आचारसंहिता विपरितका गतिविधि गर्दै गठबन्धन उम्मेदवार मोदी र पराजुली

विराटनगर । सत्ता गठबन्धनका प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारहरुले विराटनगरमा निर्वाचन आचारसंहिता विपरीतको काम गरेका छन् । मोरङ क्षेत्र नं. ४ का प्रतिनिधिसभा उम्मेदवार माओवादी केन्द्रका अमनलाल मोदी र नेपाली कांग्रेसका भीम पराजुलीले निर्वाचन कार्यालयलाई ढाँटेर सम्मान कार्यक्रम गरेका हुन् ।

मतदातालाई प्रभावित पार्ने उद्देश्यले आज निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत विराटनगर १० को विराट सेवा सदनमा करिब १ सय जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । श्रोतका अनुसार सम्मान कार्यक्रममा जेष्ठ नागरिकलाई नगद पनि वितरण गरिएको थियो । निर्वाचन कार्यालयलाई सम्मान हैन भन्दै प्रतिनिधिसभा उम्मेदवार मोदी र प्रदेश सभा उम्मेदवार पराजुलीले ढाँटेर जेष्ठ नागरिक सम्मान कार्यक्रम गरेको पाइएको छ ।

प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन कश्यप अधिकारीले सम्मान कार्यक्रमबारे जानकारी आएपछि सोधपुछ गरिएको बताए । उनले भने,‘ सम्मान कार्यक्रमबारे बुझ्दा मतदाता भेटघाट भएको बताइयो ।’ निर्वाचनलाई प्रभावित पार्ने गरी सम्मान कार्यक्रम गर्न नपाइने उनले बताए । उनले यसमा आचारसंहिता आकर्षित हुने बताए । नेपाल कांग्रेस विराटनगर १० को आयोजनामा सम्मान कार्यक्रम भए पनि बुथ सभापति अर्जुन कार्कीले सम्मान कार्यक्रमबारे आफूलाई थाहा नभएको प्रतिक्रिया दिए ।

उनले भने,‘ सम्मानबारे थाहा भएन, भेटघाट मात्रै हो ।’ जेष्ठ नागरिकहरूलाई वितरण गरिएको सम्मान पत्रमा कार्की, प्रतिनिधिसभा सदस्यका उम्मेदवार अमनलाल मोदी र प्रदेशसभाका उम्मेदवार भीम पराजुलीले हस्ताक्षर गरिएको प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा सम्मानित भएकी विराटनगर १० शान्तिचोककी जलश्री साहले भोटका लागि सम्मान गरेको प्रतिक्रिया दिइन् । उनका अनुसार कार्यक्रममा एकसय बढी जेष्ठ नागरिकहरूलाई सम्मानित गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *