रवि, रञ्जिता र सिकेलाई सिंहदरबारमा कार्यालय खोज्दै संसद् सचिवालय

काठमाडौँ । संघीय संसद् सचिवालय चुनावबाट उदाएका नयाँ दलका लागि सिंहदरबारमा कार्यालयमा खोज्नमा केन्द्रीत भएको छ ।

संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार सिंहदरबार भित्र रहेका विभिन्न भवनहरू हेरिएको छ । उनका अनुसार हेलो सरकार बस्दै आएको भवन, रक्षा मन्त्रालयको फ्लोर, पुरानो गृह मन्त्रालय रहेको भवनलाई विकल्पमा रूपमा लिइएको छ ।

संघीय संसद् सचिवालयले चुनावबाट उदाएका रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), सिके राउत नेतृत्वको जनमत पार्टी, रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा)का लागि कार्यालय खोजेको हो ।

अघिल्लो संसदमा राप्रपाको जम्मा एक सिट थियो । यस पटक प्रत्यक्षमै ७ सिट जितेको छ । समानुपातिक तर्फबाट समेत गर्दा यस पार्टीले थप ७ सांसद पाउन सक्छ । यस कारण यस पटक राप्रपालाई नयाँ संसदीय दलको कार्यालय नै उपलब्ध गराउनुपर्ने हुन्छ ।

संसद् सचिवालयका अनुसार नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई पहिलेकै संसदीय दलको कार्यालय प्रयोग गर्न दिइनेछ । कुनै दलबाट एक जना सांसद मात्रै निर्वाचित भएको भए पनि एउटा कोठा दिने अध्यास छ । स्वतन्त्र सांसदले पनि माग गर्दा सिंहदरबारका कार्यालय पाउने अभ्यास छ । यस अनुसार जनमोर्चाकी दुर्गा पौडेल बस्दै आएको कोठा यस पटक र राजमोबाट निर्वाचित चित्र बहादुर केसीलाई प्रयोग गर्न दिने, नेमकिपाका प्रेम सुवाललाई पुरानै कोठा प्रयोग गर्न दिने तयारी छ ।

यस पटक स्वतन्त्र रूपमा ७ जना निर्वाचित भएका छन् । उनीहरूले पनि माग गरेको खण्डमा कम्तीमा एउटा कोठा दिइने र यस्तो अभ्यास रहेको प्रवक्ता पाण्डे बताउँछन् ।

पाण्डेका अनुसार तीन वटा नयाँ दल र स्वतन्त्रहरू समेतलाई मध्यनजर गरेर हल सहितका १६ वटा कोठा आवश्यक रहेको भनी मुख्य सचिवलाई पत्राचार गरिएको छ ।

निर्वाचन आयोगले चुनावको अन्तिम नतिजा आएपछि कुन कुन दल आए भनेर पठाउने भए पनि आइसकेपछि कार्यालयको समस्या नपरोस् भनेर सचिवालयले अग्रिम तयारी गरेको हो । प्रवक्ता पाण्डे भन्छन्, ‘चुनावको अन्तिम नतिजा नआआए पनि कुन कुन दल नयाँ आउँछन भन्ने आङ्कलन भएको छ । त्यस अनुसार कार्यालयका लागि भवन खोजिएको हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *