गठबन्धन बचाउन सकिएन, कांग्रेस अब सङ्गठन निर्माणमा केन्द्रित हुन्छ : विश्वप्रकाश शर्मा

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस अब सङ्गठन निर्माणमा केन्द्रित हुने बताएका छन् ।

राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आज बिपी प्रतिष्ठानद्वारा चन्द्रगढीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले कांग्रेस अब पाँच वर्षपछि सरकार बनाउने गरी सङ्गठन निर्माण र बिस्तारमा लाग्ने बताएका हुन् ।

उनले आलोचनाका बीचमा नेकपा (माओवादी केन्द्र)लगायतका दलसँग गठबन्धन गरिएको भए पनि अहिले जोगाउन नसकिएको जनाए । झापा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यसमेत रहेका उनले सत्ता गुम्दैमा नआत्तिन कार्यकर्तालाई आग्रह गरे ।

सत्ता समीकरणको फेरबदललाई अनपेक्षित घटनाको संज्ञा दिँदै शर्माले जन निर्वाचित प्रधानमन्त्री बिपी कोइरालालाई पनि अपदस्थ गरिएको इतिहास रहेको बताए । “बहुदलीय व्यवस्था नै विघटन गर्दा पनि जीवित रहेको नेपाली कांग्रेस सत्ताबाट बाहिरिँदैमा आत्तिन्न”, उनले भने ।

चुनावअघिको कांग्रेस नेतृत्वको समीकरण चुनावपछि भत्किएको विषयमा पार्टीभित्र निर्मम र गम्भीर समीक्षा हुने शर्माले कार्यकर्तालाई आश्वस्त पारे । बिपीको मेलमिलाप नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै महामन्त्री शर्माले अबका दिनमा पार्टी एकजुट भई अघि बढ्ने समेत बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *