विश्व फुटबलको महासंग्राम आजदेखि, कतारमा यस्तो छ उद्घाटनको तयारी

काठमाडाैँ । विश्वकप फुटबलको २२ औँ संस्करणको आज औपचारिक उद्घाटन हुँदैछ । नेपाली समय अनुसार कतारमा राति पौने ८ बजे उद्घाटन हुने भएको हो ।

विश्वकपको उद्घाटन खेल भने राति ९ : ४५ बजे आयोजक कतारले इक्वेडरसँग भिड्नेछ । त्यसअघि भव्य समारोहकाबीच उद्घाटन गर्ने फिफाको तयारी छ । विश्वकपको उद्घाटनका लागि सबै तयारी पूरा गरिसकेको कतारले जानकारी दिएको छ ।

विश्वकपमा सहभागी हुने देशहरू कतार पुगिसकेका छन् । एशिया क्षेत्रमा कतारले दोस्रो पटक विश्वकप आयोजना गर्न लागेको हो । यसअघि एशियाली क्षेत्रमा जापान र दक्षिण कोरियाले विश्वकप आयोजना गरेका थिए ।

उद्घाटन समारोहमा विश्वकपका अविस्मरणीय क्षणहरू देखाइने छ । जतिबेला ब्राजिलियन रोनाल्डो र म्याराडोनाले खेलेका खेलहरूको झलक हेर्न सकिनेछ । तर यसअघिका विश्वकपमा जस्तो पेले र म्याराडोनालाई भने देख्न पाइने छैन ।

म्याराडोना दिवंगत भइसकेका छन् । पेले स्वास्थ्य समस्याका कारण कतार जान सकेनन् । पेलेले १९५८ मा ब्राजिललाई पहिलो पटक विश्वकप उपाधि दिलाएका थिए । उनको भिडियो सन्देश उद्घाटन समारोहमा प्रस्तुत गरिनेछ ।  म्याराडोनाको भने २०२० मा निधन भएको थियो ।

विश्वकपको उद्घाटनमा सांस्कृतिक प्रस्तुतिहरू पनि रहनेछन् । विभिन्न देशका कलाकारले उद्घाटनमा प्रस्तुति गर्नेछन् । कोरियाली ब्याण्डदेखि कोलम्बियाकी गायिका शाकिरा पनि कतार पुगेकी छन् । जे बाल्भिन, नाइजेरियन गायक तथा गीतकार प्याट्रिक ओकारी, अमेरिकन गायक लिल बेबी लगायत प्रस्तुति दिने छन् । स्थानीय कलाकारको पनि छुट्टै प्रस्तुति रहनेछ । बेबीले २०२२ विश्वकपको गीत द वल्ड इज योर्स टु टेक गायका छन् ।

पहिलो पटक जाडो महिनामा
विश्वकप फुटबल पहिलो पटक नोभेम्बर/डिसेम्बर महिनामा हुन लागेको हो । यसअघि जुन–जुलाई महिनामा हुँदै आएको विश्वकप कतारको मौसमका कारण यतिबेलालाई सारिएको हो ।

१२ वर्ष पहिले कतारलाई विश्वकप आयोजना गर्न दिने निर्णय गर्दै विश्वकपको समय यतिबेलालाई तोकिएको थियो ।  यसअघि लिगहरू सकिएपछि मात्रै विश्वकप फुटबल हुन्थ्यो । तर अहिले लिगहरू आधा पनि भएका छैनन्। विश्वकपका लागि विश्वका सबै ठूला लिग स्थगित गरिएको छ । विश्वकप सकिएको अर्को साताबाट पुनः लिग सुरु हुनेछन् ।

उद्घाटन खेल अल बेत रङ्गशालामा 
अलखोर सिटीस्थित अल बेत रङ्गशालामा उद्घाटन खेल हुनेछ । यो रङ्गशालामा ६० हजार दर्शक अटाउन सक्ने क्षमता छ । एक वर्ष पहिले कतार र युएईले पनि यही रङ्गशालामा मैत्रीपूर्ण खेल खेलेका थिए । जतिबेला यहाँ ६३ हजार दर्शक अटाएका थिए ।

यो रङ्गशाला कतारले विश्वकपकै लागि निर्माण गरेको हो । २०२१ को नोभेम्बरमा रङ्गशाला तयार भएको थियो । यो रङ्गशालामा विश्वकपका ९ खेल हुनेछन् । ६ वटा समूह चरणका, एउटा अन्तिम १६ को, क्वार्टर फाइनल र सेमिफाइनलका एक एक खेल पनि यहाँ गराउने तालिका छ ।
समूह चरणका बाँकी खेल भने सोमबार अपराह्नदेखि हुनेछन् । कतार रहेको समूह ए मा कतार र इक्वेडरसँगै नेदरल्याण्ड र सेनेगल रहेका छन् ।

यो पनि : कुन समयमा हुँदैछन् विश्वकपका खेल ? (हेर्नुहोस् नेपाली समयअनुसार तालिका)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *