अर्जेन्टिनाले मेक्सिकोलाई हरायो, नकआउट चरण पुग्ने संभावना बलियो

काठमाडाैँ । जित्नै पर्ने दबाबकाबीच अर्जेन्टिनाले मेक्सिकोलाई पराजित गरेकाे छ । लियाेनल मेस्सीकाे टिमले मेक्सिकोमाथि रोमाञ्चक जित निकाल्दै विश्वकपको अघिल्लो चरण पुग्ने सम्भावना बलियो बनाएको हाे ।

लुसैल स्टेडियममा शनिबार मध्यराति भएको खेलमा मेक्सिकोलाई २–० ले पराजित गर्दै अर्जेन्टिनाले पहिलो जित दर्ता गर्याे । पहिलो खेलमा साउदी अरेबियासँग २–१ ले पराजित भएको अर्जेन्टिनाले दोस्रो खेलमा जित दर्ता गरेको हो । खेलको पहिलो हाफ बराबरीमा सकिएको थियाे ।

कप्तान मेस्सीले खेलको ६४ औँ मिनेटमा गोल गर्दै टोलीको जित पक्का गरेका हुन् । करिब ३० यार्ड टाढाबाट गरेको प्रहार गोलरक्षकले बचाउने कुनै मौका पाएनन् । ८७ औँ मिनेटमा एञ्जो फर्नान्डेजको गोलमा अर्जेन्टिनाले अग्रता दोब्बर बनाएको हो । उनले मेस्सीको पासमा उत्कृष्ट गोल गर्दै टोलीको जित पक्का गरे ।

विश्वकपबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका २१ वर्षिय फर्नान्डेजको पहिलो अन्तराष्ट्रिय गोल हो । राष्ट्रिय टोलीबाट अन्तराष्ट्रिय गोल गर्ने उनी दोस्रो युवा खेलाडी हुन्। यसअघि मेस्सीले सन् २००६ मा १८ वर्षको उमेरका गोल गरेका थिए ।

जारी विश्वकपमा मेस्सीले २ गोल गरेका छन् । यो अघि उनले साउदीअरेबियालाई पेनाल्टीमा गोल गरेका थिए । मेस्सीले राष्ट्रिय टोलीका लागि ९३ औँ गोल गरेका छन् ।

जितसँगै अर्जेन्टिना ३ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । एक खेलमा हार र एक खेलमा बराबरी गरेको पोल्याण्ड ४ अंकसहित शीर्ष स्थानमा  छ। ३ अंक भएको साउदी अरेबिया तेस्रो स्थानमा छ । १ अंक भएको मेक्सिको तालिकाको पुछारमा छ ।

अर्जेन्टिनाले आजको खेलमा जित निकालेसँगै समुह सी का सबै टोलीको अघिल्लो चरणको सम्भावना उत्तिकै छ । अर्जेन्टिनाले समुह चरणको अन्तिम खेलमा बुधबार पोल्याण्डसँग खेल्नेछ । मेक्सिको पनि सोही समयमा साउदी अरेबियासँग भिड्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *