अब्बल अध्यक्ष इङ्गनाम : जसले सुधारिन् सासु-बुहारीबीचको सम्बन्ध

 बुझाइन् पूर्वाधारकाे भन्दा ज्यादा सामाजिक विकासकाे महत्व 

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–७ की सुनिता ढकालको सानै उमेरमा बिहे हुन खोजेको थियो । आजभन्दा करिब २ वर्षअघि नै उनका परिवारले विवाह गरिदिन लागेका थिए । जनकल्याण माध्यमिक विद्यालय कक्षा ८ मा पढ्दै गरेकी उनलाई १६ वर्षकै उमेरमा विवाह गरिदिन उनको परिवार तयार भएको थियो । उनलाई आफ्नो बिहेको कुरा पटक्कै मन परेको थिएन । अहिले नै विवाह नभए हुन्थ्यो भन्ने चाहन्थिन् । विवाहको दुई दिनअघि राती उनले कानेपोखरी गाउँपालिकाकी उपाध्यक्ष राजमती इङ्गनामलाई फोन गरेर आफ्नो समस्या सुनाइन् । त्यसपछि इङ्गनामले ती छात्राकाे घरमा गई परिवारलाई सम्झाएर बाल विवाह रोक्न सफल भइन् ।

बालिकाका समस्या हरेक दिन केही न केही उपप्रमुख इङ्गनामसामु आइरहे । त्यसको कारण भनेको २०७४ सालमा निर्वाचित भएर आएपछिको छात्रासँग उपाध्यक्ष कार्यक्रम नै हो । बालिका, किशोरी, विद्यालय शिक्षा र विद्यालयमा हुने यौन हिंंसा तथा शारीरिक हिंसाकाका विषयमा बालिकालाई नजिकैबाट बुझ्ने काम यो कार्यक्रमले गर्यो ।

जनसेवा माध्यमिक विद्यालय रमाइलोका प्रधानाध्यापक दामोदर सिग्देल छात्रासँग उपाध्यक्ष कार्यक्रमले बालिकाका समस्यालाई सम्बोधन गरेको बताउँछन् । कुनै पनि पालिकाले सुरु नगरेको यो कार्यक्रम बालिकामाथि हुने यौन हिंसा निवारणमा सफल भएको उनको अनुभव छ ।

विद्यालयमा बालिकामाथि हुने दुर्व्यवहार, विद्यालय शिक्षा सुधार, लैंगिक हिंसा न्यूनीकरणका लागि २०७६ सालमा छात्रासँग उपाध्यक्ष कार्यक्रम शुरु भयो । विशेषगरी किशोरी छात्रा लक्षित कार्यक्रम प्रभावकारी बनाउनको लागि कार्यविधि बनाएको छ ।

उपाध्यक्षको नेतृत्वमा एकजना महिला फोकल कर्मचारीलाई लिएर महिनामा एक पटक एउटा विद्यालयमा अनिवार्य पुग्ने योजनासहितको किशोरी विद्यार्थी केन्द्रित छलफल र विद्यालयको समस्याको बारेमा जानकारी लिन गोप्य छलफल गर्न इङ्गनाम आफैँ पुग्छिन् ।

मोरङको कानेपोखरी गाउँपालिकाको उपप्रमुखमा २०७४ सालमा निर्वाचित भएकी राजकुमारी इङ्गनाम अहिले प्रमुखको भूमिकामा छिन् । मोरङ जिल्लामा प्रमुखमा जित्ने उनी एक मात्र महिला प्रमुख हुन् । ५ वर्ष पहिला र अहिले धेरै फरक देखिएको छ । ५ वर्ष पहिला उनले उपप्रमुखमा जे समस्याहरु देखेकी थिइन् त्यसको समस्या समाधान गर्नको लागि उनी अहिले प्रमुख भएर आएपछि महत्त्वपूर्ण योजनाहरू अघि सारेकी छिन् । हिजोको कार्यक्रमलाई निरन्तरता दिनका लागि उपाध्यक्षसँगको छात्रा कार्यक्रमको कार्यविधि परिवर्तन गरेर यो कार्यक्रमलाई फराकिलो बनाइएको गाउँपालिकाका उपाध्यक्ष भोलाप्रसाद अधिकारी बताउँछन् । विद्यालयमा हुने यौन हिंसा, विद्यालयको पठन पाठन, शिक्षकले गर्ने व्यवहार, सानैमा हुने विवाह रोकथाम, विद्यालयबाट घर आउजाउका समस्या समाधानको लागि यो कार्यक्रम प्रभावकारी देखियो ।

बालिका र किशोरी लक्षित अभियानमा सफल भएकी इङ्गनाम स्थानीय तहको निर्वाचनबाट अध्यक्षमा निर्वाचित भएर आएपछि सासु बुहारीको सम्बन्ध जोड्ने काममा लागेकी छिन् ।

२०७४ सालमा निर्वाचित भएर आएदेखि न्यायिक समितिमा सासु–बुहारी र श्रीमान्–श्रीमतीका समस्याहरु धेरै आए । उनी कसरी समस्या निराकरण गर्न सकिएला भन्नेमा थिइन् ।

सासु बुहारी बिचको सम्बन्धलाई आमा छोरीको जस्तो गाढा सम्बन्ध कसरी बनाउने भन्ने उनलाई लागि रह्यो । यो विषय कसरी लग्ने भन्ने बारेमा धेरै क्षेत्रसँग छलफल गरिन् उपाध्यक्ष भएकै कारण निर्णय हुन नसकेकोमा जब उनी अध्यक्षमा निर्वाचित भएर आइन् अनि मात्र आफू अनुकुलका कार्यक्रम कार्यान्वयनमा लग्ने वातावरण बन्यो । सासु–बुहारीको सम्बन्ध आमा छोरीको जस्तो बनाउन ‘सासुको इच्छा–बुहारीलाई शिक्षा’ कार्यक्रमको लागि नीति बनाइन् । त्यसैको आधारमा उनले यसै वर्षदेखि ५ लाख बजेट विनियोजन गरेर बुहारी पढाउने सासुको खोजी गर्न थालिएको हो । पालिकाले सुरु गरेको यो कार्यक्रममा बुहारीलाई उच्च शिक्षा दिन कानेपोखरी गाउँपालिकाको भौसाबारीको रमाइलो बहुमुखी क्याम्पसमा भर्ना गर्न सासु आफैँ पुग्नु पर्छ ।

आदिवासी जनजातिको बाहुल्य यो पालिकामा आर्थिक अवस्था कमजोर रहेकै कारण क्याम्पस छाड्ने दरलाई रोक्न पनि बुहारी पढाउने कार्यक्रम प्रभावकारी भएको रमाइलो बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख गंगाकुमार यादवले बताए ।

‘क्याम्पस पढ्न आउने पालिकाभित्रका सबै बुहारीलाई निःशुल्क पढ्ने व्यवस्था पालिकाले मिलाएको छ, उनले भने, अहिले पालिकाले चलाएको यो अभियान निक्कै प्रभावकारी भएको छ ।’

यो अभियानमा पालिकाका सबै जनप्रतिनिधिको साथ रहेको वडा नम्बर ५ का वडा अध्यक्ष चरण गुरुङले जानकारी दिए ।

‘हामीले चालु आर्थिक वर्षको बजेटबाट यो कार्यक्रम कार्यान्वयनमा लगेका छौँ, वडा अध्यक्ष गुरुङ भन्छन्, आर्थिक अवस्था कमजोर रहेका र उच्च शिक्षा पढ्न नपाएका बुहारीलाई पढ्ने वातावरण बनाइएको छ ।’

मेरो बुहारीले उच्च शिक्षा हासिल गर्नुपर्छ, बुहारीलाई पढाउनु पर्छ भनेर नियमित क्याम्पस पठाई उत्प्रेरित गर्ने सासुलाई सम्मान गर्ने नीति पालिकाले लिएको छ। क्याम्पसमा नै पुगेर भर्ना गराउने बुहारीलाई पालिकाले निःशुल्क पढाउने व्यवस्था मिलाइएको छ। पालिकाले स्नातकसम्म पढाउन लाग्ने भर्ना र क्याम्पसको शुल्क तिरिदिन्छ । बुहारी पढाउने कुराले मात्र सासु बुहारीको सम्बन्ध सुधार हुन नसक्ने भएपछि बुहारी पढाउन सहयोग गर्ने सासुलाई नगदसहित सम्मान गर्ने तथा सासुको रेखदेख, हेरचाह र असल सम्बन्ध स्थापित गर्ने बुहारीलाई पनि नगदसहित सम्मान गर्ने कार्यक्रम यसैवर्षदेखि सुरु भएको छ। यो कार्यक्रमबाट पालिकाभित्र रहेका ६० जना बुहारी उच्च शिक्षाको लागि विद्यालय भर्ना हुने आशा गरिएको पालिकाका प्रमुख इङ्गनामले बताइन् ।

पालिकाले महिला प्रमुख पाएपछि भौतिक पूर्वाधारमा भन्दा पनि सामाजिक क्षेत्रमा धेरै बजेट आएको छ । वडाका बजेट सिलिङ घटाएर पालिकाले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम अघि बढाएको छ । पहिलो कुरा दलहरुले महिलालाई विश्वास नै नगर्ने परिपाटीको विकास भएको हाम्रो समाजमा राम्रा काम गरेर देखाउने महिला जनप्रतिनिधि खोज्ने हो भने प्रशस्तै छन् । जसले आफ्नो कार्यकालमा गरेका साना कामहरू पनि समाज रूपान्तरणको लागि अन्य पालिकाका लागि पनि महत्त्वपूर्ण सिकाई बनेका छन् ।

सडक, पुल, नाली निर्माण, ग्राभेल बिछ्याउने र कालोपत्रे गर्नुलाई मात्र विकास देख्नेहरूलाई सामाजिक क्षेत्रको विकास पनि विकास हो है भनेर सिकाउने कामको नेतृत्व इङ्गनामले लिएकी छिन् । उनको काम गराई अरू पालिकाको लागि पनि सिकाई हुनसक्छ । पालिकाले कानेपोखरीको खिर प्रवर्द्धन, आमाको सिप सन्तानलाई, आफ्नै बारीमा अर्ग्यानिक खेती, महिलाका लागि टपरी, अर्ग्यानिक गुन्द्रुक उत्पादन र बजारीकरणलाई रोजगारीसँग जोडेर कार्यक्रम बनाएको छ।

त्यस्तै विद्यालय बिमा कार्यक्रम, निःशुल्क शिक्षा, घर घरमा बडापत्र कार्यक्रमले सबैलाई जोड्ने कार्यक्रमलाई सबैले राम्रो मानेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *