जापानलाई हराउँदै क्रोएसिया क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । क्रोएसिया कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

अल जानुब स्टेडियममा सोमबार राति भएको खेलमा जापानलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले हराउँदै क्रोएसिया अन्तिम आठमा पुगेको हो।

रोमान्चक प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो।

पेनाल्टीमा गोलकिपर डोमिनिक लिभाकोभिच चम्किएपछि क्रोएसियाले बाजी मार्न सफल भयो।

क्रोएसियाका निकोला भ्लासिच, मारियो पासालीच र मार्सेलो ब्रोजोभिचले पेनाल्टीमा गोल गरे । मार्को लिभाजा भने पेनाल्टीमा चुके।

जापानका ताकुमा असानोले गोल गर्दा ताकुमी मिनामिनो, माया योशिदा र कोरु मितोमाले गोल गर्न सकेनन् । तीनै जनाको पेनाल्टी प्रहार क्रोएसियाका गोलकिपर डोमिनिकले बचाए।

खेलमा सुरुआती अग्रता भने जापानले बनाएको थियो। खेलको ४३ औं मिनेटमा डाईजेन माएडाले गोल गर्दै जापानलाई १-० को अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा क्रोएसिया खेलमा फर्किएको थियो।

खेलको ५५ औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई १-१ गोलको बराबरीमा ल्याएका थिए। उनले डेजोन लेभ्रोनको पासमा हेडमार्फत उत्कृष्ट गोल गरेका थिए।

समूह चरणमा दुई विश्व विजेतालाई हराउँदै जापान नकआउट चरणमा पुगेको थियो। पहिलो खेलमा जर्मनीलाई २–१ ले पराजित गरेको जापानले दोस्रो खेलमा स्पेनलाई २–१ ले नै पराजित गरेको थियो।

त्यस्तै, अर्को एसियन देश दक्षिण कोरियाले आजै राति ब्राजिलसँग प्रतिस्पर्धा गर्दै छ। क्रोएसियाले यो खेलको विजेतासँग सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *