कर्णालीमा गठबन्धन अगाडि कमजोर बन्यो एमाले, प्रतिनिधि सभामा शून्य सहभागिता

कर्णालीका १२ प्रतिनिधि सभामध्ये ११ मा गठबन्धन विजयी

सुर्खेत । कर्णाली प्रदेशका १० जिल्लामा १२ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र छन् । यहाँका सबै प्रतिनिधि सभा निर्वाचन क्षेत्रको नतिजा आएको छ । नतिजा अनुसार ११ ठाउँमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । यी मध्ये ४ स्थानमा नेपाली कांग्रेस र ३ स्थानमा एकीकृत समाजवादीका उम्मेदवार विजयी हुँदा ४ स्थानमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

यस्तै राप्रपाका १ उम्मेदवार प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन् । २०७४ को निर्वाचनमा एमाले र माओवादीको गठबन्धन हुँदा नेपाली काँग्रेसका कुनै पनि उम्मेदवार विजयी भएका थिएनन् भने यो निर्वाचनमा कर्णाली प्रदेशबाट प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचनमा नेकपा एमालेका कुनै पनि उम्मेदवार विजयी भएका छैनन् ।

सुर्खेतका दुवै क्षेत्रमा नेपाली कांग्रेस विजयी
कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेतका दुवै प्रतिनिधि सभामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । सुर्खेत क्षेत्र नम्बर १ प्रतिनिधि सभामा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का विजयी भएका हुन् । उनले नेकपा एमालेका उम्मेदवार धुव्रकुमार शाहीलाई ११ हजार ६१९ मतान्तरले पराजित गरेका हुन् ।

कांग्रेस उपसभापति खड्काले ४२ हजार ६०७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार शाहीले ३० हजार ९८८ मत प्राप्त गरेका थिए । २०७४ को निर्वाचनमा यसै प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट तत्कालीन गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार धुव्रकुमार शाहीले नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर खड्कालाई पराजित गरेका थिए ।

यस्तै, सुर्खेत २ मा पनि नेपाली कांग्रेसका उम्मेदवार हृदयराम थानी विजयी भए । उनले नेकपा एमालेका उम्मेदवार अमृतबहादुर बुढा क्षेत्रीलाई ५ हजार १०७ मतान्तरले पराजित गरेका थिए । थानीले ३४ हजार ६२५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी उम्मेदवार नेकपा एमालेका बिसीले २९ हजार ५५८ मत प्राप्त गरेका हुन् ।

दैलेखका दुवै क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी
दैलेखमा पनि २ प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेका छन् । जहाँ निर्वाचन क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीका उम्मेदवार अम्मरबहादुर थापा विजयी भएका हुन् । उनले नेकपा एमालेका उम्मेदवार रवीन्द्रद्रराज शर्मालाई पराजित गरेका थिए । एकीकृत समाजवादीका थापाले १८ हजार २९६ मत प्राप्त गर्दा एमालेका रवीन्द्रराज शर्माले १७ हजार ४४५ मत प्राप्त गरेका हुन् । दैलेख २ मा नेपाली कांग्रेसका उम्मेदवार दिक्पाल शाही निर्वाचित भए । उनले नेकपा एमालेका लक्ष्मी पोखरेललाई पराजित पराजित गरेका हुन् ।

रुकुम पश्चिममा माओवादीका शर्मा विजयी
कर्णालीको रुकुम पश्चिममा गठबन्धनबाट माओवादी केन्द्रका नेता जनार्दन शर्मा विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार नन्दराम देवकोटालाई पराजित गरेका हुन् । गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार शर्माले ३९ हजार ५४९ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार देवकोटाले १२ हजार ९६१ मत प्राप्त गरेका थिए । २०७४ को निर्वाचनमा पनि उक्त स्थानबाट माओवादीका नेता शर्मा विजयी थिए ।

सल्यानमा एकीकृत समाजवादीका उम्मेदवार विजयी
सल्यानमा एकीकृत समाजवादीका प्रतिनिधि सभा उम्मेदवार प्रकाश ज्वाला निर्वाचित भएका छन् । उनले स्वतन्त्र उम्मेदवार राजेन्द्र बहादुर शाहलाई पराजित गरेका हुन् । ३५ हजार ७ सय मत प्राप्त गरी एकीकृत समाजवादीका प्रकाश ज्वाला विजयी हुँदा उनका निकट प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार शाहले ११ हजार ७८९ मत प्राप्त गरी पराजित भएका थिए ।

जाजरकोटमा माओवादीका बस्नेत विजयी
जाजरकोटमा एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको छ । यस जिल्लामा मंसिर ४ गते सम्पन्न भएको निर्वाचनबाट गठबन्धनबाट माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेत विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार नीरजप्रसाद आचार्यलाई पराजित गरेका हुन् । निर्वाचित बस्नेतले ३४ हजार १५१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार आचार्यले २५ हजार १२० मत प्राप्त गरेका थिए ।

जुम्लामा राप्रपाका शाही विजयी
कर्णाली प्रदेशका विभिन्न प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा गठबन्धन विजयी हुँदा, यता जुम्लामा भने राप्रपाबाट प्रतिनिधि सभा उम्मेदवार बनेका ज्ञानेन्द्र शाही विजयी भएका छन् । उनले गठबन्धनबाट माओवादी केन्द्रबाट उम्मेदवार बनेकी गोमा गौतम कुँवरलाई पराजित गरेका हुन् । ज्ञानेन्द्र शाहीले २२ हजार ८१९ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी माओवादीकी उम्मेदवार गोमा गौतमले ११ हजार ९५९ मत प्राप्त गरेकी हुन् । विजयी उम्मेदवार शाही राप्रपा प्रवक्ता पनि हुन् ।

डोल्पामा एकीकृत समाजवादीका बुढा विजयी
कर्णाली प्रदेशको डोल्पामा एकीकृत समाजवादीका उम्मेदवार धनबहादुर बुढा विजयी भएका छन् । कर्णालीका प्रायः जसो स्थानमा गठबन्धनका उम्मेदवारहरूले नेकपा एमालेका उम्मेदवारलाई पराजित गरिरहँदा यस जिल्लामा पनि नेकपा एमालेका उम्मेदवार गणेशबहादुर शाही पराजित भएका छन् । समाजवादीका विजयी उम्मेदवार बुढाले ११ हजार २९२ मत प्राप्त गर्दा नेकपा एमालेका शाहीले ५ हजार ५०५ मत प्राप्त गरेका छन् ।

मुगुमा कांग्रेस उम्मेदवार विजयी
कर्णाली प्रदेशको हिमाली जिल्ला मुगुमा नेपाली काँग्रेसका उम्मेदवार ऐन बहादुर शाही ठकुरी विजयी भएका छन् । उनी गठबन्धनका साझा उम्मेदवार पनि हुन् । उनले नेकपा एमालेका उम्मेदवार राज बहादुर कार्कीलाई पराजित गरेका थिए । काँग्रेस उम्मेदवार शाहीले १४ हजार ७०२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमाले उम्मेदवार कार्कीले १० हजार ७०८ मत प्राप्त गरेका हुन् ।

हुम्लामा माओवादी उम्मेदवार विजयी
प्रतिनिधि सभा निर्वाचनमा हुम्लाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जहाँ नेकपा माओवादी केन्द्रका उम्मेदवार छिरिङ डम्डुल लामा विजयी भएका छन् । उनले १४ हजार ३१७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार दल रावल ९ हजार ५१६ मत प्राप्त गरी पराजित भएका छन् ।

कालिकोटमा शाही विजयी
मसिर ४ मा निर्वाचन सम्पन्न भएको निर्वाचनको कालिकोटको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । कालिकोटबाट कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा माओवादी केन्द्रका उम्मेदवार महेन्द्र बहादुर शाही विजयी भएका छन् । उनले २४ हजार ४७४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार श्री नगिन्द्र शाही १६ हजार ४१० मत प्राप्त गरी पराजित भएका छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *