बतास फाउन्डेसनकाे पहलमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अक्सिजन प्लान्ट हस्तान्तरण

काठमाडाैँ । बतास अर्गनाईजेसनअन्तर्गतको गैरनाफामूलक परोपकारी संस्था बतास फाउन्डेसनको पहल र अगुवाइमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान) लाई अक्सिजन प्लान्ट हस्तान्तरण गरिएको छ । गण्डकी प्रदेशकै ठुलो सरकारी अस्पतालमा हस्तान्तरण गरिएको उक्त प्लान्टले दैनिक १ सय ५० सिलिन्डर अक्सिजन उत्पादन गर्न सक्छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालद्वारा आवश्यक पूर्वाधार निर्माण भएपश्चात उक्त प्लान्ट जडान गरिने फाउन्डेशनले जनाएकाे छ ।

अक्सिजन अभावका कारण कोभिड महामारीमा सङ्क्रमितले उपचार पाउन नसकेको अवश्थामा बतास फाउन्डेसनले गत वर्षको सुरुवाती महिनामा उच्च क्षमताको अत्याधुनिक अक्सिजन प्लान्ट स्थापनाका लागि रकम सङ्कलन महाअभियान सुरु गरेको थियो । बतास फाउन्डेसन र बतास अर्गनाइजेसनबाट गरी कुल रु. ५५ लाख रुपैयाँ बीउ पुँजी राखेर ‘रु. १०० दान गरौँ, महामारीमा प्राण राखौँ’ भन्ने नाराका साथ चलाइएको अभियान अन्तर्गत कर्पोरेट हाउसहरू र पोखरेली जनसमुदायको सहभागिता मार्फत ३ कराेड ४५ लाख १७ हजार ५५५ रुपैयाँ सङ्कलन भएको थियो ।

निर्धारित समयभन्दा निकै ढिलो मात्र प्लान्ट हस्तान्तरण गर्न सकेकोमा भन्दै भाउन्डेशनले क्षमासमेत मागेकाे छ ।

उक्त अभियानका लागि सहयोग रकम जुटाउने तथा प्लान्ट स्थापनासम्बन्धी कार्य अघि बढाउने लक्ष्यसहित गठित तदर्थ समितिको संरक्षकमा पोखरा महानगरपालिकाका तत्कालीन मेयर मानबहादुर जिसी रहेका थिए । त्यस्तै, संयोजकमा बतास अर्गनाइजेसन तथा फाउन्डेसनका अध्यक्ष आनन्दराज बतास, कोषाध्यक्षमा अटोवेज प्रालिका अध्यक्ष नारायण पौडेल तथा सदस्यहरुमा केसी ग्रुपका किरण केसी, पोखरा उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष विश्व पालिखे, एभरेष्ट एफएमका प्रबन्ध सञ्चालक दीपेन्द्र श्रेष्ठ, सुपरमादी हाइड्रो प्रालिका अध्यक्ष पुष्पज्योति ढुङ्गाना तथा सेलवेज डिपार्टमेन्टल प्रालिका अध्यक्ष सुशीलमान प्रधानाङ्ग रहेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *