प्रतिनिधिसभामा १२ दल : कसको कति सिट ?

काठमाडौँ । प्रतिनिधिसभामा १२ दलले सहभागि हुने भएका छन् । मंगलबार सकिएको मतगणनाअनुसार प्रत्यक्षमा न्यूनतम एक सिट र समानुपातिक तीन प्रतिशत मत ल्याएका सात दल राष्ट्रिय पार्टी बनेका छन् । कांग्रेस प्रत्यक्षमा ५७ र समानुपातिकमा ३२ गरी ८९ सिटसहित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल भएको छ ।

एमाले प्रत्यक्षमा ४४ र समानुपातिकमा ३४ गरी ७८ सिटमा खुम्चिएर दोस्रो दल बनेको छ । समानुपातिकमा १ करोड ५ लाख ६० हजार ६७ मत सदर भएकामा सबैभन्दा बढी एमालेले २८ लाख ४५ हजार ६ सय ४१ मत पाएको छ । कांग्रेसको २७ लाख १५ हजार २ सय २५ मत छ । प्रत्यक्षमा १८ सिट जितेको माओवादीले समानुपातिकबाट १४ सिट थपेर ३२ सिट पुर्‍याएको छ । समानुपातिकमा माओवादीले ११ लाख ७५ हजार ६ सय ८४ मत ल्याएको छ ।

पहिलो पटक निर्वाचनमा भाग लिएर राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले प्रत्यक्षमा ७ सिट जितेको छ । समानुपातिकमा ११ लाख ३० हजार ३ सय ४४ मत ल्याएर १३ सिट थप्दै उसले कुल सिट संख्या २० पुर्‍याएको छ ।

राप्रपा प्रत्यक्षमा ७ र समानुपातिकमा ७ सहित १४ सिट जित्दै पाँचौं ठूलो दल भएको छ । पाँच वर्षअघिको निर्वाचनमा प्रत्यक्षमा एक सिट मात्र जितेको राप्रपाले यसपालिको निर्वाचनमा उल्लेख्य सुधार गरेको हो । उसले समानुपातिकमा ५ लाख ८८ हजार ८ सय ४९ मत ल्याएको छ ।

प्रतिनिधिसभामा जनता समाजवादी पार्टीका १२ सांसद हुने भएका छन् । उसका ७ जना प्रत्यक्षबाट निर्वाचित भएका हुन् भने समानुपातिकबाट ५ जना चुनिने निश्चित भएको छ ।

प्रत्यक्षमा १ सिट जितेको जनमत पार्टीले समानुपातिकमा ३ लाख ९४ हजार ६ सय ५५ मत ल्याएर ५ सिट थपेको छ । सीके राउत नेतृत्वको जनमत पार्टी पनि पहिलो पटक प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी भएको हो ।

प्रत्यक्षमा १० सिट जितेको एकीकृत समाजवादी पार्टीले तीन प्रतिशतको थ्रेसहोल्ड नकटाउँदा समानुपातिक सिट पाउन सकेन । राष्ट्रिय पार्टी बन्न नसके पनि १० सिट रहेकाले एकीकृत समाजवादीले प्रमुख सचेतकसमेत राख्न पाउनेछ ।

लोकतान्त्रिक समाजवादी पार्टी ४, नागरिक उन्मुक्ति पार्टी ३, नेपाल मजदुर किसान पार्टी र जनमोर्चा प्रत्यक्षमा १र१ सिट जिते पनि समानुपातिकमा थ्रेसहोल्ड कटाउन नसकेर राष्ट्रिय पार्टी बनेनन् । राष्ट्रिय पार्टीको मान्यता नपाए पनि साना दललाई संसद् सचिवालयले कार्यालय उपलब्ध गराउनुपर्ने हुन्छ ।

प्रतिनिधिसभामा कुनै पनि दलको एकल बहुमत पुगेको छैन नै, पाँचदलीय सत्ता गठबन्धनलाई पनि बहुमतका लागि दुई सिट कम भएको छ । बहुमतका लागि १ सय ३८ सिट चाहिनेमा गठबन्धनको १ सय ३६ सिट मात्र पुगेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *