३३ वर्षपछि गोकर्णेश्वरमा ऐतिहासिक नवदुर्गा नाच (तस्बिरहरू)

काठमाडौँ । विविध कारणले २०४६ सालपछि नचाउन बन्द गरिएको भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक महत्त्व बोकेको नवदुर्गा गण नाच, गोकर्णेश्वरको देशेंमा ३३ वर्षपछि नचाइएको छ ।

इतिहास तथा शिलालेखहरूमा उल्लेख भएअनुसार लिच्छवी राजा आनन्ददेवले भक्तपुर सहरलाई नवदुर्गा भवानीमार्फत राजधानी सहरको रूपमा प्रतिष्ठा गर्दा सदाकाल शत्रु, विपद्, दैवीप्रकोप आदि अनिष्टकारी तत्त्वबाट रक्षा गर्न तथा सुख, शान्ति एवं समृद्धि फैलाउन वनमाला जातिको नेतृत्वमा तान्त्रिक विधि द्वारा देवदेवीलाई आहान गरी नवदुर्गा गणको ङालाकेगु नाच प्रचलनमा ल्याएका थिए ।

भक्तपुरमा यो नाच करिब आठ महिना लगाएर क्रमशः नगरका २१ ठाउँमा प्रदर्शन गरिन्छ । भक्तपुरका सूर्यमढी, तचपाल, क्वाठण्डौं गछेँ, दथुटोल, इनाचो, गोल्मढी, याछेँ, तौमढी, तालाको, मुलाखु, गःहिटी, क्वाछेँ, टिबुक्छेँ, बोलाछेँ, खौमा, इताछेँ, बालाखु, तुलाछे, चोछेँ र इच्छुमा ङालाकेगु जात्रा गरी नचाइन्छ ।

नवदुर्गा देवगणमा खिंःबाजा, तंःबाजा, कंशःबाजा, महादेव, गणेश, ब्रह्मायणी, महेश्वरी, भद्रकाली, कुमारी, बाराही, इन्द्रायणी, महाकाली, महालक्ष्मी, भैरव, गुज्यकाली, पुजारी नकीं, बालकुमारी, दुम्ह, सिम्ह, श्वेतभैरव लगायतका देवगण रहेका हुन्छन् ।

धार्मिक मान्यता अनुसार आफ्नो दिन दशा बिग्रेको बेला नवदुर्गा भवानीको प्रसाद दही चिउरा, पञ्चरङ्गी धागो, मूल पात्रको जल, मोहनी (कालो टीका) ग्रहण गर्दा विघ्न बाधा हट्नुको साथै निरोगी हुने धार्मिक विश्वास रहिआएको छ ।

नवदुर्गा देवगणलाई घरमा भित्र्याउँदा घरमा शान्ति हुने, सबै प्रकारका डर त्रासबाट मुक्त हुने जनविश्वास छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *