गण्डकीका ३ सय मतदान स्थल अति संवेदनशील, मतपेटिका ओसार्न हेलिकोप्टर चाहिने

पोखरा । गण्डकी प्रदेशका ३ सय भन्दा बढी मतदान स्थल अति संवेदनशील सूचीमा परेका छन् । गण्डकी प्रदेशका ३ सय १६ वटा मतदान स्थलहरु अति संवेदनशील सूचीमा राखिएको छ । ५ सय ६३ वटा संवेदनशील र ४ सय ४ मतदान स्थल सामान्य रहेका छन् ।
मतदान केन्द्रतर्फ ५ सय ५९ वटा अति संवेदनशील, ९ सय ४५ संवेदनशील र ८ सय ३५ सामान्य छन् । यहाँ १ हजार २ सय ८३ मतदान स्थल र २ हजार ३ सय ३९ मतदान केन्द्र तोकिएका छन् । विशेषगरी निर्वाचन वहिष्कार गर्ने पार्टी र समूहले अवान्छित गतिविधि गर्न सक्ने भन्दै सुरक्षा संयन्त्र सचेत छ । सामाजिक सन्जाल पनि पछिल्लो समय निर्वाचन सुरक्षाका खतरा हुन् ।
उच्च हिमाली क्षेत्रमा हुने हिमपात, लेक लाग्न सक्ने सम्भावना र सन्चार सम्पर्क विच्छेद् जस्ता समस्या अहिले पनि कायम छन् । मनाङ, मुस्ताङ र उत्तरी गोरखामा अहिले हिउँ पर्न थालिसकेको छ ।
प्रदेश सुरक्षा समन्वय समितिका अनुसार गोरखाका २२, मनाङका ५ र म्याग्दीका ३ वटा गरी ३० मतदानस्थलका मतपेटिका हेलिकोप्टरबाट ढुवानी गर्नुपर्ने बाध्यता छ । एकातिर हिमपात, अर्कातिर कष्टकर बाटो । यि क्षेत्रमा मतदातालाई मतदानका लागि समेत समस्या हुने आँकलन समितिको छ । समितिका सदस्य सचिव बद्रीनाथ अधिकारीले गण्डकीको सुरक्षा अवस्थाबारे जानकारी गराउँदै करिव १८ हजार सुरक्षाकर्मी खटाइने बताए ।
गण्डकीमा ५ हजार ७ सय ९९ जना प्रहरी, ११ हजार ५ सय ८० जना म्यादी, ५ सय १६ जना मोवाइल प्रहरी र ६ सय ८८ जना म्यादी मोवाइल प्रहरी खटिने छन् । २ सय २८ जना प्रहरी र १ सय २१ जना म्यादी प्रहरी रिजर्भमा राखिएका छन् । कारागारका मतदान स्थलमा ३० प्रहरी र ५० म्यादी खटाइने छ । कर्मचारी मतदान स्थलमा १५ प्रहरी र २५ म्यादी, निर्वाचन सेलमा ८४ प्रहरी सहित ६ हजार ६ सय ८६ प्रहरी र १२ हजार ४ सय ६४ जना म्यादी प्रहरी खटाइने अधिकारीले जानकारी दिए ।








