प्रधानमन्त्री प्रचण्डले आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने, चीनको बधाई

काठमाडाैँ । पोखरामा निर्माण सकिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन आज हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विमानस्थल उद्घाटन गर्ने तय भएको हाे ।

विमानस्थलको उद्घाटनका अवसरमा आज पोखरा महानगरपालिकामा सार्वजनिक बिदा दिइएको छ । महानगरले शनिबार एक सूचना जारी गरी महानगरपालिका कार्यालय महाशाखा, शाखा ३३ वटै वडा कार्यालय तथा मातहतका सबै विद्यालय तथा शैक्षिक संघसंस्था बन्द हुने जनाएको छ । महानगरले निजी क्षेत्रलाई बिदा दिएर उत्सवमा सहभागी हुन आग्रह गर्दै साँझ घरघरमा दीपावली गर्नका लागि महानगरवासीमा अनुरोध गरेको छ ।

उद्घाटन समारोहमा जनसहभागिता, प्रचारप्रसार र ‘सेलिब्रेशन’को जिम्मा पोखरा महानगरले लिएको छ । पोखरा महानगरपालिकाले विमानस्थल उद्घाटनअघि पोखराको अमरसिंहचौरबाट विभिन्न जातजातिको झाँकी, मौलिक भेषभुषा सहितको -यालीको आयोजना गर्नेछ । त्यसैगरी, विमानस्थलका परिकल्पनाकार तत्कालीन गण्डकी अञ्चलका अञ्चलाधीश शंकरराज पाठकलाई रथारोहणसहित नागरिक अभिनन्दन गरिने महानगर प्रमुख धनराज आचार्यले बताए । नागरिक उड्डयन प्राधिकरणका अनुसार उद्घाटनको सबै तयारी पूरा भएको छ ।

तर, विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भने तत्काल नहुने भएको छ । बुद्ध एअरले एक महिना अघिदेखि अन्तर्राष्ट्रिय उडानको अनुमति मागे पनि पाएको छैन । अन्तर्राष्ट्रिय कम्पनीहरूले पनि पहिलो उडानको लागि चासो देखाए पनि सबै प्रक्रिया पुर्‍याएर केही महिनाभित्र उडान हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमले बताए । तीन हजार नौ सय रोपनी क्षेत्रफलमा फैलिएको पोखरा विमानस्थल झण्डै २२ अर्ब लागतमा निर्माण भएको छ । विमानस्थलमा दुई हजार पाँच सय मिटर लम्बाइ र ४५ मिटर चौडाइको धावनमार्ग रहेको छ ।

धावनमार्गको ‘अप्रोच’ पर्ने भएकाले ४० मिटर डाँडा काटेर समतल बनाइनेछ । ठेकेदार कम्पनी उमा एन्ड गाल्भा जेभीसँग वैशाख सम्ममा डाँडा कटान गरिसक्नुपर्ने सम्झौता छ । विमानस्थल सञ्चालनका लागि चुनौतीका रूपमा रहेको ल्यान्डफिल साइटमा गत मंसिर १८ देखि फोहोर फाल्न बन्द गरिएको छ । चार वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ वैशाख १ गते शिलान्यास गरेका थिए ।

निर्माणको जिम्मा चिनियाँ निर्माण कम्पनी सिएमसिईले पाएको थियो । तथ्यांकअनुसार काठमाडौं आएका विदेशी पर्यटकमध्ये ४० देखि ४५ प्रतिशत पर्यटक पोखरा आउने गर्दछन् । नेपाल आएकामध्ये करिब ६० प्रतिशत विदेशी पर्यटक मनोरञ्जनका लागि आउने गरेको र ४० देखि ४५ प्रतिशत पोखरा पुग्ने गरेका छन् । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै यसले पोखरालाई अन्तर्राष्ट्रिय सहरका रूपमा स्थापित गर्ने विश्वास लिइएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएसँगै नेपाली वायुसेवा कम्पनीहरू उत्साहित भएका छन् ।

चीनको बधाई
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उदघाटन हुन लागेकोमा चीनले बधाई दिएको छ । नयाँ आधुनिक अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण पोखरावासीको पचास वर्षदेखिको सपना साकार भएको भन्दै काठमाडौंस्थित चिनियाँ दूतावासले बधाई दिएको हो । उसले भनेको छ, ‘यो नेपाल चीन बीआरआई सहयोगको प्रमुख परियोजना हो, नेपाल सरकार र नेपाली जनतालाई हार्दिक बधाई ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *