विराटनगर विमानस्थलको रनवे २७५ मिटर विस्तार हुँदै

विराटनगर । विराटनगर विमानस्थल विस्तारको काम सुरु भएर पनि रोकिएको छ । मुआब्जाको विषय अझै ओझेलमा परेको छ। झन्डै २ वर्ष भन्दा बढी समय रोक्का राखेर पछिल्लो मन्त्री परिषद्ले विराटनगर बिस्तारको कामलाई पूर्ण बिराम लगाउँदै रोक्का राखिएको जग्गा फुकुवा गरिदिएको थियो । जग्गाको अन्तिम मूल्याङ्कन गरेर स्थानीय मुआब्जा वितरण समितिले पठाएको रिपोर्ट अहिले कहाँ छ अन्योलमा नै छ । विराटनगर नागरिक उड्डयन प्राधिकरणले भने विराटनगर विमानस्थल विस्तारको काम टेण्डर प्रक्रियामा रहेको जनाएको छ।

प्राधिकरणको २४ औ बार्षिक उत्सव बनाउने क्रममा विराटनगरमा शनिवार भएको कार्यक्रममा बोल्दै नागरिक उड्डयन प्राधिकरण विराटनगरका प्रमुख रेन्जी शेर्पाले चालु आर्थिक वर्षमा विमानस्थलको धावन मार्ग विस्तारको लागि टेण्डर आव्हान भइसकेको जानकारी दिए । उनले धावन मार्गको लम्बाइ पूर्व तर्फ १७५ मिटर र पश्चिम तर्फ १०० मिटर गरी २७५ मिटर विस्तार गर्न टेण्डर आव्हान गरिएको बताए । त्यस्तै ट्याक्सी वे ९सी० मेन्टेनेन्सकोलागि पनि टेण्डर आव्हान भइसकेको शेर्पाको भनाई छ। हाल १ हजार ५ सय मिटर लम्बाई रहेको विराटनगर विमानस्थललाई ३ हजार मिटर बनाउन माग हुँदै आएको छ ।

प्रमुख शेर्पाका अनुसार विराटनगर विमानस्थलको आधुनिक टर्मिनल भवन निर्माणको कार्य प्रारम्भको चरणमा रहेको छ । विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय बनाउनको लागि दबाब पर्दै आएपनि एकीकृत समाजवादीका नेता तथा तत्कालीन पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले विराटनगर विमानस्थलको टेण्डर प्रक्रिया नै स्थगित गरी धनगढी र नेपालगन्ज विमानस्थललाई बजेट पठाएको आरोप लाग्दै आएको छ। विराट ट्राभल्स एजेन्ट सङ्घका अध्यक्ष तथा प्रदेश पर्यटन बोर्डका उपाध्यक्ष फडिन्द्र अधिकारीले विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय बनाउने विषयमा पहिलादेखिको माग पुरा हुन नसकेको बताए ।

प्रदेश १ मा प्रशस्तै पर्यटकीय क्षेत्रहरू रहेको उल्लेख गर्दै अधिकारीले अन्तर प्रदेश उडान र प्रदेश १ का पहाडी क्षेत्रमा रहेका विमानस्थलहरूलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने हो भने त्यसको फाइदा विराटनगर विमानस्थलले लिन सक्ने र आम्दानी पनि बढाउने अधिकारीको भनाई छ। बुद्ध एयर विराटनगरका स्टेसन म्यानेजर कौशल भण्डारीले विराटनगर विमानस्थलको सेवा प्रवाहलाई सरल बनाउँदा सबैलाई काम गर्न सजिलो हुने बताए । नागरिक उड्डयन प्राधिकरण र वायु सेवा कम्पनीहरू एक अर्काका परिपूरक रहेकोले एक अर्काको बिचमा काम गर्ने वातावरण सहज हुनु पर्नेमा जोड दिए ।

काम गर्ने वातावरण बनाएर सबैलाई फाइदा पुग्ने खालका गतिविधि प्राधिकरणले गर्नु पर्ने बताए । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सदरकुमार पोखरेलले विमानस्थलमा यात्रुहरूलाई सहज यात्राको वातावरण बनाई प्रभावकारी सेवा सञ्चालन गर्न आग्रह गरे । विमानस्थल विस्तारको लागि मुआब्जा वितरणको लागि आवश्यक पर्ने सबै काम पुरा भइसकेको भएपनि सरकारले बजेट नछुटाउँदा विराटनगर विस्तारको काम रोकिएको पोखरेलले बताए ।

मुआब्जा निर्धारण समितिको संयोजकमा पोखरेल रहेका थिए । बार्षिक १३ करोड ६३ लाख आम्दानी विराटनगरबाट एक वर्षमा ६७६६ विमान आगमन भएको छ भने ६७६५ विमान उडान भएको विराटनगर नागरिक उड्डयन प्राधिकरणले जनाएको । यो अवधिमा ३ लाख ७७ हजा ८१ जना यात्रु विराटनगर अवतरण गरेको र ३ लाख ८२ हजार २७६ जना विराटनगर विमानस्थलबाट उडेर गएको जनाइएको छ। विराटनगर विमानस्थलले गत आर्थिक वर्ष २०७८।०७९ को असार मसान्तसम्म १३ करोड ६३ लाख ४६ हजार ५९३ रुपैयाँ सङ्कलन गरेकोमा चालु आर्थिक वर्षको हालसम्ममा ५ करोड ६८ लाख ५१ हजार २०१ रुपैयाँ सङ्कलन गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *