बिदा हुने बेलामा मधेसका मुख्यमन्त्रीले स्वीकारे– सोचेजति काम गर्न सकेनौँ

जनकपुरधाम । पाँच वर्षे कार्यकाल सकेर बिदा हुने बेलामा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले बुधबार पत्रकार सम्मेलन गरी प्रदेशको नाम र स्थायी राजधानी तोक्नुलाई नै मुख्य उपलब्धि बताएका छन् । मुख्यमन्त्री राउतले शपथ लिएको बेला गरेको प्रतिबद्धता अनुसार काम गर्न नसकेको स्वीकारेका हुन् ।

उनले भने, ‘चाहेको अनुसार काम नगरेको होला । तर मेरो प्रयास सधैँ गर्ने नै थियो ।’

उनले प्रतिपक्षको सहयोगले नै प्रदेशको नाम पहिचानको आधारमा राख्न पाएको र स्थायी राजधानी तोक्न सफल भएको बताए ।

पाँच पटक बजेट ल्याउँदा चार पटक सर्वसम्मत पास भएको भन्दै उनले भने, ‘प्रतिपक्षमा रहेका दल पनि सधैँ सहयोग गर्‍यो । यसलाई पनि उपलब्धिकै रूपमा लिएको छु ।’

उनले प्रदेशको नयाँ संरचना, कर्मचारी अभाव, भएको कर्मचारीको पनि ६ महिना नबित्दै सरुवा, पूर्वाधारको अभाव लगायतका समस्याका कारण सोचे अनुसार काम गर्न नपाएको बताए ।

‘मुख्यमन्त्री कार्यालयमै अहिले रहेको मुख्य सचिव सातौँ हो’, उनले भने, ‘सबै मन्त्रालयमा त्यस्तै छ । सचिव आउने र यहाँका परिवेश तथा अवस्था बुझ्न नपाउँदै सरुवा गर्ने काम भयो । यसले पनि ठुलो समस्या भयो ।’

प्रहरी ऐन, प्रदेश निजामती ऐन लगायतका कानुनहरू बनाउँदा प्रतिपक्षको सहयोग रहेको उनले बताए । उनले भने, ‘यो पाँच वर्षको अनुभवमा मैले के पाए भन्दा प्रतिपक्षले पनि सहयोग गरेको नै हो ।’

उनले अब सरकारको नेतृत्वमा जो पुगे पनि आफूले भोगेको जस्तो समस्या भोग्न नपर्ने बताए । उनले भने, ‘भौतिक संरचना थिएन । गाडी थिएन । काठमडौँ जाँदा तीनकुनेमा गाडी बिग्रियो । पैदल हिँ ड्नुपर्यो । अब आउने मुख्यमन्त्रीलाई त त्यस्तो समस्या हुँदैन ।’

उनले आवश्यक संरचनाहरु निर्माण गरेको भन्दै अब जो आए पनि आफूले सुरु गरेको काम र स्थापना गरेको कार्यालयहरुले काम पुग्ने विश्वास व्यक्त गरे ।

उनले समाज रुपान्तरण, महिला, दलित, जनजाती, मुस्लिम सबै समुदायका लागि गरेको प्रयासलाई अबको सरकारले निरन्तरता दिनेमा विश्वास व्यक्त गरे ।

‘अंकगणितको आधारमा हामी तेस्रो नम्बरमा छौँ’, उनले भने, ‘अब जसको पनि सरकार बन्छ । समाज रुपान्तरण, दलित र महिलाको अधिकारका लागि, उत्पीडनमा परेकाहरुका लागि जसरी हामी कानून ल्याएका छौँ । त्यसको कार्यान्वण गरोस् ।’

उनले अब सरकारमा जानेरनजाने निर्णय पार्टीले गर्ने पनि बताए । उनले अहिलेको परिस्थितिमा सरकार बनाउने अवसर आयो भने पार्टी पछि नपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *