जातीय मुक्ति समाज मनायो ३५ औँ स्थापना दिवस

दलित समुदायबाट नवनिर्वाचित सांसद तथा स्थानीय प्रतिनिधिलाई सम्मान

काठमाडौँ । नेकपा एमालेको भ्रातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजले आफ्नो ३५ औँ स्थापना दिवस मनाएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा समाजले एक विशेष कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो ।

स्थापना दिवसको अवसर समाजले प्रतिनिधि सभा तथा प्रदेशसभामा विजयी दलित समुदायका तर्फबाट एमालेका १७ जना सांसदहरुलाई सम्मानसमेत गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाल उत्पीडित जातीय मुक्ति समाजले दलित आन्दोलनको नेतृत्व हाँकेको बताए । उनले हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन दलित समुदायका उम्मेदवारलाई प्रत्यक्ष निर्वाचित गराउन सफल भएको समेत उनले बताए । प्रतिनिधि सभामा १ जना र प्रदेश सभामा २ जना

दलित उम्मेदवारलाई प्रत्यक्ष निर्वाचनमा विजयी गराउन सक्नु पार्टीको सफलता भएको उनले बताए । तर, दलित समुदायका प्रतिनिधि जिताएर मात्रै मुक्ति समाजको काम नसकिएको उनले बताए ।

‘राष्ट्रिय आवश्यकताका दृष्टिकोणले हर्ने हो भने हाम्रा लक्ष्य अझै हासिल गरेका छैनौँ,’ उलने भने, ‘मुक्ति समाजले जातीय विभेदबाट मुक्तिका लागि अझै धेरै काम गर्नुपर्ने छ ।’

महासचिव पोखरेलले लक्ष्य प्राप्तीका लागि नेपाल उत्पीडित जातिय मुक्ति समाजले राखेका उद्देश्यलाई ध्यानमा राखेर काम गर्न नवनिर्वाचित जनप्रतिनिधिहरू लाई आह्वान गरे । त्यस्तै, जातीय विभेद र छुवाछुतलाई समग्रमा अन्त्य गर्ने अभियानलाई अघि बढाउन र मुक्ति समाजलाई अझ बलियो बनाउन नवनिर्वाचित जनप्रतिनिधिहरूको महत्वपूर्ण भूमिका हुनुपर्ने उनले बताए ।

कार्यक्रममा गण्डकी प्रदेश सभामा विजयी सांसद सीता सुन्दासले पार्टीले टिकट दिएमा दलित महिलाले पनि जित्न सक्छन् भन्नेकुरा प्रमाणित भइसकेको बताइन् । साथै समाजको ३५ औँ दिवसले छुवाछुत मुक्त राष्ट्रको वकालत गरेको र मानवको बाँच्न पाउने भेदभावरहीत समाजको निर्माण गर्ने बताइन् ।

देशमा भएका जातीय भेदभाव तथा छुवाछुतको अन्त्य गर्नु, राष्ट्रिय नीति निर्माण गर्नु, समानुपातिक समावेशीपूर्ण प्रतिनिधित्वको संवैधानिक अग्राधिकार सुनिश्चित गर्नु समाजको मुख्य उद्देश्य रहेको उनले बताइन् ।

कार्यक्रममा प्रदेश सभा र प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिकतर्फ विजयी १७ सांसद, स्थानीय तहको निर्वाचनमा विजयी प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष्य गरी १२ जना जनप्रतिधिलाई सम्मान गरिएको थियो ।

मुक्ति समाजका अध्यक्ष मनोहर विश्वकर्मा पौडेलको अध्यक्षतामा भएको कार्यक्रमलाई समाजका महासचिव खेम नेपालीले सञ्चालन गरेका थिए ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 12 =