प्रचण्डले किन भने डा भोजराजलाई उत्तराधिकारी ? कति सम्भव कति असम्भव ?

चितवन । कस्तो मान्छेलाई उत्तराधिकारी बनाउने होला भन्ने खुब चिन्ता थियो, जब मैले भोजराज अधिकारीलाई जिम्मा लगाउन पाएँ । चिन्ता दूर भयो’ चितवनको सभामा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेका शब्द हुन् यी । प्रचण्डले यतिमात्र भनेनन्, डा अधिकारीको अरु पनि प्रशंसा गरे । ‘चितवन ३ मेरो उत्तराधिकारीका रूपमा भोजराजलाई लिएको छु, सफल उत्तराधिकारीलाई छोडेको छु । राम्रो मान्छेलाई जिम्मा लगाएको छु ।’

डा अधिकारी स्वास्थ्य क्षेत्रका विज्ञ नै मानिन्छन् । सफल चिकित्सकको पहिचान बनाइरहेका अधिकारी राजनीतिमा यति छिटो आउँछन् भन्ने कमैले सोचेका थिए । डा अधिकारीले पनि १० वर्षपछि राजनीतिमा आउने सोच बनाएका थिए । तर अवसरले यसरी अधिकारीलाई छोप्यो, छिटै राजनीतिमा होमिन पर्ने अवस्था सिर्जना भयो ।

४२ वसन्तमा दौडिरहेका अधिकारी करिब एक दशकदेखि चिकित्सकीय पेसामा सक्रिय थिए । चितवन ३ मा प्रचण्डले छोड्लान् र डा भोजराजले टिकट पाउलान् भन्ने सायदै कसैले सोचेका थिए होलान्, तर भइदियो यस्तै । उम्मेदवार मनोनयनको अघिल्लो दिनसम्म डा भोजराजलाई आफैँले टिकट पाउँछु भन्ने कति पनि लागेको थिएन । अधिकारी आफ्नो पेसामा सक्रिय नै थिए ।

प्रचण्ड चितवन ३ छोडेर गोर्खा २ जाने चर्चा चलिरहेको थियो । प्रचण्डले चितवन ३ छोड्ने भएपछि यो क्षेत्र माओवादी केन्द्रको भागमा पर्ला कि नपर्ला भन्ने पनि थियो । आखिरी चितवन ३ गठबन्धनको सल्लाहअनुसार माओवादी केन्द्रको नै भागमा आयो ।

अन्ततः भोजराज अधिकारीले टिकट पाए । ‘उम्मेदवार मनोनयनको दिन बिरामीको उपचार गरेर खाना खानको लागि घरमा गएको थिएँ, अचानक दुई पटक फोन आयो । खाना खाने बेला भएकोले पहिलो फोन उठेन । दोस्रो फोन उठाएँ, अध्यक्ष प्रचण्डको रहेछ, उहाँले मलाई चितवन ३ को उम्मेदवार बन्न प्रस्ताव गर्नुभयो । एकछिन त अडिएँ, अनि उहाँले फेरि अगाडि बढ्नुहोस् सक्नुहुन्छ भनेर हौसला थप्नुभयो । मैले सहर्ष स्विकारेँ’ डा अधिकारीले भने, ‘उहाँले मलाई उत्तराधिकारी भनिरहनुभएको छ, मतदाताले पनि उत्तराधिकारीको रूपमा लिएका छन् ।’

भरतपुर अस्पतालको अध्यक्ष भएर जिम्मेवारी लिइरहँदा आएको उम्मेदवारको प्रस्तावले उनी प्रफुल्लित नै भए । अस्पतालको अध्यक्षमा राजीनामा दिएर उम्मेदवारी मनोनयन गरे । अनि चुनावी कार्यक्रमको दौडाहामा लागे ।

डा अधिकारीलाई प्रचण्डको उत्तराधिकारी यसअर्थमा पनि भनिएको छ कि, उनले चितवन क्षेत्र नं ३ मा प्रचण्डको विकासका योजनाहरूलाई अगाडि बढाउनुछ । प्रचण्डले बोकेको अभिभाराहरू पूरा गर्ने जिम्मेवारी पनि डा भोजराजको काँधमा आएको छ । डा भोजराजलाई प्रचण्डले गरेर पूरा नभएका अधुरा कामहरू पनि साकार पार्नुछ ।

प्रचण्डले देखेका सपनाहरू पूरा गर्न, प्रचण्डले थालेका तर पूरा नभएका बाँकी कामहरूलाई सम्पन्न गर्न डा भोजराज नै उत्तम पात्र भएको हुनाले उनलाई प्रचण्डको उत्तराधिकारी मानिएको माओवादी केन्द्रका नेताहरू बताउँछन् । ‘२०३६ सालमा चितवनको पहाडी क्षेत्र कुरिनघाटको कमेरे भन्ने ठाउँमा जन्मिएका भोजराज हरेक दुःखकष्ट सहेर यो ठाउँमा आइपुग्नुभएको हो, जिरो ग्राउण्डबाट आएका कारण उहाँलाई विपन्न वर्गको पीडा सबै थाहा छ’ पत्रकार प्रकाश ज्ञवाली भन्छन्, ‘प्रचण्डको अधुरा काम सम्पन्न गर्न चितवन ३ मा डा भोजराजको उम्मेदवारी रहेको हो, त्यसैले उहाँलाई प्रचण्डलाई उत्तराधिकारीको रूपमा लिइएको हो, उहाँले प्रचण्डको अभिभारा पूरा गर्नुहुन्छ ।’ पत्रकार ज्ञवाली प्रचण्डको उत्तराधिकारी बन्न सक्ने बताउँछन् ।

डा अधिकारीलाई बुबाआमाले जग्गा अधिया कमाएर, खेतीपाती, ज्यालादारी गरेर हुर्काएका हुन् । पटिहानीको सरकारी स्कुल अमर माविबाट २०५३ सालमा एसएलसी पास गरेपछि उनले छात्रवृत्तिमा पोखराको मनिपाल टिचिङ अस्पतालमा एमबीबीएस पढ्ने अवसर पाए । जुटपानी उपस्वास्थ्य चौकीको प्रमुखका रूपमा २०६३ देखि तीन वर्ष काम गरे । चितवनको पुरानो मेडिकल कलेजबाट एमडी पढ्ने छात्रवृत्ति पाए । एमडी सकेपछि भरतपुर अस्पतालमा ९ वर्ष फिजिसियनका रूपमा काम गरेँ । भरतपुर अस्पतालको अध्यक्षलगायतका जिम्मेवारी सम्हालेँ ।

त्रिभुवन विश्वविद्यालयका पूर्व रजिस्टार प्राडा भीमराज अधिकारीको भनाइमा डा भोजराज अहिलेसम्म लागेका सबै क्षेत्रमा सफल भएका छन् । उनी भन्छन्, ‘स्वच्छ छवि भएका, कुनै काममा लगाव दिएर लाग्ने, सफल रूपमा सम्पन्न गर्ने स्वभावका हुन्, जहाँसम्म अध्यक्ष प्रचण्डले किन उत्तराधिकारी माने भन्नेमा भोजराजलाई हरेक दृष्टिबाट सफल पाएको पाए । भोजराज युवा भए, विगतको इतिहास स्वच्छ छवि भयो । चिकित्सकीय पेसा अपनाएका हरेक मतदातासँग जोडिएका व्यक्ति भए । यसका कारणले उत्तराधिकारी भनिएको होला ।’

चितवन ३ का मतदाता डा विश्वराज पौडेलको नजरमा पनि डा अधिकारी प्रचण्डको उत्तराधिकारी बन्न सक्ने बताउँछन् । ‘डा अधिकारी प्रतिनिधिसभाको लागि उपयुक्त पात्र हुन् । सामाजिक, आर्थिक, नैतिक विकृतिमा डा अधिकारी फसेको छैनन् । एउटा अति सामान्य परिवारमा हुर्केका हुन् । भुईँ मान्छेहरूको समस्या बुझेका छन् ।’ उनका अनुसार कुनै काममा लागेपछि निरन्तर लाग्ने, सफल भएर छोड्ने उनको प्रवृत्तिले गर्दा अध्यक्ष प्रचण्डले उत्तराधिकारी मानेको हुनुपर्छ, अर्को आफ्नो अधुरो काम सम्पन्न गर्ने जिम्मा डा भोजराजलाई दिइएको हुनाले उत्तराधिकारी मानिएको हुनुपर्छ ।

केही समय अघि एउटा कार्यक्रममा अध्यक्ष प्रचण्डले उत्तराधिकारी घोषणा गर्ने गल्ती आफूले नगर्ने बताएका थिए । माओले लिनप्याओलाई गरे जस्तो अहिले उत्तराधिकारी घोषणा गर्ने गल्ती नगर्ने त्यो कार्यक्रममा प्रचण्डले बताए। प्रचण्डले भने, ‘लिनप्याओलाई उत्तराधिकारी भनेको त त्यही माओलाई गोली हान्न हिँड्यो । उत्तराधिकारी भनेको त काल हो । म किन भन्ने, त्यो भन्दिनँ ।’

अहिले आएर डा भोजराज कसरी उत्तराधिकारी ?
माओवादी केन्द्रका एक नेताका अनुसार अध्यक्ष प्रचण्डले डा भोजराजलाई अहिले पार्टीको होइन, निर्वाचन क्षेत्रको उत्तराधिकारी बनाउन खोजेका हुन् । ती नेताले भने, ‘डा भोजराज विस्तार पार्टी कमिटीतर्फ पनि आउनुहुन्छ होला, डा माओवादी केन्द्रको स्वास्थ्य विभागको त सचिव भइसक्नुभएको हो, अहिले अध्यक्ष प्रचण्डले निर्वाचन क्षेत्रको उत्तराधिकारी भन्नुभएको हो, चितवन ३ मा प्रचण्डपछि माओवादी केन्द्रको को भन्दा डा भोजराज अधिकारीको नाम आउने भयो । यसमा प्रचण्डले मेरो उत्तराधिकारी डा भोजराज भनिसक्नुभयो ।’

उनका अनुसार उत्तराधिकारी भनेपछि सबै जिम्मेवारी लिने गरी डा अधिकारीलाई प्रचण्डको क्षेत्रकै जिम्मा हो भन्ने अर्थमा बुझिन्छ । ती नेताले भने, ‘मतदाताले जिताए भने डा भोजराजले प्रचण्डको अधुरा सबै काम गर्न सक्नुहुन्छ, सबै जिम्मा लिएर अघि बढ्नुहुन्छ, उहाँले हरेक मतदातालाई ६ वटा स बुझाउँदै हिँड्नुभएको छ, त्योअनुसार काम गर्नुहुन्छ । प्रचण्डको उत्तराधिकारी भएरै काम गर्ने वाचा उहाँले गर्नुभएको छ । मलाई लाग्छ, चितवन ३ का मतदाताले साथ दिनेछन्, वास्तवमा प्रचण्डको उत्तराधिकारी नै बनाउनेछन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *