत मंसिर ४ मा भएको निर्वाचनमा एकीकृत समाजवादीले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १० सिट जितेको छ । तर थ्रेसहोल्ड कटाउन नसक्दा राष्ट्रिय पार्टी बन्न भने सकेन । उपेन्द्र यादव नेतृत्वको जसपाका १२ सांसद छन् । सो पार्टीले प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ ५ सिट जितेको छ । यसो हुँदा नेकपा एकीकृत समाजवादी एमाले र माओवादीसँग सहकार्य या मिल्नुको साटो जसपासँग मिल्दा फाइदा हुने देखिन्छ ।

यदि एकीकृत समाजवादी र जसपाबीच पार्टी एकता भए सो पार्टीका २२ सांसद हुन्छन् । सो पछि उक्त पार्टी संसदमा चौथो ठुलो दलको रूपमा उभिन सक्छ । २० सिटसहित राष्ट्रिय स्वतन्त्र पार्टी चौथो दल छ । यो पार्टी पनि सरकारमा गएको छ । तर जसपाले सरकारलाई समर्थन मात्र गरेको छ ।

यसरी हेर्दा नेकपा एसलाई एमालेसँग मिल्नु भन्दा जसपासँग मिल्नुमा फाइदा रहेको समाजवादी पार्टीका एक नेताले बताए । ती नेताले भने, ‘हामी हिजो ओलीले गरेको प्रतिगमनविरुद्ध लडेर आएका हौँ । हामी एमालेसँग मिल्नुको कुनै तुक छैन । जसपासँग मिले हाम्रो सम्मान पनि हुने छ र हामीले गरेको योगदान र संघर्षको पनि कदर हुने छ । हामीले पार्टीका विभिन्न कमिटीसँग पनि बसेर छलफल गरेका छौँ । उहाँहरूले जसपा सँग हाम्रो पार्टी मिल्दा फाइदा हुन्छ भन्नु भएको छ ।’

यस्तै अर्का एक नेताले भने जसपा र एस मिल्दा त सबैलाई फाइदा नै हुन्छ । अहिले हामी एमालेतिर गयौँ भने ओलीको हेपाइ र पेलाइ सहेर बस्नुपर्ने हुन्छ । ओलीले आफूलाई राम्रो भन्ने मान्छेलाई मात्र अवसर दिने गरेका छन् । फेरि पछिल्लो समय एमाले एमालेजस्तो पनि छैन । यहाँ त राजावादीहरु पनि मिसिएका छन् । त्यो कारण हाम्रो पार्टी जसपासँग मिलेर जान सक्ने सम्भावना छ । यसका लागि गहन रूपमा छलफल भइरहेको छ ।

भर्खरै सम्पन्न नेकपा एसको पोलिटब्युरो बैठकमा पनि बोल्ने अधिकांश नेताले तत्काल एमालेसँग मिल्नुभन्दा जसपासँग पार्टी एकता गर्नु राम्रो हुने बताएको स्रोतले उल्लेख गरेको छ । बैठकमा बोल्ने अधिकांश नेताले सम्मानजनक भाग र पार्टीको भलाइका लागि जसपासँगको एकतामा सकारात्मकता देखाएको स्रोतको भनाइ छ ।

स्रोतले भन्यो, ‘ घनश्याम भुसाल पनि हाम्रो पार्टीमा आउने कुरा छ । भीम रावल पनि सकारात्मक हुनुहुन्छ । यसो हुँदा हामी किन एमालेमा मिल्न जान ओलीको दास बन्न हामीले नयाँ पार्टी खोलेको होइन । तीनको टिका हामीले किन लगाउनु पर्‍यो र हामी सम्मानका साथ पार्टी र जनताको पक्षमा रहेर काम गर्ने हो । एमालेका घमन्डी साथीहरूको सेखी त झार्नु पर्‍यो नि । किन हामी टाँसिन जाने र ।’

यता, जसपा नेताहरू पनि समाजवादी पार्टीसँग मिलेर देशको चौथो ठुलो शक्तिका रूपमा उभिने चाहानामा छन् । उनीहरू पनि नेकपा एससँग मिलेर यात्रा गर्न तयार रहेको बताउँछन् । जसपाका एक नेताले तपाईँहरू नेकपा एससँग मिल्न लाग्नुभएको हो भन्ने मकालुखबरको प्रश्नमा भने, ‘ छलफल चलिरहेको छ । छलफल चलेको घेरै दिन भइसक्यो । मिलेर पार्टी एकीकरण गरौँ भन्ने हामीलाई लागेको छ । माधवजीहरु पनि सकारात्मक हुनुहुन्छ , जनताले पनि हामीलाई मिलेको देख्न चाहेका छन्। यसो हुँदा मिलेर जान सकिन्छ । यसमा ठुलो कुरा केही छैन । माधवजीहरुलाई त झन् फाइदै फाइदा छ ।

यस्तै, जसपाका अर्का नेताले पनि पार्टी एकीकरण हुन सक्ने सम्भावनाको पक्षमा बोल्दै भने, ‘कुरो धेरै अगाडि बढिसक्ने थियो तर नेकपा एस र हाम्रो पार्टीमा पनि केही नेताहरूले असम्मति जनाएका कारण छलफल भइरहेको छ । तर पार्टी एकीकरण हुनु राम्रो हो । छलफल सल्लाह चलिरहेको छ । पार्टी एकीकरण जस्तो कुरा छिटो हुने रहेनछ ।’

जसपाले मंगलबार मात्रै विचार मिल्ने पार्टीसँग एकता गर्न वार्ता समिति निर्माण गर्नुले पनि जसपा नेकपा एससँग मिल्न आतुर रहेकाे संकेत गरेका छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *