ब्राजिललाई झट्का, जिसस र टेलेस विश्वकपबाट बाहिरिए

काठमाडौँ । जारी विश्वकपमा नेइमार घाइते भएर अप्ठ्यारोमा रहेको ब्राजिललाई अर्को धक्का लागेको छ । ब्राजिलका आर्सनलबाट खेल्ने स्ट्राइकर गाब्रियल जिसस घाइते भएपछि विश्वकपका बाँकी खेल खेल्न नसक्ने भएका छन् ।

जिससको घुँडामा चोट लागेको मिडिया रिपोर्टमा बताइएको छ । उनलाई ठिक हुन कम्तीमा एक महिना लाग्ने बताइएको छ । ब्राजिलका अर्का लेफ्ट ब्याक एलेक्स टेल्लेसलाई पनि घुँडाको समस्या भएको र उनी पनि विश्वकपका बाँकी खेल खेल्न नसक्ने बताइएको छ ।

शुक्रबार राति समूह चरणको अन्तिम खेलमा ब्राजिल क्यामरुनसँग १–० ले पराजित भएको थियो । उक्त खेलमा यी दुवै खेलाडीको दाहिने घुँडामा चोट लागेको थियो । शनिबार बिहान जिसस र टेलेसको एमआरआई स्क्यान गरिएको थियो । ब्राजिल फुटबल संघले कतारमा जारी विश्वकपमा जिसस र टेलेस दुवैले प्रतियोगिताका बाँकी खेल खेल्न ‘असम्भव’ भएको जनाएको छ ।

प्रतियोगितामा उपाधि दाबेदार मानिएको ब्राजिलले आउँदो सोमबार राति अन्तिम–१६ मा दक्षिण कोरियाविरुद्ध खेल्नेछ । यसअघि विश्वकपको पहिलो खेलमा घाइते भएका नेइमार भने प्रशिक्षणका लागि मैदानमा फर्किने तयारीमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *