मोरङ ६ (१) मा आचार्यको यस्तो छ चुनावी रणनीति

काठमाडौँ । खोटाङको बुइपाबाट बसाइँ सराई गरेर जीवन आचार्यको परिवार मोरङको हात्तीमुडामा झरेको हो । परिवार मोरङ झरेपछि २०४२ फागुन १० उनको साविकको हात्तीमुडा अर्थात बुढीगंगा ५ मा जन्म भयो । बुबा बमप्रसाद आचार्य र माता बालकुमारी आचार्यको छोरा जीवनको शिक्षा सरस्वती माध्यमिक विद्यालयमा दुहबी हो । उनले यही विद्यालयबाट एसएलसी पास गरे र महेन्द्र मोरङ क्याम्पसमा उच्च शिक्षाको लागि भर्ना भए ।

उनले यही क्याम्पसबाट स्नातकोत्तर गरेको बताए । राजनीति शास्त्रमा स्नातकोत्तर गरेका जीवनले विद्यार्थी राजनीति नेपाल विद्यार्थी संघबाट गरेका हुन् । नेवि संघमा काम गर्दै गर्दा देशमा राजनीतिक आन्दोलनसँगै उनले आफ्नो राजनीति क्षेत्र परिवर्तन गरे र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रमा लागे । माओवादीमा लाग्नु नै उनका लागि राजनीति उर्वर बन्यो । उनी २०७४ सालमा मोरङ क्षेत्र नम्बर ६ (१) बाट उम्मेदवार बने र पराजित बने । प्रदेश सभाको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार चुमनारायण तबदारले आचार्यलाई पराजित गरेका थिए ।

राजनीतिको केन्द्रको रुपमा हेरिएको मोरङ त्यसमा पनि क्षेत्र नम्बर ६ मा अहिले चुनावी सरगर्मी बढेको छ । गत निर्वाचनमा पराजय ब्यहोरेका आचार्य आगामी मंसिर ४ गते हुने निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ (१) बाट उम्मेदवार बनेका छन् । यो क्षेत्रमा सत्ता गठबन्धनबाट निर्वाचनको पराजयसँगै प्रदेश सभामा भूमिका खेल्न नपाएको बताउने आचार्य जनतामा निरन्तर रहेको दाबी गर्छन् । काठमाडौँमा बसेर पनि आफ्नो निर्वाचन क्षेत्रमा निरन्तर धाइरहेको उनको दाबी छ ।

‘मेरो घर अहिले पनि यहीँ हो, आचार्यले भने, म जनताले आवश्यक परेको बेला भेटिने गरेको छु ।’ कोयलपुर, डंग्राहा, शिसवनी बडहरा, सुन्दर हरैंचाका क्षेत्रहरू, मृगौलिया, मझुवा, करेबना आदावासीचोक लगायतमा नागरिकको उल्लेख्य साथ र सहयोगले चुनाव प्रचार प्रसार तीव्र रहेको उनी दाबी गर्छन्।

‘म तल्लो स्तरको छुद्र राजनीति गर्दिन, राजनीति प्रति युवाको विश्वास गुम्दै गइरहेको छ, ती युवाको विश्वास जित्नुछ, आचार्य भन्छन्, जनताका गुनासाका आधारमा अघि बढ्नुछ ।’

कोभिडको समयमा आर्थिक अवस्था कमजोर भएका र रोजगारी गुमाएकाहरूको खोजी गरे राहत र उपचारमा सहयोग गरेको उनले बताए । उनी अहिलेको उम्मेदवारीलाई विकाससँग जोड्नु पर्ने बताउँदै आएका छन् ।

‘शिक्षा, स्वास्थ्य, रोजगारी नागरिकका सामाजिक सुरक्षाका कुराहरु मेरो प्राथमिकताको विषय हो, उनले भने, भौतिक पूर्वाधार मात्रै विकास हैन, सबै क्षेत्रमा समान विकास हुनु पर्छ ।’

यो क्षेत्रमा उनको प्रतिस्पर्धीको रुपमा नेकपा एमालेका रीता न्यौपाने मैदानमा छिन् । आचार्य र न्यौपाने बिच चुनावी प्रतिस्पर्धा हुने आकलन गरिएको छ। यही क्षेत्रमा प्रतिनिधि सभामा नेपाली कांग्रेसका शेखर कोइराला र नेकपा एमालेका लालाबाबु पण्डितका बिच प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *