कांग्रेसबाहेक पार्टीमा संसदीय दलको नेता निर्विवाद

काठमाडाैँ । प्रमुख दल कांग्रेसभित्र संसदीय दलको नेताका लागि आधा दर्जन नेताबीच रस्साकस्सी चलिरहेका वेला दोस्रो ठूलो एमालेसहित अन्य दलमा भने सर्वसम्मत चयनको तयारी छ । एमालेसँगै माओवादी, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा र लोसपाले पार्टी नेतृत्वलाई नै संसदीय दलको नेता बनाउन लागेका हुन् ।

एमालेले निर्वाचनमै भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका अध्यक्ष केपी ओली नै सर्वसम्मत संसदीय दलको नेता चयन हुँदै छन् । पार्टीले चुनावअघि नै ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेकाले अब औपचारिक प्रक्रिया पूरा गरेर संसदीय दलको नेता घोषणा गर्न मात्रै बाँकी रहेको नेताहरू बताउँछन् ।

५ पुसमा पार्टी केन्द्रीय कार्यालयको आयोजनामा नवनिर्वाचित सांसदहरूको भेला तथा प्रशिक्षण र बधाई कार्यक्रम सम्पन्न गरेपछि संसदीय दलको नेता चयन गरिने उपमहासचिव तथा प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए । ‘हामी सांसदहरूको भेला सम्पन्न गरेपछि मात्रै दलको नेता चयन गर्छौँ,’ उनले भने ।
एमालेले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेर निर्वाचन लडेका कारण उनी नै दलको नेतामा सर्वसम्मतजस्तै छन् । त्यसलाई दलको बैठकबाट औपचारिकता दिने एमाले तयारी छ । अहिलेसम्म ओलीलाई पार्टीभित्रबाट कसैले पनि चुनौती दिने गरी तयारी गरेका छैनन् ।

संसद् र पार्टीको संसदीय दल क्रियाशील हुनुअघि पार्टीबाट निर्वाचित केन्द्र र प्रदेशका सांसदहरूलाई एमालेले प्रशिक्षण दिने भएको छ । कमलादीमा डाकिएको भेलामा अध्यक्ष ओलीसहित शीर्ष नेताहरूले सांसदहरूलाई प्रशिक्षण दिने कार्यक्रम रहेको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले बताए । एमालेबाट प्रतिनिधिसभामा ७८ र प्रदेश सभामा एक सय ६१ सांसद निर्वाचित छन् ।

माओवादीभित्र पनि प्रधानमन्त्रीको दाबी गरिरहेका अध्यक्ष प्रचण्डलाई नै पार्टीले दलको नेता चयन गर्ने तयारी गरेको छ । उनी सकभर सत्तागठबन्धनबाटै प्रधानमन्त्री बन्ने दौडमा छन् । कांग्रेस सहमत नभए विकल्पमा एमालेसँग मिलेर भए पनि प्रधानमन्त्री बन्ने योजनाअनुसार प्रचण्ड एमाले नेताहरूसँग सम्पर्कमा छन् ।

निर्वाचन आयोगले समानुपातिक सांसदलाई प्रमाणपत्र दिएपछि संसदीय दलको नेता चयन गर्ने माओवादी तयारी छ । केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले माओवादीभित्र दलको नेता चयनमा कुनै विवाद नभएकाले हतारो नगरिएको बताए । ‘आयोगले प्रमाणपत्र वितरण गरोस्, त्यसपछि बैठक बसेर दलको नेता चयन गर्छौँ,’ उनले भने । सत्तारूढ गठबन्धनबाट प्रधानमन्त्रीको दाबी गर्दै आएकाले पनि प्रचण्डलाई चुनौती दिने गरी माओवादीमा कोही पनि दलको नेताका लागि अग्रसर छैनन् । माओवादीका प्रत्यक्षमा १८ र समानुपातिकमा १४ सहित ३२ सांसद निर्वाचित भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि अध्यक्ष रवि लामिछानेलाई संसदीय दलको नेता अगाडि सारेको छ । शुक्रबार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले लामिछानेलाई दलको नेतामा सिफारिस गर्ने निर्णय गरेको महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले बताए । तर, पार्टीले पहिले दलको विधान पारित गरेर संसदीय दलको बैठकमार्फत सिफारिसलाई औपचारिकता दिएपछि मात्र लामिछाने अध्यक्ष चुनिनेछन् ।

प्रवक्ता ढकालको संयोजकत्वमा रास्वपाले दलको विधान निर्माणका लागि कार्यदल गठन गरेको छ । यसअघि संसदीय दलको नेताका लागि भएको प्रारम्भिक निर्वाचनमा लामिछाने निर्वाचित भएका थिए ।

राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई नै सर्वसम्मत संसदीय दलको नेता चयन गर्ने प्रवक्ता मोहन श्रेष्ठले बताए । निर्वाचन आयोगले समानुपातिक सांसदहरूलाई प्रमाणपत्र वितरण गरेलगत्तै यसै साता दलको नेता चुन्नका लागि दलको बैठक बस्ने पनि उनले जानकारी दिए । राप्रपाले दलको नेता चयनका लागि ४ पुसभित्र सबै सांसदलाई काठमाडौं आइसक्न निर्देशन दिएको छ ।

जनता समाजवादी पार्टी (जसपा)ले पनि पार्टीका वरिष्ठ नेता तथा संघीय परिषद् अध्यक्ष अशोक राईलाई नै संसदीय दलको नेता चयन गर्ने सम्भावना रहेको एक नेताले बताए । तर, यस विषयमा अध्यक्ष उपेन्द्र यादवले मुख खोलिसकेका छैनन् । प्रवक्ता मनीष सुमनले समानुपातिकतर्फ सांसदहरूले शपथ लिएपछि दलको बैठक बसेर संसदीय दलको नेता चयन गरिने बताए ।

एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल नै संसदीय दलको नेता हुने तयारीमा छन् । सञ्चारमाध्यमहरूसँगको कुराकानीमा नेपालले पार्टीबाट आफू नै दलको नेता हुने बताउँदै आएका छन् । पोलिटब्युरो सदस्य तथा नवनिर्वाचित सांसद अम्बरबहादुर थापाले पनि नेपाललाई नै पार्टीले संसदीय दलको नेताका रूपमा अगाडि सार्ने सम्भावना रहेको बताए । ‘पार्टीका तर्फबाट अध्यक्षलाई नै सर्वसम्मत दलको नेता चुन्ने सम्भावना छ, तर हामी निर्वाचन आयोगले समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण गरेपछि दलको बैठक बसेर निर्णय गर्छौँ,’ थापाले भने ।

लोकतान्त्रिक समाजवादी पार्टीले पनि पुसको पहिलो साताभित्र दलको नेता चयन गर्ने तयारी गरेको छ । लोसपाबाट अध्यक्ष महन्थ ठाकुरसहित चार सांसद निर्वाचित छन् । उनीसहित सबै सांसद काठमाडौं फर्किएपछि बैठक बसेर दलको नेता चयन गरिने केन्द्रीय कार्यकारिणी सदस्य सुरेन्द्र झाले बताए । लोसपाले पनि अध्यक्ष ठाकुरलाई नै दलको नेता चयन गर्ने बढी सम्भावना छ । –नयाँ पत्रिकाबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *