जसलाई हराउन तीन पटकसम्म लडिन् भगवती

काठमाडौँ । एक पटकको लडाइँमा होइन, दुई पटकको लडाइँमा होइन, तीन पटकको लडाइँमा भगवती चौधरीले बल्ल विजयकुमार गच्छदारलाई हराएकी छन् ।

सुनसरी क्षेत्र नम्बर ३ मा एमालेकी भगवती चौधरीले जित्ने निश्चित जस्तो भइसकेको छ, तर फाइनल नतिजा आइसकेको छैन । यतिबेला गणना कार्य निरन्तर चलिरहेको छ ।
सुनसरी ३ मा ९२ हजार ५ सय मत खसेको छ । ८४ हजार दुई सय १८ मत गणना भइसकेको छ। हालसम्मको नतिजाअनुसार भगवतीले ३७ हजार ४२० मत ल्याएर लगातार अग्रता हासिल गरिरहेकी छन् । गच्छदारले ३२ हजार एक सय १ मत ल्याएका छन्।

एमालेका नेता भगवती चौधरीले तेस्रो पटक चुनावी लडाइँमा बल्ल हराउन सफल भएकी हुन् । यसअघिका दुई निर्वाचनमा कांग्रेस नेता गच्छदारले हराएकी थिइन् । । दोस्रो संविधानसभा निर्वाचन २०७० र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा गच्छदारले अन्त्यन्तै झिनो मतले हराउँदै आएका थिए । दुई पटकका निर्वाचनमा गच्छदारले धाँधली गरेर भगवतीलाई हराएको एमालेको आरोप थियो ।

२०७० को दोस्रो संविधानसभाको निर्वाचनमा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) बाट गच्छदारले भगवतीलाई हराएका थिए । पटकपटक मन्त्री र उपप्रधानमन्त्री भएका गच्छदार त्यो बेला फोरम लोकतान्त्रिकका अध्यक्षसमेत थिए । गच्छदारले त्यो बेलामा भगवतीलाई ३६२ मतको अन्तरले हराएका थिए ।

२०७४ को चुनावमा पनि गच्छदार र भगवती नै आमनेसामने भए । भगवती बदला लिने सुरले गच्छदारसँग लडिन् । गच्छदार २०७० जसरी २०७४ मा पनि पराजयको स्वाद चखाउने दाउमा अघि बढे । अन्ततः गच्छदारले जित निकाले ।

२०७० मा जम्मा ३६२ मतले हारेकी भगवती २०७४ मा ३२१ मतले गच्छदारसँग हारिन् । अहिले भारी अन्तरले भगवतीले जित्ने देखिएको छ ।

तेस्रो पटकको प्रतिस्पर्धामा आइपुग्दा बागमतीमा धेरै पानी बगिसकेको थियो । भगवती चौधरीले राजनीतिक रुपमा उचाइ बढाइरहेकी थिइन् भने गच्छदार भ्रष्टाचर मुुद्दामा परेका कारण उनको कद घटिरहेको थियो । यही फाइदा उठाउँदै भगवतीले यसपटक चुनाव जित्ने पक्का भएको छ । २०७४ सालमा चौधरीलाई सहयोग गरेको नेकपा माओवादी केन्द्रले यो पटक गच्छदारलाई सहयोेग गरेको थियो, तर पनि राजनीतिक उचाइ बढाएकी भगवतीले जसरी पनि जित निकालिन् ।

गच्छदारसँग पहिलो पटक प्रतिस्पर्धा गर्दा भगवती चौधरी एमालेको जिल्ला स्तरको सामान्य नेता थिइन् । उनले पछिल्लो समय राजनीतिक कद बढाएर केन्द्रीय सदस्यमा पुगेकी । गच्छादारको राजनीति कद घटेको छ । उनी कांग्रेसको १४ औं महाधिवेशनमा उपसभापतिमा चिप्लिए ।

हुन त चौधरी चुनावी लडाइँको अनुभवी हुन् । यसपटकको चुनावी लडाइँ उनको सातौं पटकको हो । यस पटक चुनावमा गच्छदार लड्दै गर्दा आरोपको पुलिन्दाले ढाकिएका थिए । उनलाई बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको मुद्दामा भ्रष्टाचार गरेको आरोप लागेको छ । यही आरोपको खण्डन गर्दै जनतासमक्ष न्यायको माग गर्दै चुनाव लडेका थिए, तर जनताले हराइदिए ।

केही समय भूमिगत भएका गच्छदार शेरबहादुर देउवा प्रधानमन्त्री भएलगतै विशेष अदालतमा हाजिर भएर १० लाख धरौटीमा छुटेका थिए । ६ वटै निर्वाचनमा अपराजित गच्छदारलाई भगवतीले यसपटक हारको स्वाद चखाइदिएकी छन् । । गच्छदारले २०४८, २०५१, २०५६ र २०७४ गरी चारवटा निर्वाचन नेपाली कांग्रेसबाट जितेका थिए । २०६४ र ७० को निर्वाचन मधेशी जनअधिकार फोरमबाट जितेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *