विश्वकप फुटबल २०२२

नेदरल्यान्ड्सलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

काठमाडौँ । नेदरल्याण्ड्सलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउमा ४–३ ले पराजित गर्दै अर्जेन्टिना ८ वर्षपछि सेमिफाइनलमा पुगेको हो।

२०१४ मा नेदरल्याण्ड्सलाई सेमिफाइनलमा पराजित गर्दै अर्जेन्टिना फाइनलमा पुगेको थियो। ८ वर्षपछि विश्वकपमा फर्किएको नेदरल्याण्डसलाई पुनः बिदा गरेको हो।
खेलको सुरुवातमा अर्जेन्टिनाले २–० को अग्रता लिए पनि त्यसलाई बचाउन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा थप गोल हुन नसकेपछि पेनाल्टी सुटआउटबाट निर्णय लिइएको हो।

त्यसअघि अर्जेन्टिनाले कप्तान लियोनल मेस्सी र नहुएल मोलिनाको गोलमा अग्रता लिएको थियो। पहिलो हाफमा मोलिनाको गोलमा अग्रता लिएको अर्जेन्टिनाका लागि मेस्सीले ७३ औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारेका थिए।

तर अन्तिम समयमा नेदरल्याण्ड्सका ओउट वेग्होस्र्टले दुई गोल गर्दै नेदरल्याण्डसलाई खेलमा फर्काए। त्यसपछि खेल लम्बिएको थियो।
अर्जेन्टिनासँग पराजित हुँदै नेदरल्याण्ड्स भने क्वार्टरफाइनलबाटै घर फर्किएको छ।

यसअघि सन् २०१४ को सेमिफाइनलमा अर्जेन्टिनासँग पेनाल्टीमा ४–२ ले पराजित हुँदै डच टोली उपाधिबाट टाढिएको थियो।

यसअघि सन् २०१८ मा छनोट नै हुन नसकेको नेदरल्याण्ड्स २०१४ मा भने तेस्रो भएको थियो। सो खेलमा ब्राजिलसँग ३–० ले पराजित हुँदै डच टोली बाहिरिएको थियो। २०१० को उपविजेता टोली २०१६ मा भने नकआउट चरणबाटै बाहिरिएको थियो।

विश्वकपमा उतारचढावपूर्ण यात्रा गरेको नेदरल्याण्ड्स २००२ मा भने छनोट नै हुन सकेन। १९९८ मा चौथो भएको डच टोली १९९४ मा क्वार्टरफाइनलबाटै बाहिरिएको थियो। १९७४ र १९७८ को उपविजेता टोली १९३४ र ३८ मा भने नकआउट चरणबाटै बाहिरिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *