विराटनगरलाई गिज्याइरहेका यी संरचना (फोटो कथा)

विराटनगर । विराटनगर काठमाडाैँपछिको दोस्रो ठुलो शहरका रूपमा केही समय अघि सम्म परिचित थियो । विराटनगर अहिले छैटौँ नम्बरमा पुगेको छ । हरेक सूचकमा विराटनगर पछि पर्दै गएको छ । पछिल्लो ५ वर्षमा विराटनगरको अवस्था झन् बिग्रिएको छ ।

यसले विराटनगरलाई पछाडि धकेल्ने काम गरेको छ। प्रदेश १ को राजधानी समेत रहेको विराटनगरको अवस्था दिनप्रतिदिन बिग्रँदो अवस्था त्यसै पुगेको हैन । यहाँको नेतृत्वले विराटनगरको विकासलाई बेवास्ता गर्दाको परिणामका कारण पुरानो शहर पछि पर्दै गएको यहाँका बुद्धिजीवीहरू बताउँछन् । पछिल्लो ५ वर्षमा विराटनगरले आफूलाई परिचित गराउने नयाँ काम केही गर्न सकेन । उल्टै सहरको स्तर छैटौँ नम्बरमा पुगेको छ ।

वीरेन्द्र सभागृह
वीरेन्द्र सभागृह विराटनगरको पुरानो संरचना हो । विराटनगरमा गरिने हरेक कार्यक्रम यहाँबाट सम्भव हुँदै आएको थियो । भवनको अवस्था जीर्ण भएपछि पछिल्लो २ वर्षदेखि कुनैपनि कार्यक्रम यहाँ हुन सकेको छैन । निवर्तमान प्रतिनिधिसभा सदस्य लालबाबु पण्डितले सांसद विकास कोषबाट सभागृहको स्तरोन्नतिका लागि बजेट छुट्याए । पण्डितले वीरेन्द्र सभागृहलाई राष्ट्रिय सभागृह जस्तो बनाउन चाहेका थिए ।

संसद् विकास कोषबाट दुई वर्षअघि नै ४ करोड बजेट सभागृहको लागि विनियोजन भएको थियो । सांसदले प्रत्यक्ष रूपमा खर्च नमिल्ने भएका कारण ४ करोड बजेट विराटनगर महानगरपालिकामा आयो । तर, महानगर प्रमुख भीम पराजुलीको अहम्ताका कारण काम अघि बढ्न सकेन । बजेट फ्रिज भएर गयो । समयमै काम सम्पन्न भएको भए सभागृहले अहिले व्यवस्थित भइसक्ने थियो । वीरेन्द्र सभागृहलाई लथालिङ्ग पारेर पराजुली बिदा भए । पराजुलीले लथालिङ्ग पारेको सभागृहको स्तरोन्नतिको काम महानगरमा प्रमुख नागेश कोइराला निर्वाचित भएर आएपछि अहिले अघि बढेको छ ।

फाउन्टेन पार्क
विराटनगर महानगरपालिकाले निर्माण गरेको फाउन्टेन पार्क अहिले अलपत्र अवस्थामा छ । यसलाई संरक्षण गर्न तत्कालीन महानगरपालिकाको नेतृत्वले चासो देखाएन । महानगरले उक्त पार्क सञ्चालनका लागि भन्दै गत २०७६ फागुन ५ गते ठेक्का सम्झौताका लागि सूचना प्रकाशन गरेको थियो । तर महानगरले यसको संरक्षणमा ध्यान दिएन । लामो समयसम्म पार्क अलपत्र छाड्नाले संरचना जीर्ण बन्दै गएको छ । २०७५ असोजमा प्रमुख भीम पराजुलीले पार्कको उद्घाटन गरेका थिए । त्यसपछि पार्क सर्वसाधारणका लागि खुला गरिएको थियो । तर यसको संरक्षण नहुँदा घाँसे मैदानमा परिणत भएको छ ।

पार्कको प्रवेशद्वारमा ताला झुन्डिएको बर्षाैँ बितिसकेको छ, केही नगरप्रहरीलाई बस्ने ठाउँ बनाइएको छ । तर अहिलेसम्म पार्कको अवस्था कस्तो छ भन्नेमा महानगर बेखबर छ । वीरेन्द्र सभागृहसँगै रहेको पार्क पछिल्लो समय महानगरको आँखाभन्दा बाहिर रहेको जानकारहरू बताउँछन् । महानगरका नेतृत्वकै कारण पार्क लथालिङ्ग अवस्थामा पुगेको व्यापारीहरू बताउँछन् । महानगरको ८५ प्रतिशत र मोरङ व्यापार संघको १५ प्रतिशत लगानीमा पार्कको निर्माण भएको थियो । उद्घाटन गरेर मात्र भएन अपनत्व लिन सक्नु पर्ने पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले बताए । ‘यो जिम्मेवारी हिजो ५ वर्ष नगर हाँक्ने पराजुलीले लिन सकेनन्, ढुंगेल भन्छन्, यो काम हिजै सक्नु पर्ने हो आजका नयाँ जनप्रतिनिधिलाई दोष दिन पाइँदैन ।’

२०७५ सालमा यो पार्क मोरङ व्यापार संघलाई सञ्चालन दिने सहमति अनुसार मोरङ व्यापार संघले काम अघि बढाएको थियो । पछि मेयर पराजुलीको नेतृत्वले त्यो फेरी महानगरले नै सञ्चालनमा लग्ने भनेर महानगर मातहतमा लगेको संघले जनाएको छ। संघका अध्यक्ष नवीन रिजालका अनुसार, महानगरले व्यापार संघलाई सञ्चालनको लागि दिएको थियो, राम्रोसँग चल्न थालेपछि फेरी महानरले नै चलाउने भनेर सम्झौता रद्द गरेर बन्द गरिएको थियो । ‘दैनिक एक हजारसम्म घुम्नको लागि फाउण्टेन पार्कमा आउने गरेका थिए, उनले भने, महानगरले नै चलाउने भनेर लगेपछि अहिले झाडीमा परिणत भएको छ।’ यो ५ वर्षको अवधिमा भएको पार्क पनि बन्द छ भने नयाँ कुनै पार्क निर्माण हुन नसकेको स्थानीय बताउँछन् ।

पशु वधशाला
विराटनगर-८ मा एक बिघा आठ कट्ठा जग्गामा विसं २०६६ बाट निर्माण शुरु गरिएको वधशाला अहिलेसम्म पनि निर्माण पुरा हुन सकेन । जीर्ण अवस्थामा पुगेको छ । विराटनगरमा सुविधा सम्पन्न पशु वधशाला निर्माणका लागि प्रदेश सरकारले गत दुई आर्थिक वर्षमा करिब ८ करोड बजेट विनियोजन गरेको थियो । आव २०७५/७६ मा करिब ३ करोड विनियोजन गरिएकामा खर्च नभएर तत्कालीन मेयर पराजुलीले फिर्ता पटाइदिए । प्रदेश नं १ को तत्कालीन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मार्फत गएको बजेट फ्रिज भएको थियो । महानगर नेतृत्वकै कारण बजेट फिर्ता भएको मन्त्रालय श्रोतको भनाई छ ।

विराटनगरमा व्यवस्थित पशु वधशाला नहुँदा जथाभाबी पशु वध हुने गरेको छ । विराटनगरको मुख्य सडक, सार्वजनिकस्थल, धार्मिक क्षेत्र, नदी, सडकको किनारा तथा नालामाथि जथाभाबी वध गरी मासु बिक्री गर्नाले सर्वसाधारण जनताको स्वास्थ्यमाथि गम्भीर असर परिरहेको छ । केही हप्ता अघि मात्र विराटनगर महानगरपालिकाले गरेको बजार अनुगमनको क्रममा कुहिएका र सडेका मासु फेला परेको थियो । पशुको स्वास्थ्य परीक्षण बिना जथाभाबी जहाँ मन लाग्यो त्यहाँ मासु काट्ने तथा फोहोर जथाभाबी फाल्ने प्रवृत्ति बढ्दो छ ।

लापरबाही र गैरजिम्मेवारीपूर्वक माछामासु बिक्री भइरहँदा समेत महानगरपालिका चुपचाप बसेको भन्दै अधिकारकर्मीहरूले आवाज उठाएपनि प्रमुख पराजुलीले यसको निर्माणमा चासो नदिएको विराटनगर ८ का स्थानीय बताउँछन् र बासिन्दाको भनाई छ । वधशालाको निर्माणमा करोडौँ रकम अहिलेसम्म खर्च भएरपनि यो अझै जीर्ण अवस्थामा रहेको छ। सिँगिया खोला किनारमा निर्माण शुरु भएको यो वधशाला पहिला भन्दा केही सुधार हुन सकेको छैन ।

विमानस्थल रोड ब्यूटिफिकेसन
विराटनगर विमानस्थल प्रवेशद्वारमा रहेका सबै बिरुवाहरू काटेर उजाड बनाइए । दुई वर्ष अगाडी बनेका संरचनाहरू सबै भत्काइए । अहिले सहज हिँड्न सक्ने अवस्था छैन । फलामे संरचना हालेर सौन्दर्यकरणको काम पराजुलीको नेतृत्वमा भयो । तर, त्यसले पूर्णता नपाउँदा विमानस्थल प्रवेशद्वारा उजाड बनेको छ । सडक सौन्दर्यकरणका लागि करिब साढे ३ करोड रुपैयाँ खर्च गरिएपनि काम सम्पन्न भएको छैन । २०७९ वैशाखमै काम सम्पन्न गर्ने गरी काम शुरु भएपनि अहिलेसम्म पनि अलपत्र अवस्थामा छ ।

हिमालय रोड
विराटनगर महेन्द्र चोकदेखि ट्राफिक चोकसम्मको सडकमा सुरु गरिएको सौन्दर्यकरणको काम अलपत्र बन्दा यसले सौन्दर्यकरण भन्दा पनि कुरूप बनाउने काम भएको छ । भारतको सिक्किममा एमजी रोडबाट प्रसिद्धि कमाएको सिक्किम जाने पर्यटक घण्टौँ एमजीरोडमा विश्राम गरेर मनोरञ्जन लिइरहेका हुन्छन् । त्यसैको झल्को दिने विराटनगर महानगरपालिकाले हिमालय रोडको सौन्दर्यकरणका लागि सुरु गरेको अभियानलाई तत्कालीन महानगर प्रमुख पराजुलीले अलपत्र पारेका हुन ।

एक महिनाभित्रै सक्ने गरी शुरु गरिएपनि बर्षदिन बित्न लागेपनि काम कहिले सकिने टुङ्गो छैन । एक सय ५० मिटर दूरीको सो क्षेत्र लथालिङ्ग बनाउने काम पराजुलीले नै गरे । करिब एक करोड बढी लागतमा निर्माण शुरु भएको कार्य अलपत्र हुँदा व्यापार व्यवसाय गर्नेहरूलाई पनि समस्या भएको छ । व्यस्त सडकलाई ब्यूटिफिकेसन गर्ने नाममा पराजुली संरचना बिगार्ने र काम अधुरा छाड्ने प्रवृत्ति कारण महानगरवासी हैरान भएका छन् । विकास निर्माण गर्ने भन्दा बिगार्ने काम उनीबाट ५ वर्षमा भएको महानगरवासी बताउँछन् ।

स्थानीय नागरिक समाजका अगुवा दिनेश श्रेष्ठ हिमालय रोड भत्काउने काम अहिले पनि गलत हो भन्दै आएका छन् । ‘मैले त्यो बेलामा नै मैले आफ्ना कुरा राख्दा मेयर पराजली जी रिसाउनु भयो, उनले भने, ट्राफिक व्यवस्थापन, सडक सिस्टमका कुरालाई यसले असर गरेको कुरा अहिले देखिएको छ ।’ उनी यो सडकलाई ब्यूटिफिकेशनको रूपमा नआएको नआएको र सस्तो लोकप्रियताका लागि ल्याइएका यस्ता विकासले दीर्घकालीन रूपमा असर पार्ने बताउँछन् ।

शिलान्यास भयो, काम भएन
पराजुलीले आफ्नो ‘ड्रिम प्रोजेक्ट’का रूपमा विराटनगर आकोशपुल र भ्यु टावर भन्दै हिँडे । बजेट राम्रो खन्याए पनि । तर, पराजुलीको ड्रिम प्रोजेक्ट सपनाममै सीमित भयो । शिलान्यास गरे, काम गरेनन्, गफाडीको गफ जस्तै भएको कांग्रेस निकट नेताहरू नै बताउँछन् ।

पराजुलीले महानगरको नेतृत्वमा रहेको समयमा आकाशे पुल बनाउने हल्ला व्यापक भयो । पराजुलीको पहिलो बजेट नीति तथा कार्यक्रममा आकाशे पुलको योजना समेटियो तर कार्यकाल सकिँदा पनि यो कामको थालनी हुन सकेन । पराजुलीको समन्वयकारी भूमिकाको अभाव तथा स्थान सुनिश्चित नगरी योजना कार्यान्वयन गर्न खोज्दा झण्डै साढे २ करोड रुपैयाँको योजना अलपत्र परेको छ ।

२०७७ चैत २ मा पराजुलीले बरगाछीमा एक कार्यक्रमका बिच आकाशे पुलको शिलान्यास गरेका थिए । महानगरपालिकाले आकाशे पुल निर्माणका लागि भन्दै २०७६ फागुन १६ मा टेण्डर निकालेको थियो । त्यसको झण्डै एक वर्षपछि २०७७ माघ २८ गतेमात्र महानगरले ढिला गरी ठेकेदारहरूको टेण्डर स्वीकृत गरेको थियो। घाँसचोक, बरगाछी र कञ्चनबारी चोक गरी तीनवटा फलामे संरचनाको आकाशे पुल बनाउने योजना अघि बढाइएको थियो ।

तीनवटै पुलका लागि २ करोड ४७ लाख रुपैयाँमा ठेक्का लगाएर पनि काम अघि बढ्न नसक्नुलाई भीमको नेतृत्व गर्ने क्षमता कमजोर भने आकलन गर्ने गरिएको छ। पराजुलीको अदूरदर्शी नीतिका कारण यसले पूर्णता नपाएको महानगरका कर्मचारीहरू बताउँछन् ।

भ्यु टावर शिलान्यासमै सीमित
३ वर्ष अघि २०७५ कात्तिक २० गते विराटनगरमा १ सय १० मिटर अग्लो भ्यूटावर निर्माण गर्ने भन्दै विराटनगर ३ मा एक कठ्ठा ७ धुर क्षेत्रफलमा निर्माण गर्ने गरी धूमधामका साथ पराजुलीले शिलान्यास कार्यक्रम गरे । १० वर्षभित्र निर्माण कार्य सम्पन्न गर्नेगरी भ्यूटावरसँगै अन्य भौतिक संरचना निर्माणका लागि ४ अर्ब रुपैयाँ खर्च गर्ने गरी शिलान्यास गरिएको थियो । शिलान्यास सँगै भ्यु टावर निर्माण कार्य विवादमा आयो ।

पराजुलीका हचुवाका भरमा गर्ने निर्णयका कारण हरेक योजनाहरू शिलान्यास हुने तर काम अघि नबढ्ने उनकै पालामा भयो । पराजुलीले ५ वर्षमा धेरै संरचनाहरूको शिलान्यास त गरे काम भने अघि बढेनन् । उनको कार्यकाल भन्दा पहिला नै शिलान्यास भएर बनेका संरचना अहिले आफूले बनाएको भन्दै दाबी गर्दै आएको त्यो बेलाका कार्यकारी अधिकृतहरू बताउँछन् । अपरिपक्व निर्णय क्षमता भएका कारण महानगरका संरचनाहरू निर्माण सम्पन्न नहुँदा शहरलाई कुरूप बनाउने काम भईरहेको छ ।

डम्पिङ साइड
विराटनगरमा व्यवस्थित डम्पिङ साइट छैन । महानगरबाट दैनिक निस्कने फोहोर विराटनगर ६ को केशलिया खोला नजिक फाल्ने गरिएको छ । पराजुलीको ध्यान यता कहिल्यै गएन । विराटनगरको ढाटबाट प्रवेश गर्दा देखि एउटा शौचालय पनि नभएको विराटनगर बनाइएको पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेल बताउँछन् । यो ५ वर्षमा ढाटदेखि रोड शेषसम्म एउटा पनि शौचालय बनाउन नसक्ने जनप्रतिनिधि पाएको उनको भनाई छ। ढाट, राजवंशी चोक, पिपल चोक, दुधफारम, कन्चनबारी, बरगाछी, मुनालपथ, भृकुटीचोक, शनिमन्दिर चोक, महेन्द्रचोक, रोडशेष चोक कुनै ठाउँमा पनि शौचालय बनाउन नसकेको ढुंगेलले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *