तस्विरमा चन्द्रबिनायकको ‘सिन्ह’ जात्रा

काठमाडौं। कार्तिक शुक्ल पुर्णिमा देखि कात्तिक कृष्ण तृतियासम्म काठमाडौंको चाबहिलमा मनाइने चन्द्रविनायक तथा भैरवनाथको जात्रा आज सकिएको छ। ४ दिन सम्म मनाइने यस जात्राको पहिलो दिन कात्तिक पूर्णिमाको साँझ मन्दिर परिसरमा ठूलो धुनि बाल्ने गरिन्छ। जसलाई ताप्दा स्वास्थ्यलाभ र पुण्यलाभ मिल्ने धार्मिक मान्यता रहँदै आएको छ।

यसै दिन चाबहिल, कुटुवहालमा शाक्यहरूले कुल देवताको पूजागरी त्यहाँ रहेको जम्बक राजा (स्याल देवता) को प्रस्तर मूर्तिलाई भातले मोडी पूजाआजा गरेर मूर्तिका अगाडि धुनि जगाई रातभर जाग्राम बस्ने चलन रहिआएको छ । त्यस्तै जात्राको दोस्रो दिन गणेश र भैरवको रथहरू सजाई साँझ विशेष पूजा गरिन्छ ।

जात्राको तेस्रो दिन अर्थात सिन्दूर जात्राको रूपमा चर्चित दिनमा विहानै चन्द्रविनायक र भैरवनाथको खटहरू सरसफाई गर्ने, साँझ साँस्कृतिक द्धारेले पूजा गर्ने, गुठियारहरूले गजुर का साथै गणेश र भैरवनाथको प्रतिमा ल्याई रथारोहण गराउने गरिन्छ ।
त्यस्तै सोही दिन बेलुकी द्वारेद्वारा गणेश र भैरवको रथमा सिन्दूर चढाएपछि बाजागाजा सहित गणेश र भैरवको खट  उठाउने र नचाउने गरिन्छ । यस दिन रातभर रथहरूलाई मन्दिर वरपरका घर तथा चोकहरूमा राखेर पूजाआजा गर्ने गरिएको स्थानियवासीहरू बताउँछन् ।

जात्राको अन्तिम दिन रथहरूलाई विभिन्न चोक र स्थानहरूको परिक्रमा गराई द्धारेले गणेश र भैरवको मूर्तिमा पुनः सिन्दूर चढाई विधिवत रूपमा जात्राको समापन गर्ने गरिन्छ । यसैदिन जात्रा समापन गर्न दिनभर सिन्दूर जात्रा गर्ने प्रचलन रहि आएको छ ।
थप तस्विरहरु:-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *