पालिकामा असल अभ्यास स्थापित गर्न मोरङका उपप्रमुख सक्रिय

विराटनगर । लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको मुद्दामा सबै उपप्रमुखहरूले एक हुने बताएका छन् । विराटनगरमा संवाद समूहले आयोजना गरेको कार्यक्रममा मोरङका उपप्रमुखहरूले लैङ्गिक उत्तरदायी बजेट कार्यान्वयनको लागि अभियानहरू सुरु भइसकेको बताए । उप–प्रमुखले आफ्नो अधिकार र दायित्व भित्र रहेर काम गर्दा पनि कतिपय ठाउँहरूमा समस्या आउने गरेको बताएका छन् । उपप्रमुखहरूले प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको सामूहिक प्रयासले मात्र पालिकाहरूको विकास हुन सक्ने पनि औँल्याएका छन् ।

रंगेलीकी उपप्रमुख भुमा पराजुलीले आफू निर्वाचित भएर आएपछि लैंगिक हिंसा निवारण कोष स्थापना गरेर कार्यान्वयनमा लगेको बताइन् । ‘प्रमुख उपप्रमुखका बिचमा छलफल र समन्वयका आधारमा अघि बढ्ने गरिएको छ, उनले भनिन्, प्रमुख उपप्रमुखका बिचमा हुने समन्वयले काम गर्न सहज बनाउँछ ।’

विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले आफू एक महिना बाहिर हुँदा पनि प्रमुख र उपप्रमुखको बिचमा समन्वय भएर काम भएको सुनाइन् । प्रमुखसँग आएका समस्या उपप्रमुखसँग सल्लाह हुने र उपप्रमुखकामा आएका समस्या प्रमुखसँग सल्लाह गरेर समाधान खोज्ने गरिएको कार्कीको भनाई छ। ‘प्रमुख उपप्रमुखका बिचमा निरन्तर छलफल हुँदा काम गर्न निक्कै सहज भएको छ, उनी भन्छिन्, दुवै मिलेर काम गर्दा अरूले खेल्न पाउँदैन ।’

महानगरपालिकाले न्यायिक समितिसम्मको पहुँच पुर्‍याउन अभियान नै सञ्चालन गर्ने तयारी गरेको छ । ‘महिला, बालबालिका र ज्येष्ठ नागरिकको लागि अभियान चलाएर जाने गरी काम थालिएको छ, उनले भनिन्, न्यायिक समितिलाई अभियानको रूपमा लगिएको छ, अब हरेक वडाबाट समस्यालाई समाधानमा लग्नका लागि अघि बढ्दै छौँ ।’

उनले महानगरपालिकाका कामहरू आमा समूह मार्फत कार्यक्रम गरेर जाने तयारी भइरहेको जानकारी दिइन् । केराबारी गाउँपालिकाका उपाध्यक्ष मनमाया मगरले लक्षित वर्गको लागि धेरै कामहरूको थालनी भएको बताइन् । ज्येष्ठ दीर्घ रोगी आमा बुबाको लागि औषधी निःशुल्क बाँड्ने काम सुरु गरिएको बताइन् । ‘कुन वडामा कति औषधी खाने गरिएको छ, त्यस्ता नागरिक कति छन् भनेर तथ्यांक सङ्कलन गरिएको छ, उनले भनिन्, त्यस्ता नागरिकले औषधीको खोल वा डाक्टरको सिफारिस लिएर आउँदा निःशुल्क औषधी दिने गरिएको छ ।’

धेरै पालिकाहरूले कामको लय सुरु गरिसकिएको भए पनि केही पालिकाहरूमा समस्या रहेको सुनाएका छन् । मोरङको ओहदा, बुढिगंगा, सुनवर्सी, ग्रामथान लगायतको पालिकाहरूमा प्रमुख र उपप्रमुखको बिचमा अधिकारको विषयमा कुरा नमिल्दा लैंगिक उत्तरदायी तथा सामाजिक समावेशीकरणको बजेट कार्यान्वयनमा लय समाउन सकेको छैन ।

निर्वाचित भएर आएका नयाँ प्रमुखहरुले उपप्रमुखको अधिकार समेत आफैले उपभोग गर्ने उपप्रमुखहरुसँग सल्लाह नै नगर्ने गरेको गुनसाहरु आएका छन् । संवादको क्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले महानगर बनाउँछौँ भनेर आएका सबै जनप्रतिनिधि आएकोले सबै मिलेर जानु पर्ने बताए ।

‘सबैजना जननिर्वाचित भएर आएका हौँ, जनताको इच्छा आकांक्षा पुरा गर्नको लागि नमिलेर विकल्प नै छैन, उनले भने, समूहगत रूपमा विराटनगर बनाउने कुरामा सबै एक हुनु पर्छ।’ उनले आफ्ना योजना लागु गर्नका लागि प्रमुख उपप्रमुखलाई झगडा लगाउने प्रयासहरू प्रशस्त हुने गरेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − nine =