विद्यालयमा मतगणना हुँदा पढाई प्रभावित

विराटनगर । मंसिर ४ गते भएको निर्वाचनबाट आगामी ५ वर्षको लागि नयाँ जनप्रतिनिधि छान्ने काम भईरहेको छ । ४ गते र ५ गते सार्वजनिक बिदा थियो । ६ गतेदेखि सबै विद्यालय तथा सरकारी कार्यालयहरू खुलेका छन् ।

विद्यालयमा नियमित पठन पाठन भईरहेको भएपनि विराटनगरको आदर्श माध्यमिक विद्यालयका बालबालिका कति त विद्यालय आउनै पाएका छैनन् भने कतिपय बालबालिकाहरू सकसमा पढ्दैछन् । ३ हजार २ सय विद्यार्थी पढ्ने यो विद्यालय ३ दिनदेखि अवरुद्ध छ । यसको कारण भनेको विद्यालयलाई निर्वाचनको मत गणना स्थल बनाइनु । हरेक निर्वाचनमा यो विद्यालय यसैगरी प्रयोग हुन गरेको छ । अहिले प्रदेश सभा र प्रतिनिधि सभाको मत गणना जारी छ । हरेक निर्वाचनमा यही विद्यालय प्रयोग हुन्छ ।

विद्यालयले प्राविधिक धारका विद्यार्थीलाई बिहान पढाएको छ भने बाँकी दिउँसोका विद्यार्थीलाई प्राविधिक भवनमा पढाएको छ । साइन्स ब्लकमा क्षेत्र नम्बर ५ को मत गणना भईरहेको कारण त्यहाँका सबै प्रभावित भएको छ । बिहान ६ बजेदेखि ११ बजे पढ्नु पर्ने विद्यार्थीहरु अहिले बिहान ६ः३० देखि ९ः३० सम्म मात्र पढ्न पाउँछन् ।

अंग्रेजीमाध्यम अन्तरगत दिउँसोको कक्षा एथावत पढाई भएपनि नेपाली माध्यमका विद्यार्थीहरुलाई अर्कै विद्यालयमा लगेर पढाउनु परेको आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तोष पोख्रेलले बताए । ‘विद्यालयका सबै कक्षाहरू मतगणनामा प्रयोग भएपछि नेपाली माध्यमका विद्यार्थी नजिकै रहेको बालिका मा.वि.मा बिहानको समयमा पढाउने गरिएको छ, उनले भने, कक्षा ५ सम्मका विद्यार्थीहरूलाई अहिले बिदा दिइएको छ।’

वालिका माध्यमिक विद्यालयमा पढ्ने बालबालिकाले जम्मा ३ घण्टा मात्र पढ्न पाउँछन् । बिहान ६ः३० मा त्यहाँ पुग्ने र ९ः३० सम्म पढेपछि बिदा हुने गरेको पोख्रेलले बताए । बिहान ९ः३० बजेपछि त्यस विद्यालयका विद्यार्थी आउने हुँदा विद्यार्थीहरूको पढाईको समय पनि छुट्याईएको छ ।

२०७४ सालको निर्वाचनमा बालबालिकाको पढाई लामो समय प्रभावित भएपछि विद्यालयमा मतगणना गर्न नहुँदै भन्दै चौतर्फी आलोचना भएको थियो । त्यसैको आधारमा विद्यालय प्रशासन, प्रमुख जिल्ला अधिकारी सहित निर्वाचन कार्यालयका प्रमुख सहित बैठक बसेर आदर्श माविलाई मत गणना स्थल नबनाउने सहमति भएको थियो ।

विद्यार्थी कम भएका, खाली रहने क्याम्पसहरूलाई मतगणना स्थलको रूपमा प्रयोग गर्न सकिने भएपनि सुरक्षाको कारण देखाउँदै सधैँ आदर्श माविलाई नै मत गणना स्थल बनाइने गरेको प्रअ पोख्रेलले बताए । ३ दिनदेखि बालबालिकाको पढाई प्रभावित भएको छ । अब आइतबारसम्ममा मत गणनाका सबै प्रक्रिया सकिने निर्वाचन कार्यालयबाट जानकारी आएको पोख्रेलले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *