ब्राजिलका प्रशिक्षक टिटेले दिए राजीनामा

काठमाडौँ । कतार विश्वकप २०२२ को क्वार्टरफाइनलमा क्रोएसियासँग पराजित भएपछि ब्राजिलका मुख्य प्रशिक्षक टिटेले राजीनामा दिएका छन्।

शुक्रबार राति भएको खेलमा ब्राजिल क्रोएसियासँग पेनाल्टी सुटआउटमा ४-२ ले पराजित भएको थियो।

ब्राजिलको हारसँगै प्रशिक्षक टिटेले ६ वर्षे राष्ट्रिय टोलीको यात्राबाट राजीनामा दिँदै बिदा लिएका हुन्।

राजीनामा दिँदै टिटे भन्छन्, यो एउटा चक्र हो यो चक्र समाप्त भयो, मैले डेढ वर्ष पहिला नै भनेको थिए र म मेरो वचनमा पक्का छु। मलाई प्रतिस्थापन गर्न सक्ने अन्य व्यावसायिक प्रशिक्षक छन्। मेरो चक्र सकियो।

यसअघि २०१८ को विश्वकपमा ब्राजिल बेल्जियमसँग २–१ ले पराजित हुँदै अन्तिम ८ बाट बाहिरिएको थियो। विश्वकपको सुरुवातदेखि नै हरेक संस्करणमा सहभागिता जनाउने ब्राजिल एक्लो टोली हो।

६१ वर्षीय टिटेले २०१९ को कोपा अमेरिका जिताएका थिए। सन् २०१८ र २०२२ को विश्वकपमा उनको प्रशिक्षणमा ब्राजिलले अन्तिम ८ सम्मको यात्रा तय गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *