न्यूक्यासलसँग हार्यो चेल्सी, म्यानचेस्टर सिटी पनि स्तब्ध

काठमाडौँ । चेल्सी न्युक्यासल युनाइटेडसँग पराजित भएको छ । शनिबारको प्रिमियर लिग अन्तर्गतको खेलमा न्युक्यासलले चेल्सीलाई १–० गोलले हराएको हो ।
न्युक्यासलको जीतमा जो विलकले ६७ औं मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो । जीतसँगै न्युक्यासल लिगको तेस्रो स्थानमा कायम रहेको छ । टोलीको १५ खेलपछि ३० अङ्क रहेको छ । चेल्सी भने सबै प्रतियोगितामा लगातार तेस्रो हार बेहोर्दै लिगको आठौँ स्थानमा खस्किएको छ ।
अर्काे खेलमा म्यानचेस्टर सिटी घरेलु मैदानमा ब्रेन्टफर्डसँग २–१ ले स्तब्ध बनेको छ । इतिहाद स्टेडियममा शनिबार राति भएको खेलमा घरेलु टोली सिटीका फिल फोडेनले गोल गरेपनि हार टार्न सकेन । खेलको १६औं मिनेटमा इभान टोनीले गोल गर्दै ब्रेन्टफर्डलाई १–० को अग्रता दिलाए । उनले हेडरमार्फत गोल गर्न सफल भएका थिए ।
पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई १–१ गोलको बराबरीमा ल्याए । उनले म्यानुएल एकान्जीको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि दोस्रो हाफमा इन्ज्युरी समयको थप गरिएको आठौं मिनेटमा इभान टोनीले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै सिटीलाई घरेलु मैदानमा २–१ ले स्तब्ध पारे ।
सिटीको यो हारले शीर्षस्थानमा रहेको आर्सनललाई थप फाइदा भएको छ । यो सिजन प्रिमियर लिगमा दोस्रो हार बेहोरेको सिटीको १४ खेलबाट ३२ अंक रहेको छ । आर्सनलको १४ खेलबाट ३७ अंक छ । सिटीलाई हराएको ब्रेन्टफर्ड १९ अंक जोडेर १०औं स्थानमा रहेको छ ।








