फ्ल्यास ब्याक: ७ दशक अघिको खुला चौर, अहिलेको अन्तर्राष्ट्रिय विमानस्थल

पोखरा । पोखरेली त्यस्ता भाग्यमानी हुन्, जसले गाडी देख्नुअघि जहाज चढेका छन् । सिद्धार्थ राजमार्गले पोखरालाई छुनुअघि नै पोखराको खुला चौरमा विमान उडान र अवतरण हुन्थ्यो ।

पोखरामा जहाजबाट नै जीप झिकाएर आन्तरिक रुटमा चलाइएको सम्झना छ,’ समाजशास्त्री विश्व सिग्देलको । ‘हामीले देखेको विकास गोरुले तान्ने गाडा हो । ढुंगा बोक्थ्यो । एयरपोर्ट बनिसकेको थियो । एयरपोर्टबाट सामान व्यापारीकोमा पुर्‍याउँथ्यो,’ उनले भने, ‘सडक यातायात गाडीहरू हामीले देखेकै थिएनौँ । सबैभन्दा पहिले हवाईजहाज देखियो ।’

पोखरामा पहिलो पटक २००८ असोजमा जहाज अवतरण भएको थियो । तत्कालीन गृहमन्त्री बीपी कोइराला र उद्योग मन्त्री गणेशमान सहितका यात्रु लिएर उक्त डकोटा जहाज खुला घाँसे मैदानमा अवतरण भएको थियो । जहाज आउँदा हेर्ने पोखरेलीको भीड घारिपाटनमा लागेको थियो । सुरुमा हिमायलन इभिएसन नामको भारतीय कम्पनीले पोखरामा डकोटा जहाज उडाएको थियो । पहिले नै काठमाडौँ र भैरहवासँग पोखरालाई जोड्न डकोटाले सहयोग ग¥यो । पोखरेली व्यापारीको प्रमुख व्यापार नाका भैरहवा थियो ।

विमानस्थल स्थायी रूपमा २०१५ सालमा मात्रै बनेको थियो । त्यसपछि २०२८ मा धावनमार्ग लामो बनाइयो । २०५४ मा टावर र टर्मिनल भवन बनाइएको हो । त्यतिबेलाको ठूलो एयरपोर्ट अब पोखराको सानो एयरपोर्टमा बदलिएको छ । मुस्ताङचोकको एयरपोर्ट भन्दा चाउथेको एयरपोर्ट अधिक ठूलो भएको छ । डकोटा जहाज अवतरण गरेर सुरु भएको पोखरा विमानस्थलमा अब जेट विमानको उडान र अवतरण सम्भव भएको छ ।

जग्गा अधिग्रहण गरिएको ४७ वर्षपछि पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पूरा भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भव्य कार्यक्रमकाबीच विमानस्थल उद्घाटन समेत गरेका छन् । २०३१ मा गण्डकीका अञ्चलाधीश शंकरराज पाठकले पोखराको गुरुयोजना निर्माण गर्दा पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको परिकल्पना गरे । उनैले राजालाई रिझाएर ३ हजार २ सय ६ रोपनी जग्गा अधिग्रहण गराए । त्यसपछि थप जग्गा अधिग्रहण गरी २०७३ सालमा विमानस्थल निर्माणको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरे ।

२०६८ सालमा पोखराका उद्योगी तथा व्यवसायीले संघर्ष समिति बनाएरै आन्दोलन थालेका थिए । त्यसको नेतृत्व पोखरा उद्योग वाणिज्य संघले गरेको थियो । ५ दिन हिँडेर काठमाडौँ जानुपर्ने पुरानो बाध्यता हटाउन पूर्वाधार विनै जहाज आउजाउ गर्ने पोखरामा अब अन्तर्राष्ट्रिय मापदण्डको ठूलो विमानस्थल बनेको छ । पोखरा विमानस्थल करिब २२ अर्ब लगानीमा ४ हजार रोपनी क्षेत्रभित्र निर्माण भएको हो ।

विमानस्थल निर्माणका लागि चीनको एक्जिम बैंकले २ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराएको छ । योसँगै अब पोखराबाट सीधै विश्वका विभिन्न देशमा एयरबस ३२० मापदण्डका जहाजहरू उडान अवतरण हुन्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *