फेदीखोला गाउँपालिका अध्यक्षको कार्यकक्षमा तालाबन्दी

पोखरा । स्याङजाको फेदीखोला गाउँपालिका अध्यक्षको कार्यकक्षमा तालाबन्दी भएको छ । अध्यक्षले एकल निर्णय गरेर अनियमितता गरेको भन्दै वडाध्यक्षसहित कार्यपालिका सदस्यहरुले अध्यक्ष घनश्याम सुवेदीको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

उनीहरुले ११ बुँदे माग सहित तालाबन्दी गरेका वडा नम्बर १ का अध्यक्ष अमृत क्षेत्रीले जानकारी दिए । महिलाको १ पटक कार्यपालिका बैठक राख्नुपर्ने निर्णय लत्याएर अध्यक्षले एकल निर्णय गरेको उनीहरुको आरोप छ ।

कर्मचारी सरुवामा वडाध्यक्षहरुसंग समन्वय नभएको, लेखासमिति गठन नगरि मनपरी खर्च गरेको, गाउँपालिकाको काममा प्रयोग गर्नुपर्ने सवारी साधन निजी काममा प्रयोग गरेको, शिक्षा समितिलाई पूर्णता नदिइ शिक्षक सरुवामा अनियमितता गरेको लगायतका आरोप उनीहरुले लगाएका छन् ।

सुवेदीले भदौ १ गतेपछि कार्यपालिकाको बैठक नबोलाएको क्षेत्रीले बताए । पालिकाका गतिविधि माग गर्दा प्रमुख प्रशासकीय अधिकृतले सूचना नदिएको उनले सुनाए । बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा फेदीखोलामा पालिका अध्यक्ष र उपाध्यक्ष एमालेले जितेको छ भने कार्यपालिका नेपाली कांग्रेसले जितेको छ । कार्यपालिकामा अध्यक्ष अल्पमतमा रहेकाले सुवेदीले एकल निर्णय गर्दै आएको आरोप उनीमाथी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *