सासु–ससुरालाई पनि पक्राउ गर्नुपर्ने भन्दै नेहाले थालिन् सडक आन्दोलन

जनकपुरधाम । घरबाट निकालिएकी नेहा चौधरीले महोत्तरीको रामगोपालपुर चोकमा सडक आन्दोलन थालेकी छन् ।

नेहाको श्रीमानलाई प्रहरीले घरेलु हिंसा र दाईजो विरुद्ध मुद्दामा मंगलवार साँझ पक्राउ गरेर थुनामा राखेको छ । तर नेहाले सासु र ससुरालाई पनि पक्राउ गर्नुपर्ने भन्दै आन्दोलन सुरु गरेकी हुन् ।

अहिले रामगोपालपुर चोकमा यातायात ठप्प पारिएकाे छ । मोटरसाइकलसमेत चल्न दिइएको छैन । नेहाको आन्दोलनमा कुमारी आमा निहारिका राजपुत, विद्यार्थी र महिलाहरुले सहयोग गरेका छन् ।

रामगोपालपुर ५ का पंकज चौधरीसँग गत फागुनमा नेहाको विवाह भएको थियो । पंकज एमविविएस डाक्टर हुन् । नेहाका परिवारले दाइजोमा ५१ लाख नगद र ५० लाख बढीको सुनचाँदीको गहना,फर्निचर लगायतको समान दिएको थियो ।

तर दाइजो नपुगेको भन्दै नेहालाई श्रीमान, सासु र ससुराले यातना दिन थालेका थिए । एक महिनाअघि नेहालाई निर्घात कुटपिट गर्दा उनी अस्पताल भर्ना भएकी थिइन् ।

पंकजले भने अदालतमा डिभोर्स मुद्दा चलाइसकेका छन् । नेहालाई स्वीकार्न तयार नभएपछि उनी पनि अदालतमा घरेलु हिंसा र दाइजो विरुद्ध मुद्दा दर्ता गराइन् । सोही मुद्दामा नेहाका श्रीमान पंकज अहिले थुनामा छन् ।

नेहाले भने सासु र ससुरालाई पनि पक्राउ गरी कारबाही गर्नुपर्ने भन्दै बुधवार रामगोपालपुर चोकमा टायर बालेर यातायात बन्द गराएकी थिइन् । तर प्रहरीले बेलुका ७ बजेसम्म पक्राउ गर्ने आश्वासन दिएपछि उनी आन्दोलन फिर्ता लिइन् ।

प्रहरीले भने अझै नेहाको सासु र ससुरालाई पक्राउ गर्न सकेका छैन । प्रतिवद्धता गरेको समयभित्र पक्राउ नगरेकाले पुनः आन्दोलन गर्नुपरेको नेहाले बताएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *