उत्तरी नाका खोल्न आनाकानी किन ?

पोखरा । उत्तरी छिमेकी मुलुक चीनसँगको नाका कोरोना कालदेखि नै ठप्प छ । गोरखाको रुइला भन्ज्याङ र मुस्ताङको कोरला नाका ठप्प भएको ३ वर्ष बितिसक्दा पनि अहिलेसम्म खुलेको छैन । नाका खोल्ने बारे दल र उम्मेदवारहरु मौन छन् । त्यहाँका स्थानीयको प्रमुख माग नै उत्तरी नाका खोल्ने हो ।

‘भोकमरीले निकै समस्या भइसक्यो । बर्खा लागेपछि तल्लो क्षेत्रको बाटो ठप्प हुन्छ,’ उनीहरूले भने, ‘माथिको नाका पनि बन्द भएपछि कहाँबाट सामान झिकाएर खाने ? निकै सास्ती व्यहोर्नु परेको छ ।’

गोरखामा मात्रै चीनसँग जोडिएका २ वटा नाका छन् । चुमनुब्री १ सामागाउँस्थित रुईला र चुमनुब्री ७ छेकम्पारस्थित ङुइला नाका कोरोनाको समयदेखि बन्द भएको हो । बर्खाको चार महिना सदरमुकामबाट उत्तरी क्षेत्रसम्म पुग्ने सबै बाटोहरु अवरुद्ध हुँदा खाद्यान्न अभाव हुन थालेको छ । नाकाबन्दी हुनुअघि छेकम्पारस्थित ङुइला नाका बाह्रै महिना खुल्ला हुन्थ्यो भने रुइला नाका वर्षमा एक पटक दुई वा तीन हप्ताका लागि खोलिन्थ्यो । त्यहाँबाट चुनावमा उम्मेदवार बनेका कोही पनि उम्मेदवारले नाका खोल्ने बारे बोलेका छैनन् ।

कसैको घोषणापत्रमा पनि सीमा नाका खुलाएर जनजीवन सहज बनाउने एजेन्डा छैन । उम्मेदवारहरुले बेनिघाटदेखि लार्के सडक निर्माण सम्पन्न गर्ने घोषणापत्रमा एजेन्डा राखेका छन् । तिब्बतबाट चुमनुब्री गाउँपालिका वडा नम्बर १, २, ४, ६ र ७ का बासिन्दाले चामल, नून, घ्यू, चिया, तेल, चिनी, खुर्सानी, निर्माण सामग्री लगायत आयात गर्छन् । त्यहाँका स्थानीयले उत्पादन गरेका सामान पनि सोही नाकाबाट बिक्री गर्ने गरेका थिए । त्यहाँका स्थानीयले पटक पटक सरकारको ध्यानाकर्षण गराएका छन् । तर नाका खुलेको छैन । गोरखा मात्रै होइन, मुस्ताङको कोरला नाका पनि उति नै समयदेखि बन्द छ । चीनतर्फ अहिले भव्य महल बनिरहेको छ । तर नेपालले न भन्सार कार्यालय बनाउन सकेको छ न त नाका खोल्न पहल नै गरेको छ ।

स्थानीयलाई नाका ठप्प हुँदा दैनिकी चलाउनै मुस्किल परेको स्थानीय नेता इन्द्रधारा विष्टले बताए । उनले नाका खोल्न धेरै पहल गरे पनि सम्भव नभएको गुनासो गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *