प्रधानन्यायाधीश जबरामाथिको महाअभियोग निष्क्रिय, आजै सर्वोच्च फर्किने तयारी

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय भएको छ । संसद सचिवायलका महासचिव डा. भरतराज गौतमले जबरालाई महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र पठाएका हुन् । योसँगै जबराको निलम्बन फुकुवा भएको छ । निलम्बन फुकुवा भएपछि उनी आजै सर्वोच्च अदालत फर्किने तयारीमा छन् ।

आफ्नो निलम्बन फुकुवा गर्न उनले मंगलबार संसद सचिवालयमा निवेदन दिएका थिए । जबराको पत्रको जवाफमा संसद सचिवालयका महासचिव गौतमले बुधबार राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, संवैधानिक परिषद, सर्वोच्च अदालत, न्यायपरिषद र जबरालाई पत्र पठाएर यसअघि जबरालाई निलम्बन गरिएको पत्र निष्प्रभावि भएको जानकारी गराएका हुन् ।

संसदले १ फागुन २०७८ मा जबराले कार्य सम्पादन गर्न नपाउने भनी पत्र पठाएपछि जबरा निलम्बनमा परेका थिए । त्यसको झण्डै १० महिनामा लिम्बन फुकुवा भएको हो । त्यसताका तत्कालिन सत्तारुढ दलका ९५ सांसदले हस्ताक्षरसहित जबराविरुद्ध महाअभियाग प्रस्ताव २०७८ फागुन १ गते संसद सचिवालयमा दर्ता गराएका थिए । महाअभियोग प्रस्ताव दर्ता भएपछि सचिवालयले पत्र पठाएर जबरालाई निलम्बन गरेको थियो । उनको निलम्बनपछि कार्यबाहक प्रधानन्यायाधीशका रुपमा दीपककुमार कार्कीले कार्यभार सम्हालेका थिए । कार्कीको अवकाशपछि भने कामु प्रधानन्यायाधीशको जिम्मेवारी हरिकृष्ण कार्कीले सम्हालेका छन् ।

निलम्बन फुकुवा गर्दै बुधबार संसद सचिवालयका महासचिव गौतमले पठाएको पत्रमा भनिएको छ– ‘महाअभियोग प्रस्ताव तत्कालीन प्रतिनिधि सभामा पेश, प्रारम्भिक छलफल र महाअभियोग सिफारिस समितिबाट प्रतिवेदन बुझाइएको तर तत्पश्चातको प्रक्रिया अगाडि नबढेको अवस्थामा २०७९ मंसिरमा नयाँ प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भइसकेकाले २०७८ फागुन १ मा तत्कालीन समयमा महासचिवबाट सम्माननीय प्रधानन्यायाधीश श्री चोलेन्द्र शम्शेर जबराले कार्य सम्पादन गर्न नपाउने भन्ने व्यहोराको पत्र समेत निष्प्रभावी भएको व्यहोरा जानकारीका लागि अनुरोध गर्दछु ।’

यस्ताे छ पत्र 

यस्ताे थियाे मंगलबार सचिवालयसमक्ष चाेलेन्द्रले पठाएकाे पत्र

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *