मोरङमा मानबहादुर लिम्बूलाई उम्मेदवार बनाएपछि आन्दोलन

काठमाडौँ । मोरङ ३ को प्रदेशसभा निर्वाचन क्षेत्र १ मा मानबहादुर लिम्बूलाई उम्मेदवार बनाएपछि नेपाली कांग्रेसका केही नेता, कार्यकर्ता असन्तुष्ट भएका छन् ।
क्षेत्रका उम्मेदवार शेखरचन्द्र थापाको निधनपछि पार्टीको निर्णयअनुसार लिम्बूले आज मनोनयन दर्ता गरेका थिए । तर कांग्रेस कार्यकर्ताले भने शेखरचन्द्रकी पत्नी लक्ष्मी थापालाई टिकट दिनुपर्ने भन्दै आन्दोलन थालेका छन्।
कांग्रेसका कार्यकर्ताहरुले प्रदेशसभा सदस्यको टिकट लिम्बूलाई दिएको भन्दै नाराबाजी थालेका हुन्। प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री थापाको निधन भएपछि पार्टीले लिम्बूलाई टिकट दिएको हो।
तर त्यसको विरोधमा निर्वाचन अधिकृतको कार्यालय बेलाबारी घेरेर कांग्रेस कार्यकर्ताहरुले नाराबाजी गरेका हुन्। उनीहरुले थापाकी श्रीमतीलाई टिकट दिनुपर्ने माग गरेका छन्। थापाकी श्रीमती लक्ष्मीले टिकट नपाउन्जेल आन्दोलन जारी राख्ने उनीहरुको भनाई छ ।
यता, लिम्बूले बेलबारीस्थित निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका छन् । लिम्बूले उम्मेदवारी दिएसँगै अब एमालेबाट उम्मेदवार बनेका दिलीप राईसँग उनले प्रतिस्पर्धा गर्ने छन् ।








