निर्वाचन २०७९

सुनसरी-३ : गच्छदारको तेब्बर ह्याट्रिकमा भगवतीले लगाउलिन् ब्रेक ?

काठमाडौँ । नेपालमा सबैभन्दा भाग्यमानी नेता भनेर दुई नेतालाई चिनिन्छ । एक जना हुन् अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवा । जो पाँच पटक प्रधानमन्त्री भइसके । अर्का भाग्यमानी काँग्रेस नेता हुन् विजयकुमार गच्छदार । जो छ पटक सांसदमा निर्वाचित भइसके । पटक पटक मन्त्री तथा उपप्रधानमन्त्रीसम्म भए ।

अहिले फेरि गच्छदार सुनसरी ३ मा सत्तारुढ गठबन्धनको साझा उम्मेदवार बनेर साँतौपटक सांसद हुने दौडमा रहेका छन् । सदाबहार सांसद भइराख्ने गच्छदारको बाटो छेक्न एमालेकी नेतृ पूर्व मन्त्री भगवती चौधरी आएकी छन् ।

भगवती पटक पटक गच्छदारको संसद् छिर्ने बाटो रोक्न आइरहेकी छन्, तर गच्छदारले भगवतीलाई पछारेर संसद् छिरिरहेका छन् । गच्छदारको संसद् छिर्ने यात्रामा ब्रेक लगाउन तीन पटकसम्म भगवती आइसकिन्, तर गच्छदारले अनेक तिकडम गरेर भगवतीलाई ब्रेक लगाउन दिएकै छैनन् ।

यस पटक उनै गच्छदार सातौँ पटक संसद् छिर्ने दाउमा छन् भने उनै भगवती गच्छदारको यात्रामा ब्रेक लगाउन चौथो पटक आएकी छन् । कसले कसलाई पछार्ने हो, कसले कसलाई ब्रेक लगाउने हो, यो सबै अधिकार मतदातामा छ ।

२०४८ सालयता ६ वटै निर्वाचनमा गच्छदारले विजयी हासिल गरेका थिए । गच्छदारले २०४८, २०५१, २०५६ र २०७४ गरी चार वटा निर्वाचन नेपाली काङ्ग्रेसबाट र २०६४ र २०७० को पहिलो संविधानसभा निर्वाचन तत्कालीन मधेसी जनअधिकार फोरमबाट विजयी हासिल गरेका थिए । २०७४ मा काँग्रेस फर्किएर उनले चुनाव जितेका थिए । उनी १८ पटक मन्त्री बन्दा ५ पटक त उपप्रधानमन्त्री बनिसके ।

मतदातामा गच्छदारको हाइट पछिल्लो समय खस्केको अनुभूति भएको छ । भ्रष्टाचारको आरोप लागेपछि गच्छदारको हाइट खस्केको मतदाताहरूको भनाइ छ । गच्छदारमाथि बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको मुद्दा अहिले पनि विचाराधीन अवस्थामा रहेको छ ।

विशेष अदालतमा भ्रष्टाचार मुद्दा खेपिरहेका उनी लामो समय ‘फरार’ रहे । मुद्दा दायर भएपछि भूमिगत भएका उनी शेरबहादुर देउवा प्रधानमन्त्री भए लगतै विशेष अदालतमा हाजिर भएर १० लाख धरौटीमा छुटेका थिए ।

यति मात्र होइन, गच्छदारमाथि २०७४ को मतगणनामा धाँधली गरेको आरोप छ । गच्छदारले धाँधली गरेर भन्दै भगवती चौधरीले पुन मतगणनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी थिए । त्यो मुद्दा पनि अहिले विचाराधीन छ । यस्तो बेलामा गच्छदार चुनावी मैदानमा आएका छन् ।

२०७० मा ३ सय ६२ मतको फरकले गच्छदारले भगवतीलाई हराएका थिए । विजयी भएका थिए । उनले १७ हजार ५ सय २४ मत ल्याउँदा भगवती १७ हजार १६२ मतमा रोकिइन् । ७४ मा भने भगवती ३ सय २१ मतले पराजित भइन् । २९७४ चौधरीले ३८ हजार ६५१ मत ल्याइन् भने गच्छदारले ३८ हजार ९७२ मत पाए।

सुनसरी ३ का एमालेका नेताहरू धाँधली गरेर अत्यन्तै थोरै मतले गच्छदारले जित्दै आएको बताउँछन् । उनीहरूले यस पटक भारी मतले भगवती चौधरीको जित हुने र यस पटक धाँधली गर्न नदिने बताइरहेका छन् ।

यस्तो छ अकंगणित

सुनसरी ३ मा इटहरी उपमहानगरका १० वटा वडा पर्छन् । गढी गाउँपालिका, दुहबी नगरपालिका, बर्जु गाउँपालिका र इनरुवा नपाको ७ नं वडा यस क्षेत्रमा पर्छ ।

यस पटकको स्थानीय तहको चुनावमा इटहरीका १० वटा वडामा एमालेको मत धेरै आएको छ । ६ वडामा एमालेका वडाध्यक्ष छन् । उपमहानगरका १० वटा वडामा एमालेका वडा अध्यक्षले मात्र ११ हजार ५६६ मत ल्याएका छन् । गठबन्धनका वडाध्यक्षले १० हजार ३१० मत ल्याउन सफल भए ।

दुहबी नगरपालिकाका ९ वटा वडामध्ये ७ वटा वडामा काँग्रेसले जितेको छ । वडाध्यक्षमा काँग्रेसले दुहबी नगरपालिकामा ८ हजार ३२३ मत पाएको छ । एमालेको वडाध्यक्षमा ६ हजार ६ सय ४८ मत आयो । दुहबीमा एमालेको मत काँग्रेसको तुलनामा थोरै कम छ ।

गढी गाउँपालिकामा एमालेले ५ वडाध्यक्ष जितेको छ । गढीमा एमालेको मत ६ हजार ३२२ र काँग्रेसको ४ हजार ४४१ मत आयो । वर्जुमा काँग्रेसको ७ हजार ८०९ र एमालेको ७ हजार ५८१ मत आयो छ । इनरुवा नगरपालिकाको ७ नम्बर वडामा काँग्रेस विजयी भयो । काँग्रेसले १२ सय १४ र एमालेले १०३४ मत ल्याएको छ ।

सत्ता र शक्तिको वरिपरि रहिरहने गच्छदारलाई यस पटक भगवती चौधरीले जित्ने विश्लेषण गरिएको छ, तर चुनाव हो यसै भन्न सकिने अवस्था पनि छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *